July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

भैरहवाः मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र दिएका छन् ।
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।
आजै चार दलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए । उनीहरुले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव समेत गरेका छन् ।
विपक्षी दलहरुले आइतबार नै प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई नै पुनः नियुक्त गरिएको भन्दै चार दलले प्रदेश प्रमुख यादवकोसमेत आलोचना गर्दै आएका छन् ।

Advertisement