सिद्धार्थनगर : एमालेबाट मेयरको उम्मेदवार को ?
भैरहवा– स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरुले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् । आफ्नो स्थानीय तहमा ठूला नेता बोलाएर मतदातालाई आकर्षित गर्न सुरु गरेका छन् । सोमबारमात्रै एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल भैरहवा आएका छन् । एमाले सिद्धार्थनगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी भैरहवा आएका हुन् ।
एमाले सिद्धार्थनगरले निर्वाचन लक्षित कार्यक्रम तीव्र पारिरहेको छ । सरकारले बैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषणा गरिसकेको छ । २०७४ को निर्वाचनमा २० वर्षपछि सिद्धार्थनगरमा एमालेले जित हात पारेको थियो । मुलुकको ठूलो पार्टी एमालेले आगामी निर्वाचनमा कसलाई उम्मेदवार उठाउँछ र उसको अवस्था के हुन्छ भन्ने चौतर्फी चासो छ ।
२०७४ को निर्वाचनमा नगर प्रमुख (मेयर) मा एमालेका हरिप्रसाद अधिकारी र उपप्रमुखमा एमालेकै उमा काफ्ले निर्वाचित भएकी थिइन् । तर, अहिले उप-प्रमुख काफ्ले नेकपा एकीकृत समाजवादीमा आबद्ध छिन् । ०७४ मा एमालेका अधिकारीले ६७०५ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । प्रतिस्पर्धी काँग्रेस उम्मेदवार मातृकाप्रसाद यादवले ५२५० मत ल्याएका थिए । यस्तै, राप्रपाका सागरप्रताप राणाले ४६३७ मत ल्याएका थिए भने माओवादी केन्द्रका फैज अहम्मद खाँनले ३४०७ मत ल्याएका थिए ।
तर, अहिले अवस्था फेरिएको छ । एमाले फुटेको छ । नेकपा समाजवादीमा उप-प्रमुख काफ्लेसहित अधिकांश नेताकार्यकर्ता लागेका छन् । एमालेमा पनि सिद्धार्थनगरका अधिकांश माओवादी कार्यकर्ता प्रवेश गरेका छन् । यद्यपि संगठन बलियो भएकाले एमालेले पुनः सिद्धार्थनगरको मेयर, उपमेयरसहित अधिकांश वडाहरु जित्ने दावी गर्दै आएको छ । ‘एमालेप्रति जनताको आशा, भरोसा र विश्वास छ’, एमाले नेता भरतकुमार पोखरेलले भने, ‘एक किसिमले भन्ने हो भने एमालेप्रति जनलहर नै छ, हामीले सिद्धार्थनगरमा फेरि झण्डा फहराउँछौं ।’ उनले पार्टी फुटले कुनै प्रभाव नपारेको बताउँदै बरु एमाले झनै मजबुत भएको दावी गरे ।
मेयरको उम्मेदवार को ?
एमाले भित्र अहिले सिद्धार्थनगरको मेयरको उम्मेदवार को बन्ने भन्ने चर्चा छ । एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेल पनि मेयरमा उठ्ने बताउँदै आएका छन् । यस्तै, एमाले प्रदेश कमिटी सदस्य राजेन्द्रप्रसाद पन्थी, रुपन्देही जिल्ला सह-सचिव हितराज पन्थी, हालका मेयरसमेत रहेका जिल्ला सदस्य हरिप्रसाद अधिकारी र सिद्धार्थनगर कमिटी सचिव नारायणप्रसाद भण्डारी पनि मेयरका आकांक्षी हुन् ।
२०७० को निर्वाचनमा संविधान सभा सदस्यका उम्मेदवार भइसकेका पोखरेल बौद्धिक नेताकारुपमा चिनिन्छन् । रुपन्देही क्याम्पसका पूर्व क्याम्पस प्रमुखसमेत रहेका पोखरेललाई ०७० को निर्वाचनमा राप्रपा नेता दीपक बोहरासँग मिलेर एमाले नेताहरुले नै हराएको आरोप छ । एमालेका केही नेताहरुले नै आफ्ना उम्मेदवार हराउन भूमिका खेलेको भन्दै यस विषयमा लामो समय स्थानीयस्तर र एमालेभित्रै ठूलो चर्चा चलेको थियो ।
तत्कालीन एमाले नेतृसमेत रहेकी हाल सिद्धार्थनगर उपमेयर एवं एकीकृत समाजवादीकी केन्द्रिय सदस्य उमा काफ्ले भन्छिन्, ‘एमालेले नै भरत सरलाई हराउन भूमिका खेलेको भन्दै मैले पार्टीभित्र २० पेजको प्रतिवेदन बुझाएकी थिएँ, विडम्बना गुटगत राजनीतिले गर्दा कारबाही हुन सकेन ।’ पोखरेललाई निर्वाचन हराउन भूमिका खेलका नेताहरु नै अहिले मेयरमा दावी गरिरहेको भन्दै एमालेभित्र चर्चा छ ।
मेयरका आकांक्षीमध्ये हरिप्रसाद अधिकारीले सिद्धार्थनगरमा आफूले जनभावनाअनुसार काम गरेकाले पार्टीले पुनः आफूलाई मेयरमा उठाउने विश्वास व्यक्त गर्छन् । उनले नगरको विकासमा राम्रो काम गर्दागर्दै पनि व्यक्तिगत स्वभाव राम्रो नहुँदा त्यसको जस लिन नसकेको पार्टीभित्र आरोप छ । राजेन्द्रप्रसाद पन्थी ०७४ को निर्वाचनमा सिद्धार्थनगर–८ को वडाध्यक्ष र हितराज पन्थी वडा नम्बर ७ को वडाध्यक्षमा पराजित भएका थिए ।
वडाध्यक्षमा पराजित उनीहरु अहिले मेयरमा टिकट ल्याउन लागिपरेका छन् । यस्तै, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी पनि एमालेबाट मेयरको टिकट ल्याउन लागि परेका छन् । उनी केही समय अघि मात्रै माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । उम्मेदवारका आकांक्षीमध्ये सबैभन्दा बलिया उम्मेदवार भरतकुमार पोखरेल भएको र उनलाई नै सिद्धार्थनगरको मेयरको उम्मेदवार बनाए मात्र जित हासिल गर्न सकिने एमाले बृत्तमा चर्चा छ । उनी पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । लामो समय भूमिगत राजनीतिमा लागेका उनी स्पष्ट भिजन भएका नेता भएको एमाले नेताहरु नै बताउँछन् ।
उनलाई ०७० मा बोहरासँग मिलेर एमालेका नेताहरुले नै पराजित गरेकाले यसपल्ट सहानुभूति भोटसमेत आउनसक्ने आँकलन गरिएको छ । यस्तै, उद्योगी, व्यवसायी, पार्टी कार्यकर्ता र स्थानीय स्तरमा उनी धेरै घुलमिल छन् । अधिकारीलाई मेयरमा निर्वाचित गराउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेकाले पनि उनी सबैसँग परिचित छन् । अधिकारी एमालेभित्र नेता घनश्याम भुसाल निकट मानिन्छन् । पन्थीद्वय र भण्डारी एमाले केन्द्रिय सदस्य लिला गिरी निकट मान्छिन् ।
लेखकको सम्वन्धमा