October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट विज्ञप्ती जारी गरेको हो ।

सय बढी कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालबाटै पटकपटक अक्सिजन नभएको भन्दै विज्ञप्ती आएपछि यसले रुपन्देहीमात्रै होइन, मुलुकभर नै हल्लीखल्ली मच्यायो । उपचाररत विरामी, उनकाका आफन्त, होमआइसोलेसन बसेका संक्रमित आत्तिए नै संक्रमित नभएका पनि अत्तालिए ।

कारण संक्रमित र उनका आफन्तलाई ज्यान जाने जोखिम थियो भने संक्रमित नभएकाहरुलाई भइहाले कसो गर्ने भन्ने । युसिएमएसले पटकपटक अक्सिजन सकिएको सूचना जारी गरिरहँदा अस्पताल परिसरमै रहेको अक्सिजन प्लान्ट भने महिनौं दिनदेखि संचालन गर्न सकेको छैन । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङ भन्छन्, ‘प्लान्ट विग्रिएको छ, बनाउन भारतबाट दक्ष जनशक्ति ल्याउनुपर्छ, अहिले बन्दका कारण सम्भव भएको छैन ।’ उनकाअनुसार अस्पतालले नयाँ प्लान्ट जडानबारे तयारी गरिरहेको छ ।

पटकपटक विज्ञप्ती नै जारी गर्नु पर्ने कारण के भन्ने पब्लिक कुराको प्रश्नमा उनले भने, ‘अक्सिजन सकियो भनेर सबै ठाउँमा जानकारी गराउँदासमेत आपूर्ति भएन, हामीले अक्सिजन नपाएर उपचाररत विरामीको ज्यान गए के जवाफ दिने ? त्यसैले विज्ञप्ती नै जारी गर्नुपरेको हो ।’

अक्सिजन सकिएको विज्ञप्ती जारी गरेको केही समयमै युसिएमएसले संक्रमितका आफन्तलाई मृत्युको मन्जुरी नामा गराएको थियो । मन्जुरी नामामा यदि अक्सिजन सकिएर आफन्तको ज्यान गएमा कोहीकतै उजुरी र असन्तुष्टि जनाउने छैन भन्ने उल्लेख छ । अक्सिजन छैन भनेर विज्ञप्ती जारी गरेको युसिएमएसले अक्सिजन उपलब्ध भएपछि नयाँ विरामी भर्ना लिन्छौं भनेर पुनः आह्वान भने कहिल्यै गरेन ।

युसिएमएस मात्रै होइन, भैरहवाकै भीम अस्पतालले पनि अघिल्लो हप्ता अक्सिजन नभएको भन्दै विज्ञप्ती जारी गर्यो । तर, भोलिपल्ट अस्पताल आफैले खण्डन गर्दै अक्सिजन भएको विज्ञप्ती जारी गर्यो । सरकारी अस्पताल भएकाले प्रदेश सरकारको दवावमा भोलिपल्टै भीमले अघिल्लो दिन जारी गरेको सूचना गलत भएको भन्दै विज्ञप्ती जारी गरेको स्वयं अस्पतालका चिकित्सक बताउँछन् ।

१२ घण्टाको फरकमा विरोधाभाष विज्ञप्ती जारी गर्ने भीममा गएको बुधबार मात्रै १५ मिनेट अक्सिजन अभाव हुँदा ३ जना संक्रमितले ज्यान गुमाए । यो विषय पनि अस्पताल प्रशासनले लुकाउन खोज्यो । तर, मृतकका आफन्त र चिकित्सक भने अक्सिजन अभावमै मृत्यु भएको स्वीकार्छन् ।

अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट शकुन्तला गुप्ता भन्छिन्, ‘हाम्रा कतिपय बाध्यता छन्, हामी रातदिन संक्रमितको उपचारमा खटेका छौं, यहाँबाट उपलब्ध सेवा र हाम्रो ल्याकतले भेटेसम्म संक्रमितको उपचारमा कमी हुन दिएका छैनौं । बाँकी काम प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर गरिरहेका छौं ।’

अस्पतालका एक चिकित्सकका अनुसार त्यहाँ अक्सिजनको चरम अभाव छ, तर दवावका कारण कोही बोल्न मान्दैनन् । ‘बाहिर नेगेटिभ म्यासेज नजाओस् भन्ने हुनसक्छ, यस्तोबेला सबै संयमित हुनुपर्छ, सोहीअनुसार अस्पताल प्रशासन संयमित बनेको हो, अक्सिजन आपूर्तिमा प्रशासन र प्रदेश सरकार लागि परेको छ’, ती चिकित्सकले भने ।

भीम र युसिएमएसले विज्ञप्ती नै जारी गरेर अक्सिजन सकिएको बताए पनि लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकहरुले पनि पटकपटक सामाजिक संजाल फेसबुकमा अक्सिजन सकिएको र त्यसको व्यवस्थापनका लागि आफूहरु रातभरि खटेको स्टाटस लेख्दै आएका छन् । यसले उपचाररत विरामी, आफन्त र सिंगो समाज मात्रै होइन्, मुलुकभरका नागरिकलाई असर गर्ने समाजशास्त्रीहरु बताउँछन् ।

समाजशास्त्री उमेशचन्द्र रिजाल भन्छन्, ‘महामारीमा निजी होस् या सरकारी सबै अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीको योगदान अमूल्य छ । तर, कहिलेकाही हामीले हतार गर्दा आत्तिएरै धेरैको ज्यान जानसक्छ, थोरै कुरामा चुक्दा ठूलो क्षति हुनसक्छ । यसैले संयमित हुनुपर्छ ।’

समस्या भए सम्बन्धित निकायमा कुरा राख्नु पर्ने र हरेक कुराको व्यवस्थापनमा लाग्नु पर्ने उनको सुझाव छ । गएको मंगलबार र बुधबार अक्सिजन अभाव हुँदा रुपन्देहीका विभिन्न अस्पतालमा गरी ९ जनाको मृत्यु भएको थियो ।

रुपन्देहीमा दैनिक एक हजार पाँच सय सिलिन्डर अक्सिज आवश्यक भए पनि जम्मा एक हजार आपूर्ति हुँदै आएको बताइन्छ । जिल्लामा रहेका तीन उद्योगको दैनिक एक हजार अक्सिजन सिलिन्डर भर्ने क्षमता मात्रै छ । बाँकी ५ सय सिलिन्डर अपुग छ । जिल्लामा अक्सिजन अभाव भएपछि अघिल्लो बुधबार नेपाली सेनाको एअर लिफ्टमार्फत् ४० थान अक्सिजन रुपन्देही ल्याइएको थियो भने हिजो शनिबार मात्रै सेनाकै जहाजबाट १२० थान अक्सिजन जिल्लामा झारिएको छ ।

रुपन्देहीमा लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका कोरोना संक्रमित उपचार गर्न आउने भएकाले पनि यहाँको उत्पादनले धान्न धौधौ छ । जसले गर्दा अक्सिजन अभाव छ । अस्पतालमा बेड अभाव उस्तै छ । संक्रमितको भुइँमा राखेर उपचार भइरहेको छ ।

मन्त्री श्रेष्ठको निर्देशन
हप्ता दिन अघिमात्रै लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भोजप्रसाद श्रेष्ठले शनिबार भैरहवास्थित भीम अस्पताल र युसिएमएसको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले महामारीको समयमा अक्सिजन सकियो भनेर विज्ञप्ती जारी गर्दै विरामी, आफन्त र आमनागरिकलाई त्रसित नबनाउन अस्पतालहरुलाई निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा उनले भने, ‘अक्सिजन सकिए वा केही समस्या भए सरकारलाई भन्नुस्, विज्ञप्ती निकालेर कसैलाई त्रसित नबनाउनुस्, तपाईंहरुको समस्या सरकारले समाधान गर्छ, नागरिकको उपचारमा सरकार जिम्मेवार छ । विज्ञप्तीले समस्या समाधान हुँदैन ।’

उनले अस्पतालमा उपचारत संक्रमितको मनोबल गिराउने किसिमले, विरामी र उनका आफन्तलाई तनाब दिने किसिमले कुनै पनि गतिविधि नगर्न समेत अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् । उनले भने, ‘तपाईंहरुका समस्या हामीले बुझेका छौं । जे समस्या छ, स्थानीय सरकार, स्थानीय प्रशासन र प्रदेश सरकारलाई भन्नुहोस् तर विरामीलाई असर पुग्ने गरी क्रिपया कुनै पनि गतिविधि अब नहोस् ।’ मन्त्री श्रेष्ठको निर्देशनपछि अस्पतालहरुको विज्ञप्ती होड रोकिन्छ की रोकिँदैन, त्यो आउँदा दिनहरुले प्रष्ट पार्ने नै छ ।