August 5, 2026, Wednesday
२०८३ श्रावण २१ बिहीबार

हाटबजारलाई स्थानान्तरण गर्ने सिद्धार्थनगर नगरपापलिकाको योजना अन्यौलमा

Advertisement

भैरहवा– सामुदायिक कृषि भवन अन्तर्गत सिद्धार्थनगर नगरपालिकामा निर्माण गरिएको पाँच तल्ले ‘ए ब्लक’ सामुदायिक कृषि भवनमा साप्ताहिक हाटबजारलाई स्थानान्तरण गर्ने नगरपालिकाको योजना अन्यौलमा परेको छ ।

Advertisement

अण्डरग्राउण्ड र लिफ्टसहितको पाँच तल्ले उक्त भवनमा हाटबजारमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी तथा कृषक जान नमानेपछि नगरपालिकाको यो योजना अन्यौलमा परेको हो । व्यवसायी तथा कृषकले हाट बजार सञ्चालनका लागि उक्त भवन उपयुक्त नहुने भन्दै अन्य बिकल्पको खोजी गर्नु पर्ने जवाफ नगरपालिकालाई दिएका छन् ।

उक्त भवन सञ्चालन गर्नका लागि नगरपालिकाद्वारा गठित ए ब्लक भवन सञ्चालन व्यवस्थान उपसमिति र हाटबजार व्यवसायी संघका पदाधिकारी बिच धेरै पटक छलफल भएको थियो । व्यवसायीहरुले त्यहाँ जान अनिच्छुक रहेको जवाफ दिएका छन् ।

‘हाटबजार सञ्चालनका लागि उक्त भवन उपयुक्त छैन भन्ने निष्कर्ष सम्पूर्ण हाटबजारका व्यवसायीले निकालेकाले हामीले त्यही जवाफ नगरपालिकालाई दिएका छौं’, संघ का अध्यक्ष हुमाराम पोखरेलले पब्लिक कुरासँग भने, ‘हाटबजार सञ्चालनका लागि कुनै पनि भवन र कुनै सपिङ मलभित्र भन्दा खुल्ला आकाशमुनिकै बातावरण उपयुक्त हुन्छ ।’ उनका अनुसार, पन्ध्र–बीस मुठा साग लिएर बिक्रीका लागि हाटबजारमा बस्ने कुनै किसान तथा व्यापारीलाई तीन–चार तल्ला माथि भाडा तिरेर व्यवसाय सञ्चालन गर्न सम्भव छैन ।

यस बिषयमा व्यवसायी संघले भैरहवाको हाटबजारमा आवद्ध सयौं व्यवसायीसँग छलफल गरेर हाटबजार सञ्चालनका लागि नगरपालिकाले कुनै उपयुक्त स्थलको खोजी गर्न र उक्त भवन सञ्चालनमा अन्य बिकल्पको खोजी गर्न सुझाव दिएको छ ।

११ करोड १७ लाख रुपैयाँ खर्चिएर बनाइएको उक्त भवन सञ्चालनमा आउन नसकेर बर्षौंदेखि अलपत्रमा परेपछि पछिल्लो समय नगरपालिकाले हाटबजारमा अव्यवस्थित रुपमा छरिएर रहेका कृषि उपजलाई एकै स्थलबाट उपलब्ध हुने गरि हाटबजार स्थानान्तरण गरी भवनलाई सञ्चालनमा ल्याउन सकिने उपायको खोजी गर्न एउटा उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिको संयोजक सिद्धार्थनगर–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठ छन् । व्यवसायी उक्त भवनमा स्थानान्तरण हुन नमानेपछि भवनलाई अव कसरी सञ्चालनमा ल्याउने ? भन्ने वारेमा स्वयम् उपसमिति नै अन्यौलमा छ । भवन सञ्चालनमा ल्याउने वारेमा उपसमितिसँग तत्काल अन्य केही बैकल्पिक उपाय तथा योजना पनि छैनन् ।

‘उक्त भवनमा हाटबजारका व्यवसायी जान नमाने पछि हाललाई हाटबजारलाई स्थानान्तरण गर्ने योजना स्थगित भएको छ’, उपसमितिका संयोजक श्रेष्ठले भने, ‘यस वारेमा अव एउटा प्रतिबेदन तयार पारेर नगरपालिकाको बोर्ड बैठकमा पेस गर्ने छौं । उक्त भवनलाई अव कसरी सञ्चालन गर्ने ? भन्ने बैकल्पिक योजना पनि बोर्ड बैठकले नै निकाल्छ ।’

उपसमितिका सदस्य तथा वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले हाटबजारलाई उक्त भवनमा स्थानान्तरण गर्ने बिषयमा व्यवसायीहरुसँग छलफल चलिरहेको वेलामा जेनजी आन्दोलनबाट भवन तोडफोड भएपछि छलफल प्रक्रियामा केही सुस्तता आएको बताए । ‘उक्त भवनमा व्यवसाय स्थानान्तरण भएपछि केही पैसा तिर्नु पर्ने भएकाले उनीहरु नमानेका हुन्’, गुरुङले भने, ‘हाटबजारलाई त्यहाँ स्थानान्तरण गर्ने बारेमा व्यवसायी नमाने पनि बैकल्पिक उपाय खोजिएको छ ।’ तर, उनले कस्तो खालको बैकल्पिक उपाय हो ? भन्ने वारेमा भने केही खुलाएनन् ।

भवन सञ्चालनका लागि तीनपटक ठेक्का आह्वान गर्दा पनि नगएपछि सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले समिति गठन गरेर पहल गरेको थियो । उक्त भवनको भुइँ तल्लामा तरकारी बजार, पहिलो तल्लामा खाद्यान्न, दोशस्रो तल्लामा लत्ताकपडा, तेस्रो तल्लामा इलेक्ट्रोनिक सामानको बिक्री स्थल बनाएर सञ्चालन गर्ने योजनामा थियो ।

हाटबजारका व्यवसायी त्यहाँ जान नमानेपछि बिकल्पको रुपमा अव सुरक्षा व्यवस्था मिलाएर गहना तथा सुन व्यवसायीलाई लैजाने ? वा केही समय हाटबजारका व्यवसायीलाई नै निःशुल्क उपलब्ध गराउने ? वा कुनै बस्तु बिशेषको बिक्री स्थलको रुपमा प्रयोग गर्ने ? भन्ने बारे नगरपालिकाको बोर्ड बैठकमा सामान्यतया छलफल चल्ने गरे पनि टुँगो लागेको छैन।

नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले यस वारेमा आफू अनभिज्ञ रहेको बताए । ‘नगरपालिकाको बोर्ड बैठक नबसेको लामो समय भयो’, यादवले भने, ‘बोर्ड बैठक संचारमाध्यमबाट लाइभ प्रशारण गर्ने व्यवस्था नमिलाएसम्म बैठकमैं सहभागी नहुने अडान मेरो छ ।’