April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

भेरी अस्पतालमा चार जनामा ब्ल्याक फंगस

बाँके/भैरहवा- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमण देखिएको छ । खासगरी मधुमेहबाट पीडित संक्रमितमा उक्त रोग देखिएको हो ।

Advertisement

दुई सातामा चार जना विरामीहरुमा ब्ल्याक फंगसको लक्षण देखिएको अस्पतालका कन्सलटेन्ट प्रमुख फिजिसियन डा.राजन पाण्डेले जानारी दिए । यहाँ ब्ल्याक फंगस संक्रमण देखिएका एक जनाको मृत्युसमेत भएको छ । ‘मधुमेह रोगी र कोरोनाको उपचारको क्रममा स्ट्रोइड्स औषधिले थप सुगर बढाउँछ । त्यस्तो विरामीमा ब्ल्याक फंगसको संक्रमण बढी हुने सम्भावना हुन्छ’, डा.पाण्डेले भने, ‘दुई सातामा चार जना त्यस्तो विरामी भेटिसकेका छौं ।’

Advertisement

ब्ल्याक फंगस नयाँ रोग होइन्, यो रोग भारतमा फैलिनुभन्दा पहिले नेपालमा देखिएको थियो । विगतका वर्षमा एकदुई जनामा मात्रै यो रोगको संक्रमण देखिन्थ्यो । ‘कोरोना महामारीमा बढी केश देखिन थालेका छन्’, उनले भने, ‘भारतबाट ब्ल्याक फंगस भित्रिन्छ भन्ने होइन । पहिलेदेखि नै यो रोग नेपालमा थियो ।’

चिकित्सकीय भाषामा उक्त रोगलाई म्युकोर्मिकोसिस भनिन्छ । यसको लक्षण रुघाखोकीजस्तो लाग्ने, मुख सुन्निने, आँखा, नाकको वरीपरी सुन्निने, कालो डाम बस्ने, नाकबाट रगत बग्ने हुन्छ । ‘यो रोगको लक्षण देखिनसाथ उपचार गर्न सुरु गर्नुपर्छ । दुईचार दिनमै कालो डाम सड्न सक्छ’, डा.पाण्डेले भने, ‘नाक बन्द भएर ज्यान जान सक्छ ।’

कोरोनाका महामारी बढ्दै गए ब्ल्याक फंगसको संक्रमण पनि बढ्न सक्ने भएकाले सरकारले तयारी थाल्नु पर्ने चिकित्सकको सुझाव छ । सरकारले समयमै औषधि खरिद नगरे समस्या उत्पन्न हुनसक्ने उनीहरुले जनाए । पाण्डेका अनुसार भारतमा ब्ल्याक फंगसको आक्रमण बढी देखिन थालेको केही समयमा नेपालमा पनि संक्रमण देखिन थालेको हो ।

कोरोना संक्रमित भएर उपचारका लागि नेपालगन्ज आएका केहीमा ब्ल्याक फंगस देखिएपछि उपचारका लागि काठमाडौं पठाइएको छ । ब्ल्याक फंगसको औषधि नेपालमा उपलब्ध छैन । भारतमा समेत उक्त औषधिको हाहाकार छ । कोरोनाको महामारी सुरु भएपछि नेपाल–भारत सीमा नेपालगन्जको जमुनाहा नाकामा हेल्थ डेस्क राखिएको छ । त्यहाँ भारतबाट घर फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीसँगै देखिएको ब्ल्याक फंगस रोक्न लुम्बिनी प्रदेशमा सरकारले कुनै तयारी गरेको देखिएको छैन । प्रदेशका अस्पतालहरुमा कार्यरत चिकित्सकका अनुसार रोगबिरुद्ध प्रयोग हुने औषधिको अभाव छ । चिकित्सकका अनुसार यो आयातित रोग होइन । रोग प्रतिरोध क्षमता कमी भएका बिरामीलाई यसको संक्रमण देखिने गरेको छ । महामारीका बेला कोरोना संक्रमणले बिरामीलाई कमजोर बनाउने गरेकाले त्यस्तो अवस्थामा ब्ल्याक फंगस संक्रमण हुनसक्छ ।

संक्रमण भएर निमोनिया भएका बिरामीलाई खुवाइने औषधिले पनि प्रतिरोध क्षमतामा कमी ल्याउँछ । त्यस्तो बेला पनि फंगसले आक्रमण गर्न सक्ने चिकित्कसको भनाई छ । अर्कोतर्फ लुम्बिनी प्रदेशमा मुख्य तीनवटा नाका छन । छिमेकी भारतका सहरमा यसको संक्रमण फैलिरहेको छ । भारतका विभिन्न सहरबाट दैनिक सर्वसाधरण नेपाल भित्रिरहेका छन् । अहिले नाकामा कोरोना संक्रमण भएनभएको सामान्य जाँच गरिन्छ । तर, ब्ल्याक फंगसबारे नाका र जिल्लाहरुमा सचेतना छैन । प्रभावकारी सोधखोज गरिएको छैन । यसले गर्दा झनै फैलने खतरा बढेको चिकित्सकको चिन्ता छ ।