फेरि सत्तामै पुग्ने मोह



भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका जितेन्द्रनाथ शुक्ला अध्यक्षमा निर्वाचित भए । त्यसयता उनले दुई वटा पार्टी बदली सकेका छन् । फोरम नेपाली काँग्रेससँग एकीकरण भएपछि शुक्ला त्यसको केही समयमा नेकपा एमाले प्रवेश गरे ।
केही समय एमालेमा रहेका उनले एमाले त्यागेर नेकपा माओादी केन्द्र प्रवेश गरेका छन् । उनले पार्टी बदली रहनुको मुख्य उद्देश्य हो– फेरि पनि गाउँपालिकाको अध्यक्षको टिकट ल्याउने । टिकट सुनिश्चित गर्न र जसरी हुन्छ, फेरि सत्ताको स्वाद चाख्नुपर्छ भनेर लागि पर्ने उनी मात्रै होइन्, जिल्लाका १६ वटै पालिका प्रमुख त्यसमा तल्लीन छन् ।
कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादव पनि पुनः दोहोरिन चाहन्छन् । तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित उनी अहिले जनता समाजवादी पार्टीमा छन् । विगतदेखि लगातार निर्वाचित हुँदै आएका उनी उमेरले ७० कटिसकेका छन् । तर, सत्ताको स्वाद चाख्दै आएका यादव फेरि एकपल्ट गाउँपालिकाको नेतृत्वमा आउने आफ्नो चाहना भएको बताउँछन् । ‘एकपल्ट फेरि अध्यक्ष उठ्छु’, उनले भने, ‘उमेर पनि धेरै भएको छ, अर्कोपल्ट अरु साथीहरुलाई छाडिदिन्छु । अहिले सबैले मलाई सहयोग गर्छन् र टिकट दिन्छन् भन्ने विश्वास छ ।’
जिल्लाकै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव पनि फेरि उही पदमा निर्वाचन लड्ने तयारीमा छन् । तत्कालीन संघीय समाजवादीबाट निर्वाचित उनी लामो समय जसपामा रहे । जसपाबाट टिकट नपाउने निश्चित जस्तै भए पछि काँग्रेस प्रवेश गर्ने तयारी गरेका उनी अन्तिम समयमा एमाले प्रवेश गरेका छन् । उनले एमालेबाट टिकट ल्याउन लागि परेका छन् ।
यी तीन पालिका प्रमुख प्रतिनिधिमात्र हुन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरुले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका छन् । तर, आकांक्षी धेरै हुँदा अझै टुंग्याउन सकेका छैनन् । दलहरुमा भने धेरैजसो सत्ताको स्वाद चाखेका नै बढी आकांक्षी छन् । उनीहरु जसरी हुन्छ पार्टीबाट टिकट ल्याउने दाउमा छन् ।
पाँच वर्ष पालिकाको नेतृत्व गर्दा स्रोतसाधन परिचालन गर्न र सुविधा लिन पाएकाले पनि धेरै जनप्रतिनिधिहरु फेरि उही पदमा दोहोरिन चाहन्छन् । जिल्लामा एक उपमहानर, पाँच नगर र १० वटा गाउँपालिका छन् । यी सबै पालिका प्रमुखहरुले अहिले पुनः सोही पदमा चुनाव लड्नका लागि आफू आबद्ध पार्टीमा तीव्र लविङ गरिरहेका छन् ।
जिल्लाको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी फेरि उही पदमा दोहोरिन उनी आबद्ध पार्टी एमालेमा तीव्र लबिङ गरिरहेका छन् । तिलोत्तमाका मेयर बासुदेव घिमिरे, सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारी, सैनामैना नगरपालिका मेयर चित्रबहादुर कार्की पनि दोहोरिन चाहन्छन् । तीनै जना यसअघि एमालेबाट निर्वाचित भएका थिए । अधुरा काम पूरा गर्न पनि पार्टीले आफूहरुलाई विश्वास गर्ने उनीहरुको तर्क छ ।
यस्तै, एमालेबाटै निर्वाचित कंचनका अध्यक्ष गोकर्णबहादुर क्षेत्री, सियारी अध्यक्ष अयोध्या थारु, शुद्धोधन अध्यक्ष किसुनचन्द्र चौधरी पनि फेरि अध्यक्षमा प्रतिस्पर्धा गर्न चाहिरहेका छन् । निर्वाचन लड्ने भन्दै सियारी र शुद्धेधन अध्यक्ष थारु र चौधरीले त दुई हप्ता अघि नै गाउँपालिकाबाट सेवासुविधावापत आफूले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरिसकेका छन् ।
काँग्रेसबाट निर्वाचित देवदह नगरपालिकाका मेयर हिरा केसी, मायादेवी गाउँपालिका अध्यक्ष धुव्रनारायण चौधरी पनि टिकट ल्याउन तीव्र लबिङमा छन् । लुम्बिनी सांस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरी, गैडहवा गाउँपालिका अध्यक्ष बच्छु केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ पनि फेरि उही पदमा निर्वाचन लड्न चाहन्छन् । माओवादीबाट ओमसतिया गाउँपालिका अध्यक्ष निर्वाचित हिरा केवट पनि फेरि दोहोरिन चाहन्छन् । अहिले उनी एमाले प्रवेश गरिसकेका छन् । उनले एमालेबाट आफूले टिकट पाए अध्यक्षमा प्रतिस्पर्धा गर्ने र नपाए श्रीमतीलाई उपाध्यक्षमा प्रतिस्पर्धा गराउने तयारीमा छन् । यसका लागि उनले एमालेमा तीव्र लबिङ गरिरहेका छन् ।
सिद्धार्थनगर मेयर हरिप्रसाद अधिकारीले नगरको विकासका लागि आफू एकपल्ट दोहोरिन चाहेको बताए । ‘नगर कमिटिले मेरो नाम पनि सिफरिस गरेको छ, यदि पार्टीले टिकट दिएमा फेरि निर्वाचन लड्छु । नगरको विकासमा लाग्छु’, उनले भने । लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले अघिल्लो पटक स्वतन्त्र रुपमै निर्वाचन जितेका थिए । अहिले चौधरी जनता समाजवादी पार्टी प्रवेश गरेका छन् र उक्त पार्टीबाट निर्वाचन लड्ने तयारीमा छन् ।
रुपन्देहीमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष मात्रै होइन्, सत्ताको रस चाखिसकेका वडाध्यक्ष र सदस्यहरुले पनि फेरि उही पदमा दोहोरिन लागि परेका छन् । तलब भत्तादेखि आफ्नै हातले सेवासुविधा चलाउन पाएपछि जनप्रतिनिधि जसरी पनि फेरि टिकट ल्याउने र निर्वाचन जित्ने दाऊमा छन् । पाँच वर्षे कार्यकालमा जनभावनाअनुसार खासै काम गर्न नसकेकाहरु पनि पुनः उम्मेदवार बन्न होडबाजी गरिहेका छन् । यसले नेताहरुमा सत्तामोह कतिसम्म हुँदो रहेछ भन्ने उदांगिएको छ ।








लेखकको सम्वन्धमा