तराईका ताल चराका लागि स्वर्ग


भैरहवा- यतिबेला सात समुन्द्र पारीबाट सगरमाथा पार गरेर आगन्तुक चरा मध्य तथा पश्चिम तराईका तालतलैयामा आउँछन् । पूर्व कोसी टप्पुदेखि पश्चिम कैलालीको घोडाघोडी तालसम्म पाहुना चराले भरिभराउ हुन्छन् । बीचमा रहेको चितवन निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदी चराका लागि खुला आँगन हुन् ।
दुबै नदीमा सयौंको संख्यामा आगन्तुक चरा भेटिन्छन् । जाडो छल्न आउने ती चराले यहीँ बचेर हुर्काएर फर्किने गरेको चितवनको सौराहाका चराबीद बासु बिँडारीले बताए । उनका अनुसार चितवन निकुञ्ज भित्र रहेका एक दर्जन तालतलैयामा प्रशस्त चराले गुंड बनाउने गरेका छन् । चराले ताल छपक्कै हुन्छन,’उनले भने, तराईमा रहेका तालतलैया चराका स्वर्ग हुन् ।’
चरा संरक्षणमा संलग्नले प्रत्येक हिउँदमा यसरी आउने पाहुना चराको गणना गर्दै आएका छन् । उनीहरुले मुलुकभरका सिमसार, तालतलैया र नदीमा गणना गर्छन् । पूर्वी नवलपरासी र चितवनको सिमाना हुँदै बग्ने नारायणीमा समेत चराको संख्या उल्लेखनीय पाइने गरेको छ । लामो समयदेखि पंक्षी संरक्षणमा संलग्न डीबी चौधरीका अनुसार निकुञ्ज भित्रबाट बग्ने नारायणीको दक्षिण क्षेत्र शान्त र जैविक विविधताका हिसावले उत्कृष्ट रहेकाले धेरै चरा पाइने गरेका हुन् ।

‘धेरै प्रजातीका चरा आउछन्,’ उनले भने, ‘चरा अवलोकनका लागि वर्षेनि धेरै पर्यटक आउने गरेका छन् ।’ संरक्षणमा क्रियाशील व्यक्तिले प्रत्येक वर्ष मुलुकका विभिन्न ठाउँमा बैठक आयोजना गरेर पहुना चराको अवस्थाबारे समीक्षा गर्दै आएका छन् । रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराका मुख्य वासस्थान हुन् ।
बिशाल जगदीशपुर ताल हिउँदमा चराले ढाकिने गरेको छ । उक्त दृश्य अवलोकन गर्न वर्षेनि धेरै पर्यटक आउने गरेको स्थानीयले बताए । ताल वरीपरी मानवीय अतिक्रमण र बसोबास बढ्दै गएकाले चरालाई असर गरिरहेको स्थानीय बताउछन् । संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
कैलालीको घोडाघोडी ताललाई स्थानीय सरोकारवालाले मुलुककै पहिलो बर्ड सेन्चुरी घोषणा गरेका छन् । उनीहरुले चरा पर्यटनबाट स्थानीयको आय आर्जन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छन् । पर्यापर्यटन गन्तव्य बनाउने स्थानीयले बताए । ताललाई बर्ड सेन्चुरीका रुपमा विकास गर्न सहयोग गर्दै आएको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल शाखाले गरेका काम र योजनाबारे समीक्षा गर्न लुम्बिनीमा आयोजित दुईदिने कार्यशाला गोष्ठीका सहभागीले ताललाई बर्ड सेन्चुरी घोषणा गरेपछि आइपरेका समस्या र चुनौतीलाई समाधान गर्दै अघि बढ्न लागिपर्ने बताएका हुन् ।

ताल संरक्षणका क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, घोडाघोडी नगरपालिका, चराविद् र जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल च्याप्टरका पदाधिकारी सहभागी रहेको गोष्ठीले नगरपालिकाले तालको पर्यापर्यटन विकास गर्न बनाएको पाचवर्षे गुरुयोजना अनुसार काम गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
‘मुलुकको संरक्षणकै इतिहासमा नयाँ काम हो,’ जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल च्याप्टरका देशीय प्रतिनिधि डा. हेमसागर बरालले भने, ‘यसलाई जोगाउन स्थानीय सचेत हुनु अवश्यक छ ।’ स्थानीयले चरा पर्यटनबाट लाभ पाउन थाले भने आफैं जोगिंदै जान्छ । त्यसतर्फ बढी ध्यान दिएर काम गर्न आग्रह गरे । ताल साच्चिकै आकर्षक र मनमोहक छ । ‘बर्ड सेन्चुरीको घोषणाले चराप्रेमीका लागि महत्वपूर्ण बनेको छ,’ उनले भने, ‘अहिले घोडाघोडीको पहिचान फेरिएको छ ।’









प्रतिकृया दिनुहोस्