March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

भैरहवा, वैशाख २९ । वैदेशिक रोजगारमा युवाशक्तिको मोह छ, गाउँमा खेतबारी वर्षेनि बाँझिनेक्रम बढ्दो छ । खाडीमा न्यून तलबमै युवा पसिना बगाउँछन् । यस्तो अवस्थामा युवालाई गाउँमै रोक्न कृषि विषय पढाएरै कृषि उद्यमको प्रयास थालिएको छ ।
गुल्मीको मालिका गाउँपालिकाले यस्तो प्रयास सुरु गरेको हो । पालिकाले ४५ जना विद्यार्थीलाई निःशुल्क तीन वर्षे बाली विज्ञान पढाएको छ । मालिका ८ को मालिका माविले यही विषय पढाउन डेढ वर्ष अघि शैक्षिक तथा धार्मिक महोत्सव लगाएर ४८ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसमा पालिकाले सघाएपछि बाली विज्ञान पढाई गत वर्षदेखि शुरु भएको हो ।
‘सिकेपछि यहाँ विभिन्न तरकारी, मसलाबाली, पशुपालन लगायतका फार्म खोल्न सकिन्छ, उर्वरभूमि छ,’ गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भने, ‘कृषि उद्यमबाट व्यक्ति आफै स्वरोजगार बन्छन् नै गाउँलाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य पनि हो । शिक्षाबाट विद्यार्थी र अभिभावक सबै उत्साहित छन् ।’
पलिकाका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीले निःशुल्क पढ्न पाएका छन् । गाउँमा आधुनिक खेती प्रणाली अपनाएर थोरै जग्गामा धेरै उत्पादन गर्न घरैपिच्छे कृषि प्राविधिक भएपछि पढाई शुरु गरिएको थापाले बताए ।
परम्परा खेती प्रणालीबाट जीवन निर्वाह गर्न गाह्रो छ । कृषिमा आधुनिकीकरण गर्दै थोरै जग्गामा अन्न, तरकारी धेरै फलाउने, पढेर नै कृषि उद्यम गर्न सकिन्छ र बेरोजगार युवा रोजगारी खोज्दै विदेश जानबाट रोकेर गाउँमै कृषिकर्मबाट स्वरोजगार बनाइने उनले बताए । ‘यत्तिकै भन्दा पढेर गरेपछि राम्रो हुन्छ, पढनेका ४५ जना विद्यार्थीलाई गाउँमा परिचालन गरेर स्थानीयलाई उत्पादनमा जोड्छौं,’ उनले भने ।
प्रध्यानाध्यापक हेमराज पौडेलले भविष्यका युवा र गाउँलाई कृषि उद्यमबाट स्वरोजगार बनाउने गरी बालिविज्ञान पढाई शुरु गरिएको उनले बताए । एकवर्षदेखि अध्ययन गर्दै आएका विद्यार्थीले स्कुलको खेलमा तरकारी, अन्नबाली खेती कसरी गर्ने, थोरै जग्गामा धेरै उत्पादन गर्ने, रोगकिराबाट जोगाउने उपायको बारेमा कक्षाको पढने र खेतमा सिक्ने गर्छन् ।
स्कुलको खेतमा सिकेपछि विद्यार्थीले घरमा आमावावुलाई सिकाउँदै तरकारी खेती गरेर बिक्री गर्न थालिसकेका छन् । च्याउ उत्पादनको तरिका सिकेपछि अहिले विद्यार्थीको घरमा च्याउ उमारेका छन् ।
‘विद्यार्थीले पढेर सिकेपछि घरमा गएर पनि च्याउ, तरकारी उत्पादन गर्न अभिभावकलाई सिकाएका छन्,’ पौडेलले भने, ‘गाउँमा कृषि उत्पादन बढ्दो छ ।’ युवाशक्ति बाहिरिँदा गाउँको खेतबारी बाँझिएको छ । बाँझोबारी नराखी युवालाई कृषि उत्पादनमा जोड्न मद्दत पुग्ने उनले बताए ।
अंकिता खत्रीको हातमा कापी किताबसँगै हातमा कुटो कोदालो पनि हुन्छ । च्याउ खेती, गोलभेडा, मकै, तरकारी खेती गर्नेबारे खेतमा सिक्छन् । स्कुलको खेतमा उनकै हातले रोपेको च्याउ उत्पादन भैसक्यो । स्कुलले सिमलटारीमा २० रोपनी खेत किनेर विद्यार्थीलाई खेती गर्ने तरिका सिकाएको छ । त्यहाँ उनी दैनिक काम गर्छिन् । स्कुलमा सिकेपछि घरमै च्याउ उत्पादन गरेर बिक्री गर्न शुरु भैसकेको छ ।
‘हामी किसानका छोराछोरी हौं, खेती कसरी गर्ने तरिका पढ्दै र सिक्दै गर्दा धेरै जानिदो रहेछ,’ उनले भनिन, ‘च्याउ, तरकारी खेती गरेर पनि पढ्न सकिन्छ ।’ बीउ माटोमा कसरी रोप्ने, रोगकिराबाट बचाउने उपाय, थोरै जग्गामा धेरै फलाउनेबारे पढ्दै प्रयोगात्मक रुपमा सिकेपछि बल्ल कृषि कर्म गर्न सकिने उनले बताइन् । कोर्स पूरा भएपछि गाउँ र स्थानीय कृषिमा आत्मनिर्भर हुने विश्वास गाउँपालिकाको छ ।

Advertisement