गाउँ फर्किए दल, बढ्दै चहलपहल



भैरहवा– स्थानीय निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले गाउँ केन्द्रित गतिविधि बढाएका छन् । पार्टीका वडादेखि संघीय समितिले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । दलले वडा स्तरमा समिति गठन गरेर चुनाव केन्द्रित रणनीति र प्रचारलाई तिव्रता दिएका छन् ।
प्रदेश समितिले जिल्ला–जिल्लामा प्रतिनिधि खटाएर प्रशिक्षण र भेला आयोजना गरिरहेका छन् । दलले स्थानीय निर्वाचन लक्षित गरेर भिन्दाभिन्दै नारा तय गरेका छन् । गाउँमा प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमको लहर छ । एमाले अध्यक्ष केपी शर्मावली चैत दोस्रो साता रुपन्देही र कपिलवस्तुमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।
उक्त पार्टीका अनुसार चैत १४ गते कपिलवस्तुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले गत संघीय निर्वाचनमा सूर्य चिन्हबाट चुनाव जितेका बृजेशकुमार गुप्तालाई पार्टी प्रवेश गराउँदै छन् । त्यसको अर्कोदिन रुपन्देहीको लुम्बिनीमा आयोजना हुने कार्यक्रमा सहभागी हुनेछन् । उनले एक रात लुम्बिनीमा बिताउने तय भएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।
‘त्यसदिन केही व्यक्ति पार्टी प्रवेश गर्ने कुरा छ,’ ज्ञवालीले भने, ‘तर, को व्यक्ति हुन खुलेको छैन ।’ नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा सक्रियता अत्यधिक छ । उनी सातामा दुईपटकसम्म जिल्ला आइरहेका छन् । अहिले पार्टीबाट समानुपातिक सांसद रहेका खाँण आगामी निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने चर्चा छ । साथै स्थानीय निर्वाचनमा पार्टीलाई बिजयी बनाउन र कार्यकर्ताबीच तालमेल मिलाउन उनी सक्रिय छन् ।
यसक्रममा जिल्लाका विकास निर्माणका गतिविधिलाई ध्यान दिएको कांग्रेस जिल्ला सदस्य कमला पाण्डेले बताइन् । ‘मतदाताका भावना बुझ्न आइरहनु भएको हो,’ उनले भनिन, ‘पार्टीलाई एकढिक्का बनाएर आगामी तीनै तहका निर्वाचन जित्ने योजनामा उहाँ हुनुहुन्छ ।’
जिल्लाबाट केन्द्रमा प्रतिनिधि गर्ने एमाले, कांग्रेस र माओवादी नेताको दौडधुप बाक्लिएको छ । स्थानीय तहमा उम्मेदवार आकांक्षी नेताहरुले आफूले चुनाव जित्ने आधार केन्द्रिय नेता समक्ष प्रस्तुत गर्न थालेका छन् । पार्टीका जिल्ला समितिले गाउँमा कार्यदल खटाएर कसलाई उम्मेदवार बनाउँदा जीत हासिल गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छन् ।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी केही दिनअघि जिल्लाको लिङदुङमा पुगेर विद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी भए । रोल्पा ‘क’ बाट प्रदेश सभामा निर्वाचित केसीले आफ्नो सरकारले गरेका कामको निरीक्षण समेत गरे । त्यहाँका विकास योजना बुझ्न, स्थानीय तहको निर्वाचनका सन्दर्भमा कार्यकर्तासँग भेटघाट गर्न र राजनीतिक सभामा सहभागी हुन पुगेका हुन् ।
मुख्यमन्त्री भएपछि धेरै पटक गृह जिल्ला र निर्वाचन क्षेत्रमा आएका उनले राजनीतिक प्रशिक्षणमा समेत भाग लिए । पहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएका बेला समेत आउने गरेका उनी आउँदो स्थानीय तहको निर्वाचन नजिकिँदै गरेका बेला पनि आएका हुन् । मुख्यमन्त्री भएकै बेला स्थानीय तहको निर्वाचन हुने भएकाले राजनीतिक गतिविधि बढाउन र प्रशिक्षणका कार्यक्रमका साथ उनी आउने गरेको उनका कार्यकर्ता बताउँछन् ।
यहाँबाट निर्वाचित संंघीय सांसद एवं पूर्वमन्त्री वर्षमान पुन केही दिन यता गाउँमै बसेर राजनीतिक प्रशिक्षण दिएर फर्किएका छन् । कार्यकर्ता भेट्ने र स्थानीय तहको निर्वाचनबारे जानकारी दिने उद्देश्यले उनी गाउँमा समेत पुगेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगरले बताए ।
राप्रपा र मधेशबादी दलहरु पनि चुनाबको तयारीमा छन् । जनता समाजबादीले जिल्ला स्तरमा स्थानीय चुनाबका अन्य दलहरुसँग सहकार्य गर्ने वा एक्लै चुनाब लड्ने भन्ने छलफलमा छ । मधेशबादी दलहरुको बाहुल्यता भएको जिल्लाको दक्षिणी भेगमा स्थानीय चुनाबमा कसरी सहकार्य गर्ने भन्नेमा आन्तरिक छलफल भइरहेको जिल्ला अध्यक्ष धरेन्द्र यादबले बताए ।
‘अहिलेसम्म औपचारिकरुपमा अन्यदलहरुसँग कुराभएको छैन्’, उनले भने, ‘केन्द्रबाट नै चुनाबी तालमेल भएर आयो भने हामीलाई पनि सहज हुने थियो । केन्द्रबाट तालमेल नभए पनि जिल्ला स्तरमा पनि तालमेल हुन सक्दछ ।’ काँग्रेस र एमालेसंगै राप्रपा नेपाल र मधेशबादी दलहरुले समेत राजनीतिक गतिविधि बढाएका छन् । स्थानीय निर्वाचनका लागि वडादेखि नगरसम्मको टिकट दिने तथा अन्य सामाजिक संघसंस्थामा अवसर दिनेसम्मका आवश्वासन दिएर एकअर्को दलबाट आफ्नो दलमा प्रवेश गराउने होडबाजी चलेको हो ।
‘हामीले कुनै पनि आश्वासन लिएर काँग्रेस प्रवेश गरेका होइनौ । लोकतान्त्रिक पद्धतीमा आफ्नो बिचार र राजनीति गर्न जुनसुकै पाटीमा खुल्ला छ’, नेपाली काँग्रेसमा प्रवेश गरेका उद्योगी तथा लोकतान्त्रि पाटीका नेता नगेन्द्र अग्रहरीले भने, ‘राजनीतिक जीवनलाई अझै सक्रिय र वृहत्तररुपमा अगाडि बढ्नका लागि यो अभियानमा सहभागी भएका हौं । पार्टीले मैले अहिलेसम्म गरेको कामको मूल्यांकन गर्दछ भन्ने अपेक्षा छ ।’
रुकुम पूर्वमा नेपाली कांग्रेसले ‘घर–घर जाउ, नेपाली कांग्रेस जिताऔं’ अभियान जारी राखेको छ । जिल्ला स्तरका नेताहरु पालिका पालिकामा कार्यविभाजन गरेरै निर्वाचन केन्द्रीत कार्यक्रममा जुटिरहेका छन् । दुई हप्ता अघि जिल्ला कार्य समितिको बैठक बसेरै कांग्रेसले निर्वाचन केन्द्रीत कार्यक्रम गर्ने र त्यो सँगसँगै सम्भावित उम्मेदवारको सिफारिस पनि गर्ने निर्णय गरेको थियो ।
कांग्रेस यतिबेला उम्मेदवार सिफारिस र निर्वाचन लक्षित कार्यक्रम गरिरहेको छ । भर्खरै आठ औं जिल्ला अधिवेशन सकेको नेकपा एमाले पनि निर्वाचन लक्षित कार्यक्रममा छ । एमालेका पोलिटव्यूरो सदस्य खेममान खड्का आफै विभिन्न पालिका तथा वडामा गइरहेका छन् । खड्काले ससाना कार्यक्रममा पनि आफै जाने र सम्बोधन गर्ने गरेका छन् । एमालेले यस्ता कार्यक्रमलाई चुनावी रणनीतिको रुपमा उपयोग गरिरहेको छ ।
माओवादी केन्द्रले पनि कार्यक्षेत्र तोकेरै पार्टीका नेताहरुलाई चुनाव लक्षित कार्यक्रममा खटाएको छ । तीन वटै पालिकाका बैठकबाट माओवादीले नेताहरुलाई टोल, वडा हुँदै गाउँपालिकाका विभिन्न क्षेत्रमा निर्वाचन लक्षित कार्यक्रम गर्न कार्यविभाजन गरेको छ । सोही कार्यविभाजन अन्तर्गत माओवादीका नेताहरु गाउँगाउँ पुगिरहेकै छन् । स्थानीय निर्वाचनलाई लक्षित गर्दै दाङमा विभिन्न राजनीतिक दलहरुले पार्टी प्रवेशको लहर चलाएका छन् ।
अन्य पार्टीका नेता, कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने क्रम जिल्लादेखि वडासम्म चलिरहेको छ । पार्टीहरुले गाउँ पस्ने अभियान पनि सञ्चालन गरिरहेका छन् । पार्टीहरुले वडा वडामा भेला र प्रशिक्षण पनि गरिरहेका छन् । बिभिन्न स्थानीय तहमा उम्मेद्वारका लागि आकांक्षीहरुको पनि चर्चा शुरु भएको छ ।








लेखकको सम्वन्धमा