June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

काँग्रेस प्रदेश अधिवेशन : ब्यानर र पोस्टरले रंगियो सभागृह (फोटोफिचर)

भैरहवा– दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेसका नेता–कार्यकर्ताले प्रचारप्रसार तीव्र पारेका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत पहिलोपल्ट संघीय अभ्यासस्वरुप काँग्रेसको प्रथम प्रदेश अधिवेशन भइरहेको छ ।

Advertisement

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापनइतरले प्यानल बनाएर मनोनयन दर्ता गरिसकेका छन् । भोलि मतदान हुँदै छ । त्यसअघि सहमतिको प्रयास समेत भइरहेको नेताहरुको दावी छ ।

Advertisement

मतदानस्थल भैरहवाको महेन्द्र सभागृह र त्यसनजिकको पटवा ब्यान्क्यूटमा चहलपहल हेर्न लायक छ । उम्मेदवार र प्रतिनिधिले प्रचारप्रसारलाई तीव्र पारेका छन् । आआफ्ना समूहका ब्यानर टाँग्दै हिंडेका छन् भने मतदानस्थल उम्मेदवारका पोस्टर र पार्टी झण्डाले रंचीचंगी बनेको छ ।

लुम्बिनीमा संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीका भरतकुमार शाहको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा होमिएको हो । यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले रोल्पाका पूर्व सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल घोषणा गरेर निर्वाचनमा केन्द्रित भएको छ । शाहको प्यानलमा दुई जना उपसभापति पदका उम्मेदवारहरुमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल उम्मेदवार बनेका छन् ।

यस्तै, दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी, सहमहामन्त्रीमा १ महिलासहित ३ पदक लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार छन् । पुनको नेतृत्वमा घोषणा गरिएको प्यानलको उपसभापतीमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, तथा सहमहान्त्रीमा प्युठानकी नीमा गीरी, अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डेय छन् ।

विहीवारबाट सुरु अधिवेशले प्रतिनिधि मार्फत् प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ६ सय ४८ प्रतिनिधि भैरहवामा जुटेका छन् ।