२५ वर्षदेखि पिज्जाको स्वाद


भैरहवा– रुपन्देहीको भैरहवाका टमप्रसाद गुरुङ भारतीय सेनाका कार्यरत थिए । उनकी पत्नी आशमाया परिवार रेखदेखमै व्यस्त थिइन् । टमप्रसादले भारतीय सेनाबाट अवकाश प्राप्त गरेपछि के गरौं, कसो गरौं ? भइरह्यो । फौंजी जीवनको तलतल मेटाउन कुनै नयाँ कामको थालनी गर्ने सोंचमा थिए । अवकाश प्राप्त गरेपछि केही समय काठमाडौंमा बसेर रेष्टुरेन्ट सञ्चालन गरे । काठमाडौंमा व्यवसाय सुरु गरे पनि टमप्रसाद र आशमायाको मन भैरहवामै थियो । यहीबेला भैरहवास्थित पिज्जाकिङ्ग रेष्टुरेन्ट विक्रीमा रहेको जानकारी पाएपछि गुरुङ दम्पतीले खरिद गरे ।
‘घरपाई चलेको रेष्टुरेन्ट खरिद गरेर भैरहवा आयौं,’ ६० वर्षीया आशमायाले भनिन्, ‘यही रेष्टुरेन्टले भैरहवामा पिज्जाको सुरुवात गरेको हो । त्यतिबेला अहिलेजस्तो आधुनिक भाँडाकुँडा थिएनन् । परम्परागत तरिकाले एउटै साइजको पिज्जा तयार गरिन्थ्यो ।’ त्यतिबेला तत्कालीन सरकार–माओवादी द्वन्द्व उत्कर्षमा थियो । राजनीतिक दलहरु दैनिक प्रदर्शन गर्थे । लामो समयसम्म बन्द–हड्ताल आव्हान गरिन्थ्यो ।
‘जिल्ला प्रहरीको छेउमा हाम्रो रेष्टुरेन्ट थियो,’ उनले भनिन्, ‘प्रहरीले सोझ्याएको बन्दुकको निशाना हाम्रो पशलतिर हुन्थ्यो ।’ त्यसबेला भैरहवामा रेष्टुरेन्ट धेरै थिएनन् । पुष्पदीप, टप एन्ड टाउन, परेली खाजा घरमा भीड हुन्थ्यो । पशुपति लज सञ्चालनमा थियो । यो भैरहवाकै पुरानो लज हो । ‘पिज्जाकिङ नाम सुनेरै ग्राहक पस्थेनन्,’ उनले भनिन्, ‘धेरैले नयाँ परिकार पक्कै महंगो होला भन्ठान्थे ।’ तर, पिज्जा चाख्न भनेर टाढाटाढाबाट ग्राहक आउँथे । बिस्तारै पिज्जा, मःमः, चाउमिन, चिकनचिल्ली खाने ग्राहकको ओइरो लाग्न थाल्यो ।
‘सुरुमा ७–८ जना कर्मचारी थिए,’ उनले भनिन्, ‘डेढ वर्षपछि १५ जना कर्मचारी पुर्याइयो ।’ सुरुमा रेष्टुरेन्ट रहेको घरभाडा १० हजार रुपैयाँ प्रतिमहिना थियो । ‘हामीले १० हजार भाडा तिर्दा जिव्रो टोक्ने धेरै थिए,’ ६५ वर्षीय टमप्रसादले भने, ‘पछि त्यही घरको ५० हजारसम्म भाडा तिरेका थियौं ।’ रेष्टुरेन्ट चलाउन त्यसबेला गरेको मिहेनत सम्झिँदा पनि कहाली लाग्ने आशमाया बताउँछिन । रेष्टुरेन्टका लागि आवश्यक ओभन, फ्रिज, चम्चा, पिलेटदेखि खाद्यान्न आफैं खरिद गर्थिन् । भान्छामा चाहिने सबै सामाग्री जुटाएपछि ग्राहकको खुसी र दुखेसो सुन्थिन् ।
‘टमाटरको शसपनि आफैं बनाउँथ्यौं,’ उनले सम्झिइन्, ‘बिहानै उठेर टमाटर धोइपखाली पकाएर पिज्जालाई चाहिने शस तयार गथ्र्यौ ।’ बिहान आएदेखि राति ११ बजेसम्म खटिने गरेको उनले बताइन् । उनका अनुसार रातभरि रेष्टुरेन्ट झलल बलिरहन्थ्यो । दिनमा हजार जना ग्राहक आउँदा पनि समस्या झेल्नु परेन । ‘मन्दिर हो कि रेष्टुरेन्ट थाहा हुन्थेन,’ आशमायाले भनिन्, ‘अचाक्ली मदिरा सेवन गर्न पनि दिइएन । पियक्कडलाई मायाले सम्झाएर घर पठाउँथे । कसैले मसित नमिठो व्यवहार गरिहाले अर्कोदिन आएर आमा माफी दिनुस् भन्थे ।’ भैरहवामा डेरा गरेर बस्ने विद्यार्थी घर जाँदा भेटेर जान्थे । घरबाट फर्किपछि भेटन आउने गरेको उनले बताइन् ।
पतिको सैनिक स्वभाव र नेपाली बजारबारे धेरै जानकारी नभएकाले केही वर्ष आवश्यक सरजाम र किनमेलका काम आफैले गरिन् । रेष्टुरेन्टका आवश्यकता पूर्ति र सूविधा बढाउन कृषि बिकास बैंकबाट ८ रुपैयाँ ऋण लिइन् । ‘राति ११ बजेसम्म आफै बसेर जम्मा भएको पैशाजति बैंक, स्टाफ, खाद्यान्न, उद्यारो चुक्ता र नाफा गरेर भाग लगाउँथे,’ उनले भनिन्, ‘बेलैंमा ऋण चुकाएपछि कृषि बिकास बैंकले पनि अशल ऋणि भनेर सम्मान गर्यो ।’ बैंकको ऋण चुक्ता गरेपछि किनमेलको जिम्मा पति टमप्रसादलाई सुम्पिइन । उनले पनि साइकलमा पशलमा चाहिने समान ओसार्न थाले । खाद्यान्न धेरै खपत हुन थालेपछि किनमेल सहज तुल्याउन स्कुटर खरिद गरेको सुनाए ।
कुमार र अरुणाको काँध
टम र आशमायाको लगनबाट प्रभावित कान्छा छोरा कुमार र बुहारी अरुणाले रेष्टुरेन्टको काममा सघाउन थालिसकेका थिए । उनीहरु दिनरात नभनी बुवा–आमालाई सहयोग गर्थे । ‘हाम्रो रेष्टुरेन्ट पुरानो शैलीको थियो,’ अरुणाले भनिन्, ‘आधुनिक सजावट थिएन ।’ समयसँगै रेष्टुरेन्टको सजावट परिमार्जन गर्नुपर्छ भनेर २०७५ सालमा नयाँ ठाउँमा सरेको उनले बताइन् । ८० लाख खर्च गरेर नयाँ ठाउँमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको पहिलो वर्ष ग्राहकको भीड लागेको अरुणाले सुनाइन ।

‘एकवर्षपछि कोरोना महामारी सुरु भयो,’ उनले भनिन्, ‘अहिले अगाडि–पछाडि गरेर ६० जना अट्छन् ।’ अहिले पनि सप्ताहन्तमा सांगितिक प्रस्तुति हुन्छ । जन्मदिन, विवाह वर्षगाँठका कार्यक्रम धेरै हुन्छन् । ‘हाम्रो पिज्जा खाएर हुर्किएको पुस्ता रुपन्देहीभरि छन्,’ कुमारले भने, ‘बिदेशमा रहेकाले पनि अर्डर गरेर आफ्नो घरमा पठाउँछन् ।’ हङकङ, बेलायत, युरोप, अमेरिकामा रहेका व्यक्तिले अनलाइनबाट पैशा पठाएर खानेकुरा घरमा पुर्याउन लगाउने उनले बताए ।
सिमावर्ती भारतीय सहर सुनौंली, नौतनवा र गोरखपुरबाट नियमित ग्राहक आउँछन् । ‘युनिभर्सल मेडिकल कलेजमा अध्ययन गर्ने भारतको केरलाका विद्यार्थीको ओइरोनै लाग्थ्यो,’ आशमायाले भनिन्, ‘काठमाडौंबाट पनि अर्डर गर्छन् ।’ रेष्टुरेन्टले ‘होम डेलिभरी’लाई प्राथमिकता दिएको छ । उत्तरमा रुपन्देहीको मणीग्राम, पश्चिममा बेथरी, पूर्व रोहिणी र दक्षिण भारको सुनौंलीसम्म खाना पुर्याउने व्यस्था गरेको छ । ‘भैरहवाभन्दा बाहिर खाना पुर्याउन आफैं जान्छु,’ कुमारले भने, ‘भैरहवाभरि निःशुल्क डेलिभरि सुविधा छ । त्यहाँभन्दा बाहिर जानु पर्यो भने केही शुल्क लाग्छ ।’
दत्तचित्त भएर व्यवसायमा लागेकी आशमाया र टमप्रसादले नयाँ ठाउँमा रेष्टुरेन्ट सरेपछि व्यवसाय छोराबुहारीको जिम्मा लगाए । अहिले कुमार र अरुणा ग्राहक सेवामा खटिन्छन् । कर्मचारी अपुग भएका दिन कुमार आफैं वेटरको काम गर्छन् । भान्छामा सेफ नभएका दिन अरुणाले परिकार तयार गर्छिन् । ‘भीड भएका कुमारले वेटर र मैले कुकको काम गछौं,’ अरुणले भनिन्, ‘टाढासम्म होम डेलिभरीको काम कुमारले नै गर्छन् ।’ अहिले रेष्टुरेन्टमा १२ जना कामदार छन् । यही रेष्टुरेन्टमा काम सिकेर धेरैजना बैदेशिक रोजगारीमा गइसकेका छन् । ‘यहाँबाट काम सिकेर गए विदेशमा राम्रो जव पाउँछन,’ कुमारले भने, ‘त्यसैले हामीले काम सिकाउने गरेका छौं । यही बस्नेलाई पनि ठिकै छ । जानेलाई रोक्न सक्दैनौं ।’
यसरी भएको थियो सुरुवात
भैरहवाका आशा गुरुङले २०५८ सालमा भैरहवामा पिज्जा किङ्ग रेष्टुरेन्ट सुरुवात गरे । त्यसपछिमात्र स्थानीयले पिज्जा भनेको के होला र कस्तो होला ? सोधखोज गर्न थालेका थिए । ‘पिज्जा के हो ? कसरी खाने भनेर दिनमा २५ देखि ३० कल आउथे,’ आशाले भने, ‘पिज्जा खान २० किलोमिटर टाढाबाट पारखी आउँथे ।’ सन् १९९१ मा बैदेशिक रोजगारीमा जर्मनी गएका बेला दुई वर्ष पिज्जा रेष्टुरेन्टमा काम गरेर पकाउन र डिलिभरि गर्न सिकेको उनले बताए । जर्मनीमा फोनबाट अर्डर गरेको २५ मिनेटभित्र पिज्जा घरमै पुर्याउने गरिन्थ्यो ।
त्यसभन्दा ढिलो भए निःशुल्क सेवा दिनुपथ्र्यो । त्यहाँ काम सिकेर मुलुक फर्किएपछि भैरहवाको मुटुमा १५ सय रुपैयाँमा सर्टर भाडामा लिएर व्यवसाय सुरु गरेको उनले बताए । ‘यहाँ कलर आइडी र मोवाइल फोन थिएनन,’ उनले भने, ‘तैपनि ३० मिनेटरभित्र पिज्जा घरमै पुर्याउनेगरि सेवा सुरु गर्यौं ।’
घरसम्म सेवादिन दुईवटा स्पेलेन्डर मोटरसाइकल व्यवस्था गरेको उनले बताए । सुरुमा ओभन अभावमा तावामा पिज्जाको बेश तयार गरेर माइक्रो ओभनमा पकाउने गरेको उनले जनाए । त्यसबेला युनिभर्सल मेडिकल कलेजमा दक्षिण भारतका विद्यार्थी धेरै थिए । उनीहरु पिज्जा र बर्गर पारखी थिए । ‘त्यसबेला ८० प्रतिशत ग्राहक भारतीय विद्यार्थी हुन्थे,’ उनले भने, ‘पिज्जा प्याक गर्ने डिब्बा पनि पाउँथेन ।’ सुरुमा १ सय २० देखि ९० रुपैयाँमा पिज्जा विक्री हुन्थ्यो । त्यसबेला दैनिक १० हजार रुपैयाँको विक्री हुन्थ्यो । त्यहीबेला मुलुकमा सशस्त्र द्वन्द्व चर्कियो । ‘घर–घरै सेवा पुर्याउन नसक्ने अवस्था बन्यो,’ उनले भने, ‘कामदार पाउन सकिएन ।’ त्यसपछि सिद्धार्थनगर–१२, मा रहेको रेष्टुरेन्ट करिब ४ वर्ष उनले सञ्चालन गरेर विक्री गरे ।








प्रतिकृया दिनुहोस्