सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?


भैरहवा– भौगोलिक हिसावले रुपन्देही सिद्धार्थनगर नगरपालिका सानो छ । तर, विकासका हिसावले मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचन पछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा धेरै सकारात्मक काम भइरहेका छन् । हुनतः नगरले गरिरहेका काममा केही असन्तुष्टिहरु समेत छन् । यद्यपि सकारात्मक पहल भने धेरै भएको देखिन्छ ।
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नगरबासीको भावनाअनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सुशासनका क्षेत्रमा काम भइरहेको जनाएका छन् । भैरहवामा आयोजित एक बहस कार्यक्रममा बोल्दै उनीहरुले दीर्घकालीन योजना बनाएर नगरपालिकाले काम गरिरहेको बताए । नगर प्रमुख इश्तियाक अहमद खाँले नगरलाई अधिकतम प्रबिधिमैत्री बनाउने प्रयास भएको जनाए । ‘राजश्व भुत्तानी अनलाइन मार्फत गराइएको छ, नगरका मुख्य चोकहरुमा फ्रि वाईफाई जडान गरिएको, मोबाइल एप निमार्ण गरी फोहोर संकलन गर्ने गरिएको छ’, उलने भने, ‘नगरको सुरक्षा एवं दुर्घटना न्युनीकरणका लागि अटोमेटिक नम्वर प्लेट रेकर्डर सिस्टम तथा नगरका बिभिन्न भागहरुमा सिसिटीभी क्यामरा जडान गरिएको छ ।’
उज्यालो सहर बनाउने उद्देश्य अनुसार स्मार्ट लाइट तथा सडक बत्ती जडान गरिएको उनले सुनाए । नगरको सुन्दरीकरणका लागि नियमित सरसफाई र बृक्षरोपण गरिएको, विद्यालयमा डिजिटल कक्षा निमार्ण गरिएको खाँले जनाए । ‘हामीले सिद्धार्थनगरको दीर्घकालीन योजना अनुसार डण्डा र घाघरा कोरिडोरलाई मूर्तरुप दिने गरी काम गरिरहेका छौं’, उनले भने, ‘यदि यो योजनाले मूर्तरुप पायो भने सिद्धार्थनगरको मुहारै फेरिन्छ ।’
उनका अनुसार कोरिडोर पर्यटट लक्षित हुनेछ, जहाँ मनोरंजनात्मक कार्यक्रमसहितका आकर्षक पार्क, मैदान, पानीको फोहोरा हुनेछन् । जसले यहाँ आउने पर्यटकले कम्तिमा एक रात भैरहवामा विताउन सक्नेछन् । खाँले सिद्धार्थनगर पर्यटकीय सहर भएको जनाउँदै लुम्बिनीलाई केन्द्रमा राखेर संघ र प्रदेश सरकारले प्रबद्र्धनात्मक कार्यक्रम गर्न सुझाव दिए । ‘भारतमा महाकुम्भ मेला लाग्दा त्यहाँका प्रधानमन्त्री र मुख्यमन्त्रीले नै प्रबद्र्धनात्मक अन्तर्राष्ट्रिय अभियान चलाए’, उनले भने, ‘हाम्रोमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मुख्यमन्त्रीहरुले त्यस्तो काम किन नगर्ने ? लुम्बिनीको मात्रै प्रबद्र्धन गरेर लाखौं बौद्धिष्ट यहाँ आउँछन् ।’
बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाकामा प्रवेशद्वार निमार्ण, लक्षित बर्गमा आयआर्जनमूलक कार्यक्रम संचालन गरिएको उनले सुनाए । नेपाल नगरपालिका संघले तयार गरेको ५० वटा सूचकांकहरुमा नेपालकै सबैभन्दा धेरै अंक प्राप्त गरी प्रथम स्थान हासिल गरी सम्मानित समेत भएको खाँले स्मरण गरे । फोहोर व्यवस्थापनमा दण्ड जरिवाना, डण्डा कोरिडोर, फराकिला सडक, पूर्वाधारमा विकास, अटो–टेम्पो व्यवस्थापन, मेयर आवास कार्यक्रम चलाई विपन्नलाई घर बनाइदिएको जस्ता उल्लेख्य काम भएको जनाए ।
नगर उपप्रमुख उमा अधिकारीले बिपत व्यवस्थापनतर्फ खानेपानीका पाइपहरु भएका स्थानमा आवश्यकता अनुसार फायार हाइड्रहरु जडान गरिएको, छाडा चौपाय व्यवस्थापन, बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाकामा आकर्षक गेट निमार्ण गरिएको जनाइन् । बजार अनुगमन प्रभावकारी गराइएको र शैक्षिक सुधारमा राम्रा प्रयास भएको र त्यसबाट परिणा समेत आएको जनाइन् । ‘सडक बन्नु मात्रै विकास होइन्’, उनले भनिन्, ‘हाीमले मानवीय विकासलाई पनि प्राथमिकतामा राखेका छौं ।’ उनले विगतमा फोहोर व्यवस्थापनमा राजनीति भएको स्मरण गर्दै मानवीय विकास यसको कारण भएको उल्लेख गरिन् ।
उनले लक्षित बर्गमा आयआर्जनमूलक कार्यक्रम संचालन गरी उद्यमशीलता विकास गरिएको बताइन् । ‘हामीले संचालन गरेका कार्यक्रम प्रभावकारी हुँदा धेरै महिला दिदीबहिनी रोजगार र उद्यमी बन्नु भएको छ’, उनले भनिन् । अधिकारीले न्यायिक समितिले न्यायिक निरुपणमा समेत राम्रो काम गरेको सुनाइन् ।
प्रमुख प्रशासकीय अधिकृत जनक थापाले अटोभिलेज व्यवस्थापन, फुटफाथ र पार्किङ व्यवस्थापनमा लागिएको जनाए । उनले जनप्रतिनिबीच सन्तुलन कायम गरी न्युन आम्दानीबीच विकास र सुशासन अगाडि बढाइएको, नगरलाई शान्त, सभ्य, सुन्दर, स्वच्छ, स्वस्थ र समृद्ध पर्यटकीय बुद्ध नगरीका रूपमा विकसित गगर्न लागि परेको जनाए । ‘फोहोर व्यवस्थापन, शहरी सुद्धिकरण तथा सबै वडाहरूमा समानुपातिक विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन क्षेत्रको समुचित विकास, बेलहिया नाका थप सुदृढ गरिएको छ’, उनले भने । उनले उनले करको दर नभई दायर बढाएको जनाउँदै सुशासन र ढिलासुस्तीलाई शून्यमा झार्ने गरी काम गरिरहेको बताए । कसैले गलत गरे कारबाही गर्ने चेतावनी समेत थापाले दिए ।
भौतिक पूर्वाधार विकास, फराकिला सडक, मुख्य सडक हरियाली, मुलुककै दोस्रो ठूलो भन्सार नाका, मुलुककै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, स्तरीय होटल, निर्धाणाधीन आईसीपी, मुलुकमै सबैभन्दा बढी स्थलमार्गी पर्यटक भित्रिने बेलहिया नाका, गल्लाभण्डार, ठूला औद्योगिक घरनाका व्यवसायीको बसोबास भएकाले सिद्धार्थनगर धेरैको नजरमा पर्छ । यसैले पनि यहाँको समुचित र व्यवस्थित विकास सबैको अपेक्षा छ । जनप्रतिनिध र कर्मचारी एकढिक्का भएर काम गरेकाले नगरको मुहार फेरिँदै गएको उनीहरुले जनाए ।
सिद्धार्थनगर नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रका रूपमा स्थापित छ । वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । १३ वटा वडा रहेको नगरपालिकाको मुल जनसंख्या ७४ हजार ४३६ छ भने घरधुरी १५ हजार ८७१ छ । कुल साक्षरता ८६.१ प्रतिशत छ । जसमा पुरुष साक्षरता दर ९२.५ प्रतिशत र महिला साक्षरता दर ७९.८ प्रतिशत छ । प्राकृतिक स्रोत अभावमा आन्तरिक आम्दानी कम भएको भन्दै सिद्धार्थनगरलाई हरेक जसो निर्वाचनमा उपमहानगर बनाउन दलहरुले एजेण्डा बनाउँछन् । तर, जितेपछि पहलै गर्दैनन् । तर, नगर प्रमुख खाँ र उपप्रमुख अधिकारीले यसबारे पहल भइरहेको बताए ।
एशियाली विकास बैंक (एडीबी)को सहयोगमा सडक, ढल, नाला तथा नगर सुन्दरीकरणका लागि काम सुरु हुन लागेको उनीहरुले जनाए । यसका लागि ठेक्का भइसकेको छ । स्वास्थ्यतर्फ निःशुल्क स्वास्थ्य शिविर, आँखाको मोतीयाबिन्दुको शल्यक्रिया, निःशुल्क रगतका लागि रेडक्रससँग सम्झौता गरिएको जनाए ।








प्रतिकृया दिनुहोस्