दलहरूमा टिकटका लागि ‘होडबाजी’
भैरहवा– आकांक्षी धेरै भएपछि रुपन्देहीको बुटवल उप–महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एमालेले आठ जनाको नाम सिफारिस गरेको छ । यहाँ पुरानै अनुहारदेखि नयाँको नाम सिफरिस गरिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रसमेत रहेको बुटवलमा उनले चाहेकै व्यक्ति एमालेबाट उम्मेदवार हुने निश्चित छ ।
एमाले सिद्धार्थनगर कमिटीले पनि आठ जना र तिलोत्तमाले ४ जनाको नाम मेयर उम्मेदवारका लागि सिफारिस गरेको छ ।
निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएका छन् । उम्मेदवार बन्न भने दलहरुमा होडवाजी नै चलेको छ । तर, आकांक्षी धेरै हुँदा सर्वसम्मत उम्मेदवार छान्न दलहरुलाई सकस छ । दलहरु गुटउपगुटमा विभाजित छन् । उम्मेदवारमा आफ्नो नाम सिफारिस गर्न स्थानीयदेखि केन्द्रियस्तरका नेताको घरदैलो धाइरहेका छन् ।
जनतासँग प्रत्येक्ष जोडिएर काम गर्न पाइने, सेवासुविधा राम्रो र ठूलो बजेट चलाउन पाउने भएकाले पनि यसपल्टको स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षी बढी भएका हुन् । उम्मेदवारको आकांक्षीमा अधिकांश पूरानै जनप्रतिनिधि दोहोरिनका लागि पार्टीमा लबिङ गरिरहेका छन् ।
पुनः उम्मेदवार बन्ने आकांक्षासहित रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु र शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरीले सरकारी गाडी पालिकालाई फिर्ता गरिसकेका छन् । २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका दुबैजना फेरि अध्यक्ष पदको दावी गरिरहेका छन् । यी पालिकामा एमालेबाटै दर्जन बढी आकांक्षी छन् ।
जिल्लाको ओमसतिया गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बन्नका लागि नेपाली काँग्रेसबाट मात्रै नौ जना आकांक्षी छन् । यो पालिका अघिल्लोपल्ट नेकपा माओवादीले जितेको थियो । माओवादीबाट निर्वाचित हिरा केवट एमाले प्रवेश गरेका छन् । काँग्रेसमा आकांक्षी धेरै हुँदा मिलाउन छलफल चलिरहेको पार्टी पालिका अध्यक्ष भगवानप्रसाद चौधरीले बताए ।
‘हामीले सकभर दुईजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने प्रयास गरेका छौं’, उनले भने, ‘तर, नौ जना आकांक्षी हुनुहुन्छ, मिल्न नसके सबैको सिफारिस गर्छौं, प्रदेशले टुंग्याउला ।’ जिल्लाकै सबैभन्दा पुरानो पालिका सिद्धार्थनगरमा पनि दलहरुमा मेयरको उम्मेदवार बन्न हानथाप नै छ । एमालेले आठ जनाको नाम सिफारिस गर्दा उम्मेदवार बन्न अन्य पार्टीहरुमा पनि होडबाजी चलेको छ ।
काँग्रेसमा यहाँ आधा दर्जन आकांक्षी छन् । यद्यपि काँग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खाँलाई चुनावी मैदानमा उतार्ने तयारी गरेको छ । एमालेबाट यहाँ केन्द्रिय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेल बलिया आकांक्षी हुन् । सिद्धार्थनगरमा २० वर्ष पछि २०७४ को निर्वाचनमा एमालेले जितेको थियो ।
बुटवलमा काँग्रेसबाट खेलराज पाण्डे, हरि लम्साल, नेकपा एकीकृत समाजवादीबाट राजु गुरुङ मेयरको उम्मेदवार बन्न आकांक्षी छन् । तिलोत्तमामा पनि सबै पार्टीमा आकांक्षी धेरै छन् । १६ स्थानीय तह रहेका जिल्लामा अधिकांश पालिकामा उम्मेदवार बन्ने आकांक्षी धेरै छन् ।
उम्मेदवारको आकांक्षीमा अधिकांश ‘कुर्सीको रस’ चाखिसकेका जनप्रतिनिधिहरु नै पुनः दोहोरिनका लागि पार्टीको वृतदेखि हेडक्वाटरसम्म लबिङ गरिरहेका छन् । अधिकांश तहको वडा सदस्यदेखि मेयरसम्मको पदमा आकांक्षी बढी हुँदा दलहरुले दिनहुँ छलफल चलाएका छन् । उम्मेदवार छनोटमा पार्टीका नेताहरुलाई हम्मेहम्मे परेको छ । टिकटका लागि दलहरुको वडादेखि जिल्लाको दिनहुँ बैठक जारी छ । उम्मेदवार छनोटमा साना भन्दा ठूला दललाई सकस परेको छ ।
दलहरुमा मेयर तथा अध्यक्षका लागि महिलाभन्दा पुरुष नेताहरु बढी मात्रामा आकांक्षी छन् । नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्रबहादुर थापाले ठूलो पार्टीमा आकांक्षी धेरै हुनु स्वभाविक भएको बताए । ‘एमाले ठूलो पार्टी हो, पार्टीमा योगदान गरेका नेताहरु धेरे हुनुहुन्छ’, उनले भने, ‘त्यसैले पनि धेरै जना उम्मेदवार बन्न खोज्नुभएको हो । उहाँहरुको आकांक्षाअनुसार हामीले सिफारिस गरेका हौं ।’ यद्यपि छलफल भइरहेको र आकांक्षी घट्न सक्ने उनले बताए ।
लेखकको सम्वन्धमा