गौतमबुद्ध विमानस्थलः साढे ३१ महिनामा ७२९ अन्तर्राष्ट्रिय उडान, दिगो संचालनमा चुनौति कायमै


भैरहवा– यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन यता ७ सय २९ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानबाट ४५ हजार ५७३ यात्रु उडान–अवतरण गरेका छन् । २०७९ जेठ २ गते बुद्ध पूर्णिमादेखि विमानस्थलबाट व्यावसायिकरुपमा अन्तर्राष्ट्रिय उडान खुला गरिएको थियो । विमानस्थलका अनुसार संचालन यताको साढे ३१ महिनामा २१ हजार २७९ जना यात्रु भैरहवा ओर्लिएका छन् भने यहाँबाट २४ हजार २९४ यात्रु उडेका छन् ।
‘बीचमा करिब १० महिना उडान बन्द भएको थियो । विमानस्थल नियमित सञ्चालनका लागि विभिन्न वायुसेवा कम्पनी, स्थानीय व्यवसायीसँगको समन्वयमा अनवरत प्रयास जारी राखेको थियौं’, विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले भने, ‘गत वैशाख महिनामा नै लिखित रूपमा कार्यालयले प्राधिकरण प्रधान कार्यालयमा सञ्चालन योजना पेस गरेको थियो । प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकार मुख्यमन्त्री, मुख्यसचिव, सचिव लगायतसँगको भेटमा समेत सञ्चालन योजना ब्रिफिङ गरेका थियौं ।’
विशेष गरी जाडो मौसमा अन्तर्राष्ट्रिय उडान होल्ड, डाइभर्ट हुनसक्ने अवस्थालाई समेत ध्यान दिई गत वैशाखमै आइएलएस तत्काल सञ्चालन नहुने अवस्थामा विकल्पको रूपमा भू उपग्रहमा आधारित आर.एन.पी– ए.आर. अवतरण विधिको प्रस्ताव गरिएको उनले बताए । ‘तत्पश्चात, नेपाल सरकार, मन्त्रिपरिषदबाट वायु सेवा कम्पनी र यात्रुको सहुलियतका लागि र अन्य व्यवस्थापनका सम्बन्धमा प्राधिकरणबाट पेश भएको कार्ययोजना स्वीकृत भयो’, उनले भने, ‘यस अनुसार यात्रु सेवा शुल्क, ल्यान्डिङ पार्किङ, नेभिगेसन, पर्यटन शुल्कमा शतप्रतिशत छुट, गराउँदै ह्याण्डलिङमा ७५ प्रतिशत छुट र हवाई इन्धनमा १ किलोलिटर मा १०० डलर छुट, म्यानपावर, भिसा सेन्टर, मेडिकल जाँचको प्रबन्ध भैरहवा र पोखराबाट गर्ने निर्णय भयो । यसैका कारण पछिल्लोपटक केही विमान कम्पनी यहाँबाट उडान थालेका हुन्’, उनले भने, ‘यसपछि विमानस्थल सञ्चालनको अहिलेको अवस्था सिर्जना भएको हो ।’
बीचमा १० महिना उडान बन्द हुँदा निरास भैराखेको अवस्थामा नोभेम्बर ३ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुचारु भई ५ विमान कम्पनीले उडान सञ्चालन गरेसँगै समस्त सरोकार पक्षमा खुसीको माहोल बनेको उनले जनाए । विगत दुई महिना (नोभेम्बर र डिसेम्बर) को अवधिमा यस विमानस्थलबाट २२९ वटा अन्तर्राष्ट्रिय उडान–अवतरण हुँदा यस मार्फत् ४ हजार ३८३ यात्रुको आगमन भएको छ । यस्तै ३ हजार ७७४ यात्रु प्रस्थान गरी जम्मा ८ हजार १५७ यात्रुलाई सेवा दिइएको छ भने ८ हजार ४६२ यात्रुले ट्रान्जिट भइ उडान गरेको तिवारीले जनाए । यसमा विदेशी यात्रुको संख्या ७४७ छ ।
‘जसमा सबैभन्दा बढी जजिरा एयरमार्फत ४ हजार ३५७ यात्रु आवागमन गरेका, दोस्रो मा फ्लाई दुबईमार्फत् २ हजार ८९ र थाई एयर एसिया मार्फत् १ हजार ४५ यात्रुहरु आवागमन गरेका छन्,’ उनले भने, ‘सन् २०२४ मा कुल अन्तर्राष्ट्रिय उडान २९७, यात्रु ९ हजार ४६७ लाई यस विमानस्थलले सेवा प्रदान गरेको छ’, उनले भने । केही हप्ता यता ५ वटा मध्य नेपाल एयरलाइन्स बाहेक अन्य ४ वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले विभिन्न कारण देखाउँदै उडान स्थगित गरेका छन् । तर फ्लाई दुईले जनवरी १३, जजिराले जनवरी ३१ बाट पुनः उडान सुचारु गर्ने जानकारी दिएको तिवारीले बताए ।
विमानस्थलका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच अवतरण विधि प्रकाशनभै जनवरी २३ देखि लागू हुन लागेको छ । ‘यसपछि सम्बन्धित वायुसेवा कम्पनीले यस किसिमको प्रणाली भएको आफ्नो जहाजलाई यो विधि अनुसार अवतरण गराउन सम्बन्धित देशको स्वीकृत तथा नागरिक उड्डयन पा्रधिकरणको प्रावधान पूरा भएको आधारमा अनुमति लिएर उडान गर्न सक्नेछन्’, महाप्रब्न्धक तिवारीले भने, ‘हाल गौतमबुद्ध विमानस्थलमा यान्त्रिक विधि आइएफआरमा उडान गर्दा न्यूनतम भिजिविलिटी १८ सय चाहिनेमा, अब ए.३२० र ए.३३० स्तरका जहाजलाई ९ सय मीटर भिजिविलिटी भए पुग्नेछ ।’
यसै सञ्चालन अवधिबीच एकै पटक ४ वटा जहाज र त्यसमा पनि एउटा वाइडबडी र ३ वटा न्यारोबडी जहाज यहाँ ह्याण्डलिङ गरी फूल ह्याण्डलिङ क्षमताको टेस्ट पनि भएको छ । ‘अब उप्रान्त वाइडबडी जहाज यहाँ अवतरण गर्न हिचकिच्याउनु पर्ने अवस्था पनि छैन’, उनले भने । केही दिन अघि २२६ विदेशी यात्रु लिएर आएको एयर चाइना ए.३३० वाइडबडी जहाजको सबै सेवा प्रदान गर्न सक्नुले पनि यसको पुष्टि गर्ने उनले बताए ।
यो विमानस्थलले नियमित उडान तालिका पाएमा दैनिक १८ घण्टामा अधिकतम २७ वटा न्यारोबडी जहाज र यसका यात्रु सहज रूपमा व्यवस्थापन गर्न सक्ने जनाइएको छ । महाप्रबन्धक तिवारीले विश्वकै एक तिहाई जनसंख्या रहेको मित्रराष्ट्र भारत र चीनका सहर पर्यटकीय दृष्टि ले हाम्रो लागि सबैभन्दा उपयुक्त गन्तव्य भएको जाउँदै त्यता उडान गर्नुपर्ने बताउँछन् । विगत दुई महिना को तथ्याङ्क हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडेर उडान गरेका कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्सको उडान यस विमानस्थलको लागि त्यति लाभदायक नदेखिएको उनले बताए ।
‘जुन विमानस्थलबाट उडान भए पनि, यो नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कोषमा जाने भएकोले प्राधिकरणका लागि फरक नपर्ला । तर, हामीले काठमाडौं विमानस्थलको बढ्दो उडान चापमा कमी ल्याउनु पनि त छ । हामीले हेर्ने, यस विमानस्थलबाट कति यात्रुले सेवा पाए भन्ने पनि हो । हामीले हेर्ने यस क्षेत्रको आर्थिक विकासमा यस विमानस्थलले कस्तो भूमिका निर्वाह गर्याे, राज्यको समतामूलक विकास, सेवाको विकेन्द्रीकरण जस्ता आयाममा के भैरहेको छ, त्यो पनि महत्वपूर्ण विषय हो’, उनले भने, ‘सबै कुरा विवेचना गर्दा विगत दुई महिना त्यति राम्रो रहेन ।’
यस विमानस्थलबाट खाडी मुलुक र बुद्धिस्ट मुलुकसँग सिधा उडान जोड्न सके लाभदायक हुने उनले बताए । विमानस्थल दिगो संचालनमा भने अझै चुनौती छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले यति यात्रु उडान–अवतरण गरे भन्दा पनि दिगो संचालन अहिलेको आवश्यकता भएको बताए । ‘भैरहवामा जाडो मौसममा विमान उडान–अवतरणमा समस्या हुन्छ भन्ने सरकारलाई थाहा नभएको कुरा होइन’, उनले भने, ‘सुरुबाटै यसको तयारी गरिएन । त्यसैमा भिसा, स्वास्थ्य परीक्षण, नोअब्जेक्सन लेटर, म्यानपावर कार्यालय लगायत थुप्रै कार्यालय यहाँ खुल्न सकेका छैनन् । यसले पनि दिगो संचालनमा चुनौति थपिएको छ ।’ सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले राज्यको चाहना भए विमानस्थल दिगो संचालन हुन सक्ने बताए । काठमाडौंको मानसिकता भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान नहोस् भन्ने रहेको जनाउँदै यहाँ देखिएका समस्या तत्काल हल गर्न उनले काम गरे । तब मात्रै दिगो संचालन हुने उनले बताए ।








प्रतिकृया दिनुहोस्