April 22, 2025, Tuesday
२०८२ बैशाख ९

नयाँ वर्षमा लुम्बिनी प्रदेशका कहाँ–कहाँ घुम्ने ?

भैरहवा– यहाँका तराई–पहाडका आकर्षक गन्तव्यमा पाहुनाका लागि आवश्यक पूर्वाधार विकास गरेर पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न सके लुम्बिनी प्रदेशले समृद्धि हासिल गर्न सक्ने धेरै आधार देखिएका छन् । प्रदेशमा विश्वस्तरीय पर्यटकीय केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी छ । यसैलाई केन्द्र मानेर प्रदेशमा पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

Advertisement

बुद्धलाई निकञ्ज तथा वनसित जोडेर यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउने विषयमा बहस भइरहेको छ । यहाँ लुम्बिनीका साथै बर्दिया, बाँके निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष छन् । त्यसबाहेक एक दर्जनभन्दा बढी धार्मिक गन्तव्य छन् । प्रदेशमा बाह्रैमास चहलपहल गराउन एकीकृत विकास जरुरी छ ।

लुम्बिनीमा पाल्पाको भैरवस्थान, गुल्मीको रिडी, अर्घाखाँचीको सुपादेउराली, चरिङ्गे दह, भोटेदह, चमेरे गुफा, बराह मन्दिर लगायतका पर्यटकीय गन्तब्य प्रशस्त छन् । यी गन्तव्यलाई लुम्बिनीसँग जोडेर यहाँ आउने पर्यटकलाई ती स्थान र त्यहाँ पुग्ने पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउन सकेमात्रै पर्यटन क्षेत्रले फड्को मार्ने व्यवसायी बताउँछन् । यसका लागि यो नयाँ वर्ष २०८२ मा यी ठाउँ घुमौं ।

लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनी लुम्बिनी प्रदेशको मात्रै नभई मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । बुद्ध जन्मस्थल भएकाले यहाँ धर्मावलम्बीसँगै विश्वभरिका शान्तिप्रेमी आउने गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र उत्कृष्ट स्थल मानिन्छ । गौतम बुद्धको बारेमा सबैकुरा थाहा पाउन यहाँ आएपछि सहजै सकिन्छ । लुम्बिनी सडक तथा हवाई मार्गबाट सहजै पुगिन्छ ।

विश्वभरका बौद्ध धर्मावलम्बीहरु एकपटक जसरी पनि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका साथ यहाँ घुम्न आउने गर्दछन् । कोरोना महामारी अघि यहाँ वार्षिक १६ लाखको हाराहारी आन्तरिक तथा बाह्य पर्यटक आउँथे । कोरोपछि आन्तरिक र बाह्य गरी ११ लाख हाराहारी पर्यटक आउने गरेका छन् । प्रदेश राजधानी दाङबाट ९० किलोमिटर दूरीमा लुम्बिनी पर्छ । यहाँ पवित्र मायादेवी मन्दिर, विभिन्न गुम्बा र बुद्ध मूर्ति देख्न सकिन्छ । पवित्र उद्यान भित्र बनेको केन्द्रिय नहरमा बोटिङको व्यवस्था छ । यहाँ आकर्षक बगैँचा समेत छ ।

बाह्रैमास बलिरहने शान्ति दीपले यहाँको वातावरणलाई झनै मनमोहक बनाएको छ । सरकारले लुम्बिनीको एकीकृत विकास गर्ने योजना अघि सारेको छ । बृहत्तर लुम्बिनीको एकीकृत विकासबाटै पर्यटक भित्र्याउने योजना बनाएको विकास कोषले जनाएको छ । लुम्बिनीको सामिप्यतामा गौतमबुद्ध विमानस्थल छ । यसले यात्रालाई अझै सहज बनाइदिएको छ । लुम्बिनी पुग्न चारैतर्फ फराकिला सडक छन् ।

स्वर्गद्वारी
धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी प्यूठान जिल्लामा पर्छ । यहाँ नपुग्ने हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुँदैन भन्ने विश्वास गरिन्छ । प्रदेश राजधानी दाङबाट करिब ७० किलोमीटरको दूरी यात्रापछि पुग्न सकिन्छ । यो अग्लो लेकमा पर्छ । परापूर्वक कालमा ऋषिमुनिहरुले यसै ठाउँमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्वारी राखिएको किम्बदन्ती छ । यो नेपालकै पवित्र धामहरु मध्यको एक धाम पर्छ । यहाँ रहेका मठमन्दिरमा पूजाआजा गर्न श्रद्धालुको भीड लाग्छ ।

यहाँ जाने जो कोहीलाई स्वर्गद्वारी प्रभूका पाइला, गुफा र मठमन्दिरले मनै लोभ्याउँछ । यहाँबाट हिमशृङ्खला समेत देख्न सकिने भएकाले यो निकै महत्वपूर्ण क्षेत्र हो । खासगरी यो धाम भारतीय पर्यटकको आकर्षक स्थल मानिन्छ । सडकमार्ग सहज भए यहाँ वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने बताइन्छ । यहाँ बार्षिक करिब २ लाखको हाराहारीमा पर्यटक पुग्छन् । खासगरी बैशाख र कार्तिक पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ । यस्तै, प्यूठानमा प्रत्येक वर्ष माघ १ गते मेला लाग्ने अर्को धार्मिक स्थल गौमुखी पनि छ । यहाँ रहेको गुफामा नुहाउन धेरै पुग्छन् । यहाँ नुहाएर वर मागे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
पर्या पर्यटन तथा जंगल सफारीका लागि महत्वपूर्ण मानिने बर्दिया निकुञ्ज लुम्बिनी प्रदेको सबैभन्दा ठूलो निकुञ्ज हो । बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आकर्षण मानिन्छ । यहाँ कोरोना सुरु हुनु अघिल्लो वर्षमा मात्रै करिब ५० हजार पर्यटक पुगेका थिए । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्जमा पर्छ । यहाँ ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरु भएको बताइन्छ ।

यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, जरायो, चित्तल, चितुवा, घोडगधा, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत छन् । जलचरहरुमा घडियाल गोही, मगर गोही, सोंस र थरिथरीका माछा छन् । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ । जंगली जनावर हेर्न, चराचुरुङ्गीको आवाजसँग रमाउने विदेशीहरु विगतमा यहाँ बढी आउने गरेका छन् । सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई एकपटक घुमाउन सक्ने हो भने यो निकुञ्ज नेपालकै मुख्य गन्तव्य बन्न सक्छ । पर्यटकको बसाईँ लम्ब्याउन यो निकुञ्ज निकै महत्वपूर्ण मान्छि । यहाँ आउने पर्यटक कम्तिमा २ दुई दिन यतै भुल्छन् । यहाँका होटल उत्कृष्ट ठाउँ हुन् ।’

बाँके राष्ट्रिय निकुञ्ज
बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा इकोसिष्टम, वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरु, विभिन्न प्रकारका चरा, माछा तथा सरीसृप तगायतका उभयचरहरु छन् । यो निकुञ्ज पर्या पर्यटन तथा एक पर्यटकीय स्थल हो । पूर्वमा शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ तथा हात्तीको बासस्थान पर्याप्त छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत छ । यहाँ प्रचारप्रसारको अभावमा न्यून पर्यटक पुग्ने गरेका छन् । यदि सरकारले यहाँको प्रबद्र्धन गरी लुम्बिनी तथा अन्य निकुञ्ज र धार्मिक स्थलसँग जोडेर विकास गरेमा पर्यटक अधिक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।

रानीमहल
पाल्पामा रहेको रानीमहल नेपालको ताजमहल भनेर चिनिन्छ । सफा, स्वच्छ वातावरण र जताततै हरियालीले यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउँछ । कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित रानीमहलमा चल्ने सिरसिरे हावाले झनै आनन्द थपिदिन्छ । यहाँ खासगरी आन्तरिक पर्यटकको आकर्षण छ । पूर्वाधार अभाममा पर्यटक पुग्न सकेका छैनन् ।

चारैतिर पहाडले घेरिएको र नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहल भन्दा निकै राम्रो भएको दावी गरिन्छ । मानव निर्मित रानीमहल प्रकृतिले सजिएको सुन्दर बगैँचासरी छ । यो ठाउँमा प्रेमको प्रतीक पनि मान्छि । यसको नजिकै रहेको श्रीनगरले पनि पर्यटकको मन तान्ने गरेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ्रे, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।