December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

प्रहरी गोलीले लुटेको खुशी

भैरहवा– प्रहरी गोलीबाट सहातद प्राप्त गरेका वीरेन्द्र कुर्मीको रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालय नजिकै बुद्ध परिपथको मुख्य सडकमा जोडिएको डेढ तल्ला घर छ । वीरेन्द्र सधैका लागि विदा भएको शुक्रबार ११ दिन पुगेको छ । पब्लिक कुराको टिम बिहीबार कुर्मीको घरमा जाँदा स्थानीय केही मानिस जम्मा भएका थिए । वीरेन्द्रका बुवा र कान्छा भाइ त्रिवेणीमा अस्तु सेलाउन गएका थिए ।

Advertisement

स्व.वीरेन्द्रकी श्रीमती कलावती कुर्मी ।

केही समयपछि वीरेन्द्रका बुवा र भाइ अस्तु सेलाएर आए । श्रीमती कलावती ढोकाको संघारमा दशधारा आँशु चुहाउँदै थिइन् । उनलाई आफन्त र छिमेकीले सम्हालिन आग्रह गरिरहेका थिए । वीरेन्द्रको मृत्युको खबर सुनेयता उनको आँखा ओभाएका छैनन् । बोल्न राम्रोसँग सक्दिनन् । खानै नखाएको कति दिन भयो । पानीको भरमा पराण धानेकी छन् । जतिबेला पनि भक्कानो छाडेर रोइरहन्छिन् ।

दुई छोरा र एक अशक्त छोरी छेउकै खाटमा बसेर आमाका आँखामा बगिरहेका आँसु चिहाइरहेका थिए । आमाको रोदनसँगै उनीहरुको भावविह्वल प्रष्टिन्थ्यो । छोराछोरीले बुवा कहिले आउनुहुन्छ भन्दै सोधिरहन्छन् । तर, आफन्त नजवाफ छन् । ‘जतिबेला पनि बुवा खोइ भन्ने प्रश्न छोराछोरीको मुखबाट आउँछ’, वीरेन्द्रकी बिहनी रवणी कुर्मीले भनिन्, ‘बच्चाबच्चीको मुखबाट यस्तो आवाज आउँदा हाम्रो आँखामा आँशु थामिँदैनन् ।

शुद्धोधनमा रहेको स्व.वीरेन्द्रको घर ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका समूह र सुरक्षाकर्मीबीच गत असोज २४ गते झडप भएको थियो । सुरक्षा निकायले आँकलन गरेभन्दा धेरै बाहिरी जिल्लाबाट सयौंको संख्यामा जग्गा कब्जा गर्ने समूह रुपन्देही आएका थिए । प्रहरीले उक्त समूहलाई हटाउन खोज्दा दोहोरो झडप भयो । झडपमा प्रदर्शनकारीले ढुंगामुडा र पेट्रोल बम प्रहार गरेको प्रहरी दावी छ । तर, सुरक्षाकर्मीले चलाएको गोली लागेर चार जना नागरिकको ज्यानै गयो ।

दुईतर्फ गरी एक सयको हाराहारीमा घाइते भए । उक्त झडपमा प्रहरीले चलाएको गोली लागेर शुद्धोधन–५, सितलपाटीका ३८ वर्षीया वीरेन्द्रको पनि मृत्यु भएको थियो । कुर्मी औद्योगोगिक क्षेत्रको जग्गा कब्जा गर्न नभई काम गर्न जाँदै गर्दा प्रहरीले समाएर गोली हानेको परिवारको दावी छ ।

वीरेन्द्र सामान्य परिवारमा हुर्किएका हुन् । उनले तीन कक्षा मात्रै अध्ययन गरेका थिए । उनी फलसिलिङको काम गर्ने मिस्त्री थिए । उनले यो काम गर्न लागेको डेढ दशक भयो । ‘सधै बिहानै उठेर काममा जान्थे । असोज २४ गते उनी बिहानै उठेर भैरहवा नजिकै रहेको ओमसतियास्थित ससुराली घर गए । १० बजे घर फर्किए, केही समयमा फलसिलिङ गर्न आवश्यक समाग्री बोकी साइकल लिएर काम गर्न हिँडेका थिए’, उनका आफन्त विपीन कुर्मीले भने, ‘मोतीपुर क्षेत्रमा आन्दोलन भइरहेको बारे वीरेन्द्रलाई थाहा थिएन । २४ गते मणिग्रामस्थित युवराज पाठकको घरमा काम गर्न जानुपर्ने थियो । तर, बीचमा प्रहरीले गोली हानेर मार्यो, हत्या गर्यो, हाम्रो खुशी लुट्यो । प्रहरीलाई कसले कारबाही गर्छ ?’

वीरेन्द्र, विपीन र उनका कान्छा भाइ सुरेन्द्रसँगै सधै काममा जान्थे । त्यसदिन ससुराली गएकाले ढिलो हुँदा भाइ काममा गइसकेका थिए । उनलाई ठेकेदार र भाइले बुटवलबाट सामान ल्याएर आउन भनेका थिए । उनी बुटवल–१७ स्थित पत्थरगंज हुँदै साइकलमा बुटवलतर्फ जाँदै थिए । बुटवलको डिंगरनगरमा उनीहरुले सामान राख्ने र घर जान ढिला हुँदा बस्नका लागि एउटा कोठा लिएका छन् ।

वीरेन्द्र बाटोमा जाँदै गर्दा नजिकै रहेको प्रहरीले अश्रुग्यास प्रहार गर्यो । प्रत्यक्षदर्शीका अनुसार कुर्मी भाग्न खोज्दा सडक छेउमा रहेको कुलोमा लडे । एकछिनमा उठेर सडकमा आए । प्रहरीले लाठी प्रहार गर्यो र गाडीमा हाल्यो । ‘वीरेन्द्र अघिअघि म पछिपछि थियौं, अश्रुग्यास प्रहार पछि ऊ लडेको हो’, प्रत्यक्षदर्शी अवधनारायण यादव भन्छन्, ‘कुलोमा लडेको वीरेन्द्रलाई प्रहरीले गाडीमा राख्यो । त्यतीबेलासम्म गोली हानेको थिएन, पछि गोली हानी हत्या नै गरेछ ।’

अश्रुग्यास प्रहार हुँदाताका करिब दिउँसोको १२ बजेको थियो । वीरेन्द्रका भाइ सुरेन्द्रले फोन गर्दा बाटोमा आउँदै छु भनेको सुरेन्द्र बताउँछन् । ‘मैले फोन गर्दा अलिकति ढिलो भयो, म आउँदै छु भन्नुभएको थियो’, उनले भने । बाटोमा छु भनेको दाई साँझसम्म काममा गएनन् । आफन्तले सोधीखोजी गर्दा प्रहरीले पक्राउ गरेर लगेको भन्ने थाहा पाए ।

पति वियोगमा मुर्छित कलावती र छोराछोरी ।

साँझ सोधखोज गर्दा प्रहरीले आफूहरुको नियन्त्रणमा रहेको बतायो । यसैक्रममा दुईवटा क्लिप भिडियो बाहिरियो । टिकटकमा राखिएको एउटा भिडियोमा वीरेन्द्र कालोपत्र सडकमा रगताम्य भएर बसिरहेका देखिन्छन् । अर्कोमा भिडियोमा वीरेन्द्र प्रहरी भ्यान भित्र रगताम्य भएर पल्टीरहेको अवस्थामा देखिन्छन् । जहाँ प्रहरीले केही कुरा सोधखोज गर्दै अब मर्ने भइस भन्दै अपशब्द प्रयोग गरेको छ ।

त्यसपछि मात्रै आफन्तले वीरेन्द्रलाई गोली लागेको थाहा पाए । हारगुहार गर्दै भैरहवास्थित मेडिकल कलेज आए । भोलिपल्ट बिहान मात्रै वीरेन्द्रको मृत्यु भएको आफन्तलाई थाहा भयो । तर, आफन्तलाई तीन दिनसम्म शवको पहिचान नभएको भन्दै मृत शरीरसमेत हेर्न दिइएन । ‘हामीलाई दाईको पहिचान नभएको भन्दै लास समेत हेर्न दिइएन, गाडीमा राखेर गोली ठोकी हत्या गर्ने प्रहरीबाट अब नागरिक कसरी सुरक्षित हुने ?’, उनले प्रश्न गर्दै भने, ‘निमूखा मजदूर मारेर राज्यले के पायो ?’

प्रत्यक्षदर्शीकाअनुसार प्रहरीले भ्यानमा राख्दासम्म वीरेन्द्रलाई गोली लागेको थिएन । दाहासंस्कार गर्दा आफन्तले हेर्दा छाती र कम्मरमा गोली लागेको प्रष्ट देखिन्थ्यो । टाउकोको पछाडिको भागमासमेत चोट लागेको थियो । वीरेन्द्र रगताम्य भएर बसेको सडक कालोपत्र छ । जबकी सुकुम्बासी भनिएको क्षेत्रमा सडक नै कालेपत्र नभएको स्थानीयको दावी छ ।

स्व.वीरेन्द्रका बुवा तुफानी कुर्मी ।

आफन्तले साइकल, काम गर्न जाँदा लगेका झोला र औजार, मोबाइल प्रहरीले गायव बनाएको र वीरेन्द्रको साथमा सवारी लाइसेन्स हुँदाहुँदै तीनदिनसम्म पहिचान नखुलेको भनेर झुट बोलेको आरोप लगाएका छन् । आफन्तले प्रहरी भ्यानमा राख्दा गोली नलागेको वीरेन्द्रलाई पछि गाडीमा राखेर गोली हानेर हत्या गरेको दावी गरेका छन् । ‘सबै प्रमाण र प्रत्यक्ष देख्नेको भनाइअनुसार मेरो छोराको हत्या नै भएको हो’, वीरेन्द्रका बुवा तुफानी कुर्मी भन्छन्, ‘छोरा बाठो थियो, मलाई लाग्छ मोबाइलमा उसले केही कुरा रेकर्ड गरेको हुनुपर्छ, त्यही भएर मोबाइल पनि प्रहरीले गायव बनाइदियो ।’

वीरेन्द्र घरका साइलो छोरा हुन् । उनको आमाको केही समय अघि नै मृत्यु भइसकेको छ । उनी घरमा टाठाबाठा र अलि कमाउन सक्नेमध्येमा पर्छन् । उनको २८ वर्षीया श्रीमती, ९ र ४ वर्षको छोरा तथा ६ वर्षकी छोरी छन् । छोरी अशक्त छन् । छोराछोरी हुर्किरहेका बेला घरको कमाउने मान्छे नै नरहेपछि परिवारको विचल्ली भएको छ । कलिलै उमेरमा कलावती विधुवा भएकी छन् । निमुखा बालबच्चा बुवा आउने आसमा टोलाइरहन्छन् ।

कलावति बोल्न सक्दिनन्, रुँदारुँदै घाँटी सुकेको छ । जतिबेला पनि रोइरहन्छिन् । एककोहोरो हुन्छिन् । पति वियोगले उनलाई छट्पटाइरहन्छ । परिवारले राज्यले नै एउटा मजदूरको हत्या गरेको भन्दै छोराछोरीको पठनपाठन र श्रीमतीलाई रोजगारीको ग्यारेन्टी माग गरेका छन् । बुवा तुफानी भन्छन्, ‘अब मेरो छोरा फर्किन्न तर छानविन गरी दोषी प्रहरीलाई कारबाही हुनुपर्छ । छोरछोरीलाई निःशुल्क पठनपाठन र बुहारीलाई रोजगारी दिनुपर्छ ।

पति वियोगमा परेकी कलावतीलाई सम्हाल्दै आफन्त ।

सरकारले २०७२ चैत १ मा मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । त्यसयता कार्यालय स्थापना भए पनि निर्माण सुरु हुने–नहुने अलमलमा रहेको औद्यौगिक क्षेत्रको शिलान्याश विवादकै बीचमा भयो । घोषणा गर्दा ५ वर्षभित्र औद्यौगिक क्षेत्र निर्माण गर्ने भनिए पनि काम अझै अलमलमा छ । सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २०७३ सालमा जग्गा दर्ता गरेको थियो ।

औद्योगिक क्षेत्र बनाउने भनिएको क्षेत्र ९ सय ४६ बिघामा फैलिएको छ । त्यसमध्ये १ सय ३३ बिघाको जग्गाको औद्योगिक क्षेत्रसँग स्वामित्व आइसकेको छैन । अहिलेसम्म ८१३ बिघा जमीनमात्रै औद्योगिक क्षेत्रको नाममा छ । यही जमिन कब्जा गर्ने भन्दै पूर्वदेखि पश्चिमसम्मका मानिस असोज २४ मा मोतीपुर आएका थिए । त्यहीबेला काममा हिँडेका मजदूर वीरेन्द्रको प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएको हो ।

वीरेन्द्रको परिवारले अहिलेसम्म किरिया खर्चवापत ५० हजार रुपैयाँ मात्रै पाएको छ । प्रदेश र केन्द्र सरकारले घोषणा गरेको राहत रकम अझै उपलब्ध गराएको छैन । राज्यले नै एउटा मजदूरलाई गोली हानेर मारिसकेपछि एकपल्ट पनि कुनै निकाय वीरेन्द्रको घरमा सहानुभूति दिनसमेत गएका छैनन् । सुरक्षा निकायका प्रमुखलाई यही घटनाले अन्यत्र सरुवा हुन्छ की भन्ने चिन्तामै ध्यान केन्द्रित छ । त्यसैले पनि मजदूर परिवारमाथि पूर्ण बेवास्ता गरिएको छ ।

भक्कानिँदै रोइरहेकी कलावतीलाई देखेर आँशु आएपछि पुच्दै छिमेकी ।

वीरेन्द्र निर्दोष रहेकाले घटनामा संलग्नलाई अनुसन्धान गरी कानूनी दायरामा ल्याउन वीरेन्द्रको परिवारको माग छ । ‘वीरेन्द्र वास्तविकरुपमै मजदुरी गर्नकै लागि जाँदै थिए, यसमा अनुसन्धान होस्’, आफन्त विपीन भन्छन्, ‘प्रत्यक्षदर्शीले भनेजस्तै प्रहरीले गाडीमा राखेर गोली हानी हत्या गरेको हो भने त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्छ । होइन भने यो घटनाले कानूनी राजयको उपहास गर्ने प्रष्टै हुन्छ ।’