October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

कसरी मनाइन्छ फूलपाती ? घतलाग्दो छ कथा

दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । सामाजिक महत्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले  लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा पुर्‍याउँछ । भावनात्मक महत्व छ, जसले टाढा-टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्‍याउँछ ।

दशैं, सद्भावको पर्व हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्दतीको एउटा हिस्सा हो ।

घटस्थापना देखि दशैंको विधिवत सुरुवात हुन्छ । घटस्थापनाको दशौं दिनमा टिका । अर्थात आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।

दशैं सुरुभएदेखि हरेक दिनको आ-आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्दतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दशैं-संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।

कसरी मनाइन्छ फूलपाती ?

आज सप्तमी । अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।

घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।

केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।

भनिन्छ, टुक्रे राज्यको रुपमा रहेको नेपाल एकिकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्‍याउने गरिन्थ्यो । काठमाडौंको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती धदिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।