April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बुद्ध चोकको ‘अशान्ति’

भैरहवा– तपाइँ रुपन्देही सदमुकाम भैरहवा बासिन्दा हुनुहुन्छ ? त्यसो हो भने पक्कै तपाइँलाई यहाँको प्रमुख ‘बुद्धचोक’बारे जानकारी छ । सदरमुकामभन्दा बाहिर होस् या जिल्ला । कोही नयाँ व्यक्ति भेट्नु पर्यो भने तपाईंले यही चोकमा बोलाउनु हुन्छ होला । पछिल्लो समय भैरहवाको मुख्य ‘लोकेशन’मा परिणत भएको यस चोकको नाम शान्ति दूत गौतम बुद्धसित जोडिएको छ । त्यसैले यो चोक शान्त हुनुपर्ने हो ।

Advertisement

यो चोक हो । तर, यसको रुप रंग चोक जस्तो छैन । बुटवल–बेलहिया छ लेन सडक खण्ड अन्तर्गत पर्छ । यहीँबाट बुद्धजन्मस्थल लुम्बिनी जोड्ने मार्ग छुट्टिएको छ । दक्षिण सीमा नाका बेलहियासम्म पुगेको छ । पूर्व सानो सडके छ । चोकको बीचमा कुनै ‘आइल्याण्ड’ छैन ।

Advertisement

यहाँ रहेको बुद्धमूर्ति पश्चिम लुम्बिनीतर्फ जाने सडकको मुखमा छ । चोकको बीचमा ‘आइल्याण्ड’ नहुँदा कुन गाडी कता जाने हुन छुट्याउन मुस्किल पर्छ । कुन दिशाबाट गाडी आइरहेको पत्तो हुँदैन । चारैतर्फबाट आएका गाडीको मेल नै चोकमा हुन्छ । एकपटक सबै गाडीकोे मुख जुध्ने खतरा देखिन्छ । पैदल यात्रुले जहाँ पायो त्यहीँबाट बाटो काटेको देखिन्छ । त्यसले झन खतरा बढाएको छ ।

पछिल्लो समय नगरपालिकाले ‘ट्राफिक लाइट’ जडान गरेको छ । लाइट जडानपछि चोक व्यवस्थित हुनुपर्ने थियो । तर, दुई दिनअघि चोकमै एक जना मोटरसाइकल चालकको ज्यान गयो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको भारतीय ट्रकले समान दिशामा रहेको मोटरसाइकलाई ठक्कर दिंदा ओमसतिया गाउँपालिका–१, खुन्साका ४० वर्षीया जीवराज बश्यालको मृत्यु भयो ।

प्रत्यक्षदर्शीका अनुसार ट्रक तीव्र गतीमा थियो । ट्राफिक लाइट जडान गरिएको स्थलमा प्रहरी तैनाथ हुन्छन् । उक्त दुर्घटनापछि ट्राफिक प्रहरी खटिन थालेका छन् । त्यसअघि नेपाल प्रहरीका जवान देखिन्थे । रातो बत्ती बलेका बेला उनले रोक्न खोज्दा पनि धेरै जनाले गाडी कुदाएको दृश्य देखिन्थे ।

पछिल्लो समय बुटवल–बेलहिया खण्डका आधा दर्जन स्थानमा ट्राफिक लाइट जडान गरिएका छन् । छोटो दूरीमा धेरै स्थानमा लाइट जडान गरिएका छन् । राजधानी बाहिर यो नयाँ प्रयोग हो । त्यसैले धेरै सर्वसाधरणलाई कुन बत्ती बल्दा यात्रा गर्ने र रोकिने भन्ने बारे ज्ञानको कमी पनि हुन सक्छ ।

कति चालकलाई छोटो दूरीमा धेरै स्थानमा रोकिनु पर्दा झण्झट लागेको पनि हुनसक्छ । यसबारे प्रहरी, प्रशासन र स्थानीय तहले ध्यान दिन जरुरी छ । फेरि बुद्ध चोकमा जडान गरिएका लाइट एकनासै बल्दैनन् । कहिले बिग्रिएको देखिन्छ । कहिले सबै बत्ती बलेको देखिँदैन । यसले एकनाशले ट्राफिक नियम पालना भन्दा मनपरी बढ्ने खतरा छ ।

पछिल्लो समय बुद्धचोक भैरहवाको केन्द्र बनिरहेको छ । चोकको उत्तर–दक्षिण, पूर्व–पश्चिम बजार बिकास भइरहेका छन् । आसपास धेरै व्यापारिक प्रतिष्ठान छन् । बजार बिकास र फैलिने क्रम बढेको छ । होटल, रेष्टुरेन्ट थपिरहेका छन् । टाढाबाट आएका यात्रु ओर्लने र चढ्ने स्थल बनेको छ । यसले गर्दा बुद्धचोक सबै व्यस्त बनिरहेको छ ।

यस्तो स्थानमा रहेको चोक भने असरल्ल छ । व्यवस्थित छैन । चोक जस्तै छैन । बीचमा आइल्याण्ड बनाएर साँच्चिकै चोक बनाउन अब ढिलो गर्न नहुने स्थानीय बताउँछन् । यहाँ बीचमा ठाउँ नभएकाले ट्राफिक प्रहरी पश्चिमतर्फ रहेको बुद्ध मूर्ति नजिक बस्छन् । त्यसैले यात्रुले चोकमा लाइट त देख्छन् । प्रहरी देख्दैनन् । यसले पनि मनपरी बढेको छ । जसले परिणाम चोकमा दुर्घटना बढेको छ । अशान्ति छाएको छ ।

चोक व्यवस्थापनमा देखिएका कमजोरी सुधार गरेर यात्रा सहज र सहर सुन्दर बनाउन ढिला गर्न हुँदैन । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशब केसीले आइल्याण्ड नहुँदा जाथाभावी बाटो क्रस गर्ने क्रम बढेको बताए । ‘यसले दुर्घटनासमेत बढेको छ’, उनले भने, ‘सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरीसमेत असुरक्षित छन् । यहाँ आइल्याण्ड जरुरी छ ।’ उनले आइल्याण्ड राख्नेबारे छलफल भइरहेको जनाए ।