April 23, 2025, Wednesday
२०८२ बैशाख १०

बुद्धमय बन्दै भैरहवा

  • कमल रायमाझी

भैरहवा – चार वर्ष अघि २०७३ पुस १२ गते भैरहवालाई बुद्धमय बनाउने अभियान थालियो । त्यसको करिब एक महिना अघि सिद्धार्थनगर नगरपालिकाले केही समयभित्रै नगरका सबै घर बुद्ध रंगले रंगाउने र घरघरमा बुद्ध झण्डा राख्न आग्रह गर्ने निर्णय गरेको थियो । नगरपालिकाको सोही निर्णयलाई बल पुग्ने गरी पाकापुस्ताहरुको समूह भैरहवा मर्निङ वाक गु्रपले तामझाम कार्यक्रम गरेर बैंकरोडका घरघरमा झण्डा राख्न आग्रह गर्यो र राखियो पनि ।

त्यसको मुख्य उद्देश्य थियो– नगरपालिको निर्णय सजिलै कार्यान्वयन होस् र त्यसको जस गु्रपलाई पनि मिलोस् । अर्को भैरहवामा बाह्य तथा आन्तरिक पर्यटकहरु आउँदा बुद्धको झझल्को पाउन । कार्यक्रममा अगुवाहरुले भाषण गर्दै भनेकका थिए– ‘अब सबैको घरका भित्तामा एउटै रंग हुन्छ । घरमाथि बुद्धको प्रतीकका रुपमा झण्डा । एकअर्कालाई सम्बोधन गर्दा जय बुद्ध भनौं ।’ उक्त अभियानको ठिक डेढ महिनापछि बेलहियामा पनि तामझाम कार्यक्रम गरी गु्रपको अगुवाईमा घरघरमा बुद्ध झण्डा राखिएको थियो ।

Advertisement

नगरपालिका र अभियान थालनी गरेको गु्रपकै कारण भैरहवालाई बुद्धमय बनाउने अभियानमा बल पुगेको छ । घरका छतमा बुद्ध प्रतीक झण्डा राख्ने का नभए पनि बुद्ध रंग लगाउने क्रम बढेको छ । भैरहवाका सडकमा बुद्ध मूर्ति राखिएका छन् । नयाँ बन्ने र नगरपालिकाका भवनहरुमा बुद्ध रंग लगाइएको छ । अब, यहाँ आउने पर्यटकले बुद्ध भूमिमा आएको सहजै अनुभूति गर्न पाउने छन् ।

भारतबाट नेपाल प्रवेश गर्दा बेलहियामा रहेको गेटको माथिपट्टी सानो आकारमा बुद्ध मूर्ति राखिएको छ । गेटको छेउछाउ बुद्धको चित्र बनाइएको छ । धुलोले उक्त मूर्ति र चित्र ढपक्कै छोपेको छ । विगतमा बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटक बुद्धचोक नपुग्दै बुद्ध भूमिमा आयौं भन्ने थाहा समेत पाउँदैन थिए । बुद्धचोकमा राखिएको बुद्धमूर्ति पनि त्यति रेखदेख गरिएको थिएन ।

बुद्धचोक नजिकै ९ वर्ष अघि बनाइएको लुम्बिनी गेट छ । यी दुईले केही सन्देश दिए पनि परासी हुँदै जाने पर्यटकले बुद्धभूमिबारे पत्तै पाउँँदैन थिए । कतिपय पर्यटक गाइडले गल्लामण्डीबाट सिधै लुम्बिनी पुर्याउने गरेका थिए । जसले गर्दा पर्यटकलाई २१ किलोमिटर पार गरेर लुम्बिनी नपुग्दासम्म बुद्धभूमि आयौं भन्ने थाहै हुँदैन थियो ।

यसैलाई मध्यनजर गर्दै भैरहवालाई बुद्धमय बनाउन सुरु गरिएको हो । नगरपालिकाले सबै घरमा बुद्ध जीवनीमा आधारित पहेँलो रंग लगाउन आग्रह गर्ने निर्णय त गरेको छ तर कार्यान्वयन खासै हुन भने सकेको छैन । निर्णय अनुसार नगरपालिकाको भवन र वडा कार्यालयहरुमा पहेंलो रंग लगाइएको छ । ती कार्यलयमा बुद्ध झण्डा भने राखिएको छैन ।

पछिल्लो समय नयाँ बन्ने र पुराना केही घरहरुले पहेंलो रंग त लगाएका छन्, तर बुद्ध रंगसँग मेल भने नखाएको बताइन्छ । ती घरहरुमा झण्डा टाँगिका छैनन् । सिद्धार्थनगर शाक्यमुनी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो । सहज अवस्थामा नगर हुँदै दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी पुग्छन् । यही कारण भैरहवामा बुद्धसँग सम्बन्धित गतिविधि बढाइएको हो ।

नगरपालिकाले बेलहियामा बुद्धत्व झल्कने गरी पाँच करोड लागतमा पर्यटकीय द्वार बनाइरहेको छ । बेलहियाको डण्डा नदीदेखि अंचलपुरसम्म दुई वर्ष अघि नै बुद्ध मूर्ति राखिएको छ । बुद्धचोकदेखि एअरपोर्टसम्म अघिल्लो आर्थिक वर्षमा बुद्ध मूर्ति राखिएको छ । ‘यसले नगरको सौन्दर्यता बढाएको छ, यहाँ आउनेले बुद्ध भूमि आएको अनुभूति गर्न सक्नेछन्’, स्थानीय बासिन्दासमेत रहेका बुद्ध मूर्ति व्यवस्थापन उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले भने ।

अर्कातर्फ नगरपालिकाले बजार क्षेत्रका मुख्य सडकमा लगाएका बोटविरुवा हुर्किरहेका छन् । यसले नगरलाई हरियाली बनाउँदै लगेको छ । पर्यटकीय नगरले परिचित सिद्धार्थनगर बुद्धमय मात्रै होइन, हरियाली सहरसमेत बनिरहेको छ । कोरोना महामारी सहज भए यहाँ आउने पर्यटकले छुट्टै अनुभूति गर्न पाउने नगरपालिका बताउँछ ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बुद्धत्व झल्कने गतिविधिलाई प्राथमिकता दिएर काम गरेको बताइन् । ‘पर्यटकलाई कम्तिमा भैरहवामा एकरात बसाउनुपर्छ भन्ने गरी काम गरिरहेका छौं’, उनले भनिन्, ‘केही समयमा बेलहियामा पर्यटकीय गेट तयार हुनेछ, दरखसवामा पार्क निर्माण अन्तिम चरणमा छ, मुख्य सडकमार्ग बुद्ध मूर्तिले सिंगारिएको छ’, उनले भनिन्, ‘नगर विकासको आधार पर्यटन नै हो भनेर हामीले यसैमा केन्द्रित भएका छौं ।’

उनले बुद्ध रंग र झण्डा राख्न नगरबासीलाई अनुरोध गरिएको भए पनि अनिवार्य राख्नुपर्छ भनेर भन्न नसकिने बताइन् । ‘बहुजातीय समाजमा हामीले कसैलाई पनि बाध्य पार्न सक्दैनौं । तर, बुद्ध सबैका साझा भएकाले रंग लागाऔं र झण्डा राखौं भनेर अनुरोध गर्न सक्छौं, गरेका छौं’, उनले भनिन्, ‘यी कुरामा नगरबासीलाई बाध्य नपारे पनि अन्य बुद्ध जीवनीमा आधारित गतिविधि भने हामीले अघि बढाएका छौं ।’

भैरहवा मर्निङ वाक गु्रपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले शान्तिको प्रतीकका रुपमा रहेको बुद्ध झण्डा र घरघरमा बुद्ध रंग लगाई भैरहवालाई बौद्धात्मक गराउन आफूहरुले अभियानको थालनी गरे पछि धेरै काम भएको बताउँछन् । ‘हामीले आर्थिक समस्याका कारण निरन्तरता दिन नसके पनि नगरपालिकाले यस क्षेत्रमा धेरै काम गरेको हाम्रो अनुभूति छ’, उनले भने ।

पाँचवटा मिश्रित रंगले बौद्ध झण्डा बनाइएको हुन्छ । उक्त ५ वटा रंगमध्ये निलोले बुद्धको कपाल, पहेलोले बुद्धको छाला, रातोले रगत, सेतोले दाँत र कलेजीले कलजोलाई जनाउँछ । भिन्नभिन्न जातजातिको बसोबास भएकाले पनि सबै घरमा बुद्ध रंग र झण्डा राख्न नगरपालिकाले बाध्य नबनाएको हो । यद्यपि बुद्ध रंग लगाउनेहरु भने नगर क्षेत्रमा कयौं छन् । पर्यटन व्यवसायी एवं सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ भन्छन्, ‘भैरहवा आउँदावित्तिकै बुद्ध भूमि आयौं भन्ने अवस्था अहिले सिर्जना भएको छ, यसलाई अझै प्रभावकरी बनाउनुपर्छ । पर्यटकीय गतिविधि बढे नगरको गरिमा बढ्छ । पर्यटन व्यवसायी फस्ट्याउँछन्, यसको फाइदा मुलुकलाई नै हो ।’