प्रदीपको कपाल काट्ने सीप : पढाइसँगै कमाई पनि


भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिका–१, झारबैराका विसम्बर नाउको पेसा कपाल काट्ने हो । उनीमात्र होइन्, उनका बाउ–बाजेले पनि यही पेसा गरेर जीवन बिताएका थिए । विसम्बरले पुर्खादेखि चल्दै आएको पेशालाई निरन्तरतामात्र दिएका छैनन्, अहिलेको चलन अनुसार साजसज्जा र सुविधा थप गरेका छन् । जसले ग्राहक आकर्षित गर्न सहज भएको छ । ‘यो हाम्रो पुर्खौली पेसा हो,’ उनले भने, ‘तर, यतिमात्र गरेर खानलाउन पुग्दैन, खेतबारीमा काम गरेर भए पनि हातमुख जोड्नुपर्छ ।’
उनको बाल्यकाल पनि हाँसखेलसँगै घरायसी काम गरेर बित्यो । सँगसँगै उनले कपाल काट्ने काम सिक्दै गए । सुरुमा व्यवसायिक रुपमा पसल खोलेर कपाल काट्न पाएनन् । व्यवसाय सुरु नगरेका बेला उनी गाउँगाउँ, चोकचोक र घरघरमा गएर कपाल काट्थे । त्यसरी कपाल काटे वापत एक जनाको ३० रुपैयाँ लिन्थे । दिनभरि कपाल काटेर त्यहीँ तीन सय रुपैयाँ जति कमाउने गरेको उनले बताए । ‘यसरी दुुःख गरेर कमाएको पैसाले बालबच्चा पढाउनेदेखि औषधि खर्चसम्म चलाउँथेँ,’ उनले भने ।
लखरलखर डुल्दै कपाल काटेर कतिञ्जेल गुजारा चलाउन सकिएला भनेर उनको मनमा खुलदुली मच्चिरहन्थ्यो । धेरे सोचेपछि उनले गाउँमा सानो टंकी (काठको घुम्टी) बाट कपाल काट्न सुरु गरे । पहिले गाउँका डुलुवा नाउँ त्यसपछि पसले भए । उनले पेसा छाडेका छैनन् । झन परिस्कृत तुल्याउँदै लगेका छन् । उनीसँगै श्रीमती दुई छोर र दुई छोरीको आवश्यकता यहीँ पेशाको आम्दानीबाट पुर्याइरहेका छन् ।
जेठा छोरा प्रदीपले बुबाकै पदचाप् पछ्याएका छन् । ‘एक्लैको कमाईले घरखर्च चलाउन धौं–धौं थियो,’ विसम्बरले भने, ‘अहिले छोरा पनि सघाउन थालेपछि सहज भएको छ ।’ छोरा प्रदीपको कथा झन रोचक छ । १३ वर्षको उमेरमा प्रदीप कक्षा ७ मा पढ्थे । त्यहीबेलाबाट उनले कपाल काट्ने सिक्न थाले । उनका गुरु भने बिसम्बर हुन् ।
बुवाबाटै पटक कपाल काट्ने सीप सिके । एक वर्ष अवधिमै कपाल काट्न सिपालु भए । प्रदीपले श्री मलावरदेवी माध्यमिक बिधालयबाट ३.५० जीपीए सहित एसईई उत्तीर्ण गरेका हुन् । हरैया माध्यमिक बिद्यालयबाट १२ कक्षा पास गरे । अहिले उनी भैरहवा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्ष व्यवस्थापन संकायमा अध्ययनरत छन् । भैरहवा आएपछि उनले बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने सोच बनाए र ६ महिना कोरियन भाषाको कक्षा लिए । समय अपुग भएपछि भाषा कक्षा छाडेको बताए । ‘पहिला विदेश जाने सोच थियो,’ उनले भने, ‘त्यस्तो सोच त्यागेर यहीँ कमाउन थालेको छुँ ।’
अरुको कपाल काट्न सिपालु उनले आफ्नै कपाल नकाटेको भने ९ महिना पुग्यो । ‘आफैले आफ्नो कपाल काट्न मिल्दैन,’ उनले भने, ‘बाहिर जाने फुुर्सद पनि हुँदैन ।’ सिद्धार्थनगनर–१२, शान्तिनगरमा प्रदीपले हेयर ड्रेसर एन्ड जेन्स पार्लर सञ्चालन गरेका छन् । आफ्नै लगानीमा सैलुन खोल्नुअघि मामाको पसलमा काम गर्थे । त्यहाँ काम गर्दा कपाल काटे वापत पाइने ज्यालाको ६० प्रतिशत प्रदीपले पाउँथे । बचेको ४० प्रतिशत मामाको भागमा पथ्र्यो । मामाको पसलमा तीन वर्ष काम गरेपछि आफैले व्यवसाय थाल्ने निर्णय गरे ।
बचत गरेको रकम र आफन्तसित २५ हजार सापटी लिएर सपना साकार बनाएका छन् । एक लाख ७० हजार रुपैयाँ लगानी गरेर पसल सञ्चालनमा ल्याएको उनले बताए । पसलमा नियमित १५ देखि २० जना ग्राहक आउँछन् । कहिलेकाहीँ खाना खानसमेत नपाउनेगरि भीड हुने गरेको उनले बताए । ‘सीप सिकेर मुलुकमै केही गर्ने हो भने जति पनि कमाई हुँदोरहेछ,’ उनले भने, ‘म पनि दिनमा १५ सयदेखि २ हजार ५ सयसम्म कमाइरहेको छुँ ।’

महिनामा १२ हजार रुपैयाँ सटर भाडा छ । भैरहवा बसे पनि घरबाट चामल, दाल र भाँडाकुँडा ल्याएर आफैले पकाएर खान्छन् । सानो कोठामा रहेको खाटमा सिरानी, तन्ना छ । झुलले ओछ्यान छोपेका छन् । अधिकांश समय पसलमा बिताउँछन् । ‘निरन्तर ग्राहक आउँछन्,’ उनले भने,‘ घुमफिर गर्ने त समय हुँदैन ।’
घरबाट भैरहवा क्याम्पस २५ किलोमिटर दूरीमा छ । त्यसैले घरमा बसेर भैरहवा लेखपढ गर्न सम्भव छैन । प्रदीपलाई भैरहवा बस्दा दोहोरो मज्जा छ । एकातिर पढाई अगाढि बढाइरहेका छन् । अर्कोतर्फ कपाल काटेर कमाई पनि गरिरहेका छन् । यसबाट पढाई खर्चमात्र टरेको छैन । कहिलेकांही यहीँबाट परिवारका लागि घरखर्च पनि पठाइरहेका छन् । उनका बाबु बिसम्बर पनि हजुरबुबाबाट सुरु भएको पेसालाई निरन्तरता दिन पाउँदा हर्षित छन् ।
‘मेरो छोराले पनि यो सीपलाई सदुपयोग गरेको देख्दा खुसी लागेको छ,’ बिसम्बरले भने, ‘कुनै पनि काम सानो हुँदैन ।’ अहिले प्रदीपसँगै उनका ठूलो बुवाका छोरा अशान्त नाउँ पनि काम गरिरहेका छन् । कक्षा १२ उत्तीर्ण गरेका अशान्त कपाल काट्ने सीप सदुपयोग गरेर आयआर्जन गर्नका लागि भैरहवा आएका हुन् । अहिले उनी प्रदीपको पसलमै काम गरिरहेका छन् । त्यहाँ काम गरेवापत आम्दानीको आधा ज्याल पाइरहेका छन् । अहिले उनीहरु एक व्यक्तिको कपाल र दाह्री काटे वापत एक सय ५० रुपैयाँ ज्याला लिने गरेका छन् ।








लेखकको सम्वन्धमा