गाउँ-घरमा चुनावी अड्कल र अनुमान सुरु


भैरहवा– रुपन्देहीको कोटहीमाई–३, मर्यादपुर बजारको एक घरमा नेपाली कांग्रेस वडा समितिले प्रचारप्रसार कार्यालय सञ्चालन गरेको छ । छतमा पार्टीका दुई झण्डा र बोर्ड टाँगिएको छ । मुनी कार्यालयमा केही कुर्सी छन् । मंगलबार उक्त बजार पुग्दा कार्यालयमा थोरै व्यक्ति गफिरहेका थिए ।
छिमेकमा रहेको चिया पसलमा एक दर्जन हाराहारी व्यक्ति आगामी स्थानीय निर्वाचनबारे अड्कलबाजी र अनुमानमा व्यस्त थिए । उनीहरुका आ–आफ्नै दाबी र अड्कल थिए । एक मिटर दूरीमा चिया पसलका शाहुजीले बिँडालेमा दुध चिया उमालिरहेका थिए । टेबुलमा समोसा र काउलीका पकौंडा थिए । तिनबाट धुँवा पुत्ताइरहेको थियो ।
बहसमा सहभागी धेरै चिया सुप्र्याउँदै आगामी निर्वाचनमा मर्चचार क्षेत्रमा सम्भावित चुनावी भिडण्तबारे बताइरहेका थिए । यही समूहमा स्थानीय विश्वनाथ पाण्डे पनि थिए । सेतो कुर्ता सलवार उनको पहिरन । घाँटी हुँदै कम्मरसम्म पुगेको गम्छा । मुस्कुराउँदै गफिने बानी रहेछ । चम्किला दाँत देखाउँदै उनी बसिरहेको ठाउँबाट पब्लिक कुरा सम्बाददाता नजिक आए ।
यसपालीको चुनाव के हुन्छ ? माहोल कस्तो छ ? जिज्ञासा सुनेपछि उत्साहित हुँदै उनले भने, ‘कोटहीमाई–३ को वडाध्यक्षको उम्मेदवारमा दाबी गरेको छु ।’ उनका पिता पञ्चायतकालमा ३० वर्ष साबिक गाबिसका प्रधान रहेछन् । विश्वनाथ आफै यसअघि जनप्रतिनिधि भइसकेका व्यक्ति हुन् ।
‘मैले दाबी गरेको छु,’ फरासिला उनले भने, ‘हेरौं पार्टीले टिकट दिन्छ कि नाइँ ।’ उनी नेपाली कांग्रेस कार्याकर्ता हुन् । रुपन्देहीका ग्रामीण क्षेत्रका चिया पसलमा अहिले जमघट बाक्लिएको छ । सबैले गर्ने चर्चाको विषय स्थानीय चुनाव बनेको छ । यसअघि जनप्रतिनिधिका उम्मेदवार भइसकेका, नयाँ आकांक्षीले आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
आधिकारिक उम्मेदवार नभए पनि प्रचारप्रसार सुरु गरिसकेका छन् । यसअघि सहरतिर व्यवसाय, काजकाज र रोजगारीमा व्यस्त व्यक्ति गाउँ फिर्न थालेका छन् । मर्चवार क्षेत्रका अगुवा राजनीतिक कार्यकर्ता ओमप्रकाश यादव गुल्जारीको घर अगाडि प्रतिक्षालयमा यस्तै जमघट थियो । उनलाई सर्वसाधरणले घेरेका थिए ।
‘गाउँघरमा को उम्मेदवार बन्ने, कसले जित हाँसिल गर्छ भन्ने चर्चा सुरु भइसकेको छ,’ पूर्वमन्त्री गुल्जारीले भने, ‘मैले अझै कुन पार्टीबाट उम्मेदवार बन्ने यकिन गरेको छैन ।’ राजनीतिक माहोल नियालीरहेका उनले उपयुक्त समयमा निर्णय लिने बताए । ‘केन्द्रमा पार्टीहरुले कस्तो निर्णय लिन्छन्, गठबन्धन कस्तो बन्छ,’ उनले भने, ‘सबै हेरिरहेको छु, सही निर्णय लिन्छु ।’
गाउँमा पार्टीका कार्यक्रम बढेको उनले बताए । पछिल्लो समय केन्द्रिय नेताको सहभागितामा पार्टी प्रवेश र प्रचारका कार्यक्रम भइरहेको उनले बताए । यहाँ सर्वसाधरणले कसले धेरै बिकास निर्माण र जनताका सुखदुःखमा हातेमालो गर्यो भन्नेबारे चर्चा गरेको कमै सुनियो । आगामी निर्वाचनमा कसले धेरै पैसा खर्च गर्न सक्छ भन्ने कुरालाई धेरैले महत्व दिएका थिए ।
रुपन्देहीको समरीमाई गाउँपालिकाको पुराना कार्यालय भन्दा ५० मिटर उत्तरमा मंगलबार सडक किनारमा कार्यक्रम चलिरहेको थियो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भोट मागिरहेका थिए । पार्टीलाई किन मतदान गर्ने भन्नेबारे प्रवचन चलिरहेको थियो । अग्लो मञ्च अगाडि कुर्सीमा कार्यकर्ता थिए । उभिएर हेर्ने पनि थिए ।
मंचमा कलाकारले गीत मार्फत पार्टीलाई रोज्न र मतदान गर्न आह्वान गरिरहेका थिए । चर्को माइकको आवाज टाढा–टाढासम्म पुगिरहेको थियो । यहाँ मतदाताले आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र मधेशवादी दलबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान व्यक्त गरे । ‘जित–हार भन्न सकिन्न,’ मर्चवारीको रायपुरका अगुवा मोहम्मद इशाले भने, ‘प्रतिष्पर्धा कांग्रेस र अन्य दलबीच हुनेछ ।’
रुपन्देहीको मर्चवार एक उदाहरण मात्र हो । अहिले पार्टीले उम्मेदवार तय गरिसकेका छैनन् । उनीहरुले उम्मेदवार छनौटका मापदण्ड बनाएका छन् । केही दलले जीत हाँसिल गर्ने उम्मेदवार पत्ता लगाउन कार्यदल खटाएका छन् । तर, आकांक्षीले भोट माग्न सुरु गरिसकेका छन् ।
नेताकार्यकर्ताका कोठे र भान्छा भेटघाट सुरु भइसकेका छन् । गत निर्वाचनमा उम्मेदवारीबाट बञ्चितले यसपटक ढुक्क भएर प्रचार थालेका छन् । ठूला दलले गाउँगाउँमा प्रचार र घरदैलो सुरु गरेका छन् । निर्वाचन नजिकएपछि ग्रामीण क्षेत्रमा रौनक छाउन थालेको छ ।
लेखकको सम्वन्धमा