November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

लघुकथा : शान्ति काण्ड

Advertisement

ओहदाअनुसारको जागिर पाएपछि उसले पुराना फाइलहरू पल्टायो । बेवास्तामा परेका उजुरीहरूमध्ये ‘शान्ति काण्ड’ ले उसको ध्यान विशेष रूपमा खिच्यो । भोलिपल्टदेखि नै कारबाही अघि बढाउने निर्णय गर्‍यो ।

Advertisement

अनुसन्धान सुरु भयो । बैठक, अन्तर्वार्ता र छानबिन बढ्दै गए । मुद्दा झन् रहस्यमय बन्दै गयो । उसले शान्तिको पत्ता नलगाई नछोड्ने अठोट गर्‍यो ।

उसले घरघर चहार्‍यो, बस्तीबस्ती डुल्यो । मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बामा गुहार माग्यो । पाठशाला, गौशाला र मधुशालामा खोज्यो । विद्यालय, वेश्यालय र कार्यालयमा सोधपुछ गर्‍यो । तर शान्तिको अत्तोपत्तो लागेन ।

अन्ततः कसैले हिमालको फेदीमा रहेको एउटा झुप्रोतिर औँल्याउँदै भन्यो, “बेपत्ता हुनुअघि शान्ति अन्तिम पटक त्यही झुप्रोमा देखिएकी थिइन् रे !”

ढाका टोपीले पसिना पुछ्दै ऊ त्यतैतिर लाग्यो । बाटामा भेटिएका पुजारी, मुल्लाह, पादरी र भिक्षु सबैसँग सोधपुछ गर्‍यो । सबैबाट उस्तै जवाफ पायो “केही दशकअघि शान्तिलाई आफ्नै भाइहरूले बेपत्ता पारेका थिए रे !”

भिक्षुको पछि लागेर ऊ एउटा भिरसम्म पुग्यो । भनिन्थ्यो, त्यही भिरबाट शान्तिलाई खँदारेर उनका दुई भाइ बन्दुक बोकी जङ्गल पसेका थिए ।

उसको अनुहारमा निराशा देखेर भिक्षुले सान्त्वना दिए

“लास नभेटुन्जेल आस नछोड्नु भन्छन् । खोजी जारी राख, बाबु । जीवितै भए शान्ति अवश्य भेटिनेछिन् ।”

एकछिन रोकिएर भिक्षुले थपे

“बरु त्यतिन्जेल हिमालको फेदीको त्यो झुप्रो कुनै असल हातमा सुम्पिन पाए हुन्थ्यो !”

–sahityapost