May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

पब्लिक कुरा

Advertisement

बुटवल, वैशाख २६

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यले हस्ताक्षरसहित प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि वैशाख ६ गते पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो । विपक्षी दलका सांसदहरुले दिएको समावेदनका आधारमा वैशाख १९ गते प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर, अधिवेशन सुरु हुने दिन नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर अधिवेशन अन्त्य गरेका थिए । लगत्तै उनले बहुमतको सरकारको दाबी गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले कडा सुरक्षाबीच मुख्यमन्त्री निवास पुगेर पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अविश्वासको प्रस्तावमा छलफल हुन नपाई प्रदेशसभामा यथावत रहेको र नेकपा एमालेका दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीको राजीनामा दिएका थिए । यस्तै, माओवादी केन्द्र रोज्ने बिमला खत्रीको निर्णयपछि प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत  सांसद एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको प्रदेश सरकार बन्न नसक्ने बताएका छन् ।

आफूहरुको पक्षमा बहुमत रहेको भन्दै चार दलले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दाबी बैधाजनक भएको बताएका छन् । यद्यपि प्रदेश प्रमुख दलहरुसँग परामर्श नगरी संविधान विपरित पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

प्रदेशसभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष आजै समावेदन दिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।