यसकारणले भैरहवा क्षेत्रमा औद्योगिक लगानी आकर्षित भयो

भैरहवा– बि.सं. २०३२ सालमा तत्कालीन राजा बीरेन्द्रले मुलुकमा औद्योगिक बिकास गर्नका लागि ‘औद्योगिक व्यवसाय ऐन’ ल्याए । उद्योग स्थापनाका लागि व्यवसायीलाई उत्साहित बनाउन र लगानीमा सहयोग गर्नका लागि नेपाल ओद्योगिक बिकास कर्पोरेशन (एनआईडीसी) को स्थापना भयो ।
औद्योगिक व्यवसाय ऐन अनुरुप उद्योगको मेशिन आयातमा भन्सार छुट र पाँच बर्षसम्म आयकर नलाग्ने, एनआईडीसीले लोन दिने लगायतका सुविधा उपलब्ध भएपछि धेरै व्यवसायी उद्योग लगाउनमा उत्साहित देखिए । ‘व्यवसायीले कुन उद्योग कुन ठाउँमा लगाउने ? भनेर सम्भाव्यता अध्ययन गर्न थाले’, उद्योग संचालनकै लागि २०३६ सालमा पोखराबाट भैरहवा आएका चन्द्रमान श्रेष्ठ भन्छन्, ‘यसका लागि नजिकमा भन्सार नाका, समथल भुभाग, सडक विजुली जस्ता पूर्वाधार उपलब्ध र भारतबाट मजदुर तथा मिस्त्री ल्याउन सकिने भएकाले भैरहवा क्षेत्र नै उद्योगका लागि धेरै व्यवसायीको रोजाइमा परेको हो ।’
२०३२ सालतिर बिश्व बैंकको सहयोगमा भैरहवामा स्थापना भएको ‘भैरहवा लुम्बिनी भूमिगत जल परियोजना’ रुपन्देहीको आर्थिक विकासमा नयाँ आयाम मानिन्छ । भैरहवा क्षेत्रमा औद्योगिकरणको विकास हुनुमा यस परियोजनाको पनि महत्वपूर्ण भूमिका छ । परियोजनाले जमिन मुनिको पानीलाई तानेर तेतीवेलाका ३६ वटा गाउँ पञ्चायतमा सिंचाई सुविधा उपलब्ध गराएको थियो ।
परियोजना लागु भएको स्थानमा २४ फुटको कृषि सडक र ११ सय केभीको बिद्युत प्रशारण लाइनको पनि निर्माण गरिदिएको थियो । जसका कारण रुपन्देहीमा सडक र बिद्युतका पूर्वाधार तयार भएका थिए । ‘परियोजनाले सिंचाईको साथसाथै किसानलाई आफ्ना कृषि उपज बजारसम्म लैजान सिद्धार्थ राजमार्गसंग जोडिने गरि कृषि सडकको सञ्जाल तयार गरिदिएपछि यस क्षेत्रमा धान गहुँ, तोरी, दाल, तरकारी जस्ता कृषि उत्पादन बढ्न थाले’, चन्द्रमान भन्छन्, ‘यही कृषि उपजलाई पछ्याउँदै भैरहवा क्षेत्रमा सुरुमा कृषिमा आधारित मध्यम स्तरका उद्योग खुल्न थालेका हुन् ।’
प्रमुख पर्यटकीय गन्तब्य स्थल लुम्बिनी, भैरहवा क्षेत्रको पर्यटन व्यवसायको मुख्य साँचो हो । भने, मुलुककै तराईका प्रमुख भन्सार नाकामध्ये भैरहवा नाका सर्वाधिक शान्त र सहज भएकाले उद्योग स्थापनाका लागि यस क्षेत्रलाई आकर्षित गर्न थालेको हो । भैरहवा, लुम्बिनी, बुटवल लगायत् रुपन्देहीको ९५ प्रतिशत भूभाग समथल भएकाले उद्योग संचालनका लागि सहज छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात् र उत्पादित बस्तु बजारसम्म पठाउनका लागि (अन्तराष्ट्रिय तहसम्मका लागि) आवश्यक पूर्वाधार तयार भएका छन् । अन्तर्राष्ट्रिय हवाइ मार्ग, सडक, बिद्युत, संचार जस्ता ओद्योगिक पूर्वाधार तयार छन् ।
आपसी सद्भावकै कारण शसस्त्र माओवादी युद्ध, भूमिगत तराईका सशस्त्र समूहको युद्धका वेलामा पनि भैरहवा क्षेत्र अन्य ठाउँ भन्दा सुरक्षित रहेको अनुभव सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको छ । उनको भनाइमा, पछिल्लो पटक नाकाबन्दी र मधेश आन्दोलनको वेलामा मुलुककै सर्वाधिक सहज भैरहवा नाका स्थापित हुन पुग्यो । नाकाबन्दी र मधेश आन्दोलनको वेलामा मुलुकको प्रमुख नाका बीरगञ्ज धेरै महिनासम्म अवरुद्ध हुनुको फाइदा भैरहवा नाकाले उठाएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, छ लेनको बेलहिया–बुटवल व्यापारिक मार्ग, बिशेष आर्थिक क्षेत्र (सेज), भैरहवा–परासी हुलाकी राजमार्ग, भैरहवा, लुम्बिनी तौलिहवा हुलाकी राजमार्ग, बेथरी देखि अमुवा हुँदै बुटवल पूर्व–पश्चिम राजमार्गमा जोडिएको चार लेनको सडक, देवदह–मणिग्राम–मानपकडी–सँर्यपुरा हुँदै लुम्बिनी जोड्ने बुद्ध सर्किट सडक, भैरहवा नजिकैको मैनिहवामा संचालनमा आएको १ सय ३२ केभीए बिद्युत प्रशारण आयोजना नै भैरहवा क्षेत्रलाई औद्योगिक हवको रुपमा परिणत गरेका पूर्वाधार हुन् ।
भारत–नेपाल हुँदै हुने आयात निर्यातलाई सहजिकरण गर्न भैरहवा–सुनौली सिमा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी (आईसीपी) भैरहवा क्षेत्रमा उद्योग लगानीलाई आकर्षित गर्ने अर्को महत्वपूर्ण आयोजना निर्माण सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा सिद्धार्थ औद्योगिक समूहका संस्थापक राजेशकुमार अग्रवाल भैरहवा क्षेत्र भौगोलिक रुपमा भारतको भारतको दिल्ली, पंजाव, हरियाणा, गुजरात, कानपुर लगायतका प्रमुख औद्योगिक सहर भैरहवाबाट नजिक र पायक पर्ने र त्याहाबाट औद्योगिक कच्चा पदार्थ र उपकरण लगायतका मेशेनरी पाटर््स ढुवानीका लागि छोटो र पायक पर्ने नाका सुनौली–भैरहवा नै भएको बताउँछन् ।
व्यवसायी अग्रवालका अनुसार, ढाइ दशक अघिसम्म भारतको बिहार प्रदेश कानुनी र सुरक्षाको दृष्टिले उत्तरप्रदेशको तुलनामा उति राम्रो मानिदैनथ्यो । जतिवेला भारतको गुजरात र राजस्थानमात्र सिमेन्टको कच्चा पदार्थ क्लिकंर उत्पादन हुने र त्यहाँबाट ढुवानी गरी नेपालमा सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना क्रमको तिब्र बिकास भएको थियो । त्यही आधारमा भैरहवा क्षेत्रमा सिमेन्ट उद्योगको बाहुल्यता र धेरै लगानी भएको हो । यही अवस्था छड उद्योग र अन्य औद्योगिक कच्चा पदार्थ आयात गरि उत्पादन गर्ने उद्योगहरुको पनि हो ।
‘अन्य स्थानको तुलनामा यस क्षेत्रमा औद्योगिक लगानीको बातावरण निकै राम्रो छ’, एसआर औद्यौगिक समूहका प्रबन्ध निर्देशक तथा एसआर स्टिल उद्योगका संचालक सुरज उप्रेती भन्छन्, ‘मुलुकभरिमैं हाल संचालनमा रहेका स्टिल उद्योगको संख्या करिव तीन दर्जन छ । जसमध्ये एक तिहाइ भैरहवा क्षेत्रमा छन् ।’ नेपालका प्रमुख अटो मोबाइल्स कम्पनीले पहिला भैरहवा नाकाको प्रयोग गरेका थिएनन् । मधेश आन्दोलन र नाकाबन्दीपछि उनीहरुका लागि भैरहवा नाकापनि रोजाईमा परेको छ । होण्डा कम्पनीको भैरहवाका लागि आधिकारिक बिक्रेता जगत मोटर्सका संचालक राम थापा नेपालका प्रमुख अटो मोबाइल्स कम्पनीले पहिला भैरहवा नाकाको प्रयोग नगरेको र मधेश आन्दोलन र नाकाबन्दी पछि उनीहरुका लागि भैरहवा नाका पनि रोजाईमा परेको बताउँछन् ।
‘मधेश आन्दोलन र नाकाबन्दीको वेलामा भैरहवा नाका सुरक्षित मानिएपछि ति कम्पनीले बीरगंजको बिकल्पमा यस नाकालाई प्रयोगमा ल्याउन थालेका हुन्’, थापाले भने । मधेश आन्दोलन पश्चात् बीरगञ्ज नाका संचालनमा आएपछि पनि ति कम्पनीले भविष्यका लागि पनि यो नाकाबाट कारोवार गर्न ठाँउ सुरक्षित बनाएका छन् । यही नाकाको प्रयोग गर्न केहीले जमिन खरिद गरेर गोदाम बनाएका छन् । केहीले जमिन भाडामा लिएर ।’
रुपन्देही मैदा उद्योग संघका सदस्य तथा घराना फुड्सका संचालक बिशाल गोयन्का हाल नेपालमा संचालनमा रहेका ४५ वटा ठूला मैदा मिलमध्ये भैरहवा र रुपन्देही क्षेत्रमामात्रै १२ वटा रहेको बताउँछन् । ‘भैरहवा क्षेत्रमा स्वदेशी कच्चा खाद्यान्न प्रचुरमात्रामा पाइने र भन्सार नाका नजिकै रहेकाले भारतबाट आयात गर्न सहज तथा सुलभ हुने कारणले यस क्षेत्रमा धेरै मैदा मिल संचालनमा आएका हुन्’, गोयन्काले भने ।
भैरहवा–बुटवल औद्योगिक करिडोर, भैरहवा–लुम्बिनी करिडोर, भैरहवा–परासी करिडोर र बिशेष आर्थिक क्षेत्रमा उद्योगहरु संचालनमा छन् । भैरहवा–बुटवल औद्योगिक करिडोरमा स्टिल, प्लाष्टिक, पोलिमर्श, रबर, खाद्यान्न, प्याकेजिङ, पिएसी, औषधी लगायतका झण्डै तीन दर्जन ठूला उद्योग संचालनमा छन् । रुपन्देही उद्योग संघका निबर्तमान अध्यक्ष बावुराम बोहराको भनाइमा भैरहवा–बुटवल औद्योगिक करिडोरमा स्टिल, प्लाष्टिक, पोलिमर्श, रबर, खाद्यान्न, प्याकेजिङ, पिएसी, औषधी लगायतका झण्डै तीन दर्जन ठूला उद्योग संचालनमा छन् । ति उद्योगमा २० अर्व भन्दा धेरैको लगानी छ । भैरहवा–लुम्बिनी करिडोरमा बिशेषगरि सिमेन्ट, स्टिल, मैदा, तेल, स्पेनिङ, सेन्थेटिक्स, दाना उद्योग संचालनमा छन् ।
भैरहवा–परासी करिडोरमा यस क्षेत्रमा स्टिल, मैदा, चामल, अक्सिजन, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिन्क, चाउचाउ, जुत्ता चप्पल, ग्यास, होटल, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप लगायत, एंगलपत्ति, ब्लक, कन्क्रिट, कागज, लगायतका झण्डै चार दर्जन ठूला उद्योग संचालनमा छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठ यस क्षेत्रमा पछिल्लो ५ बर्षमा ४० अर्ब रुपैया भन्दा बढी लगानी उद्योग क्षेत्रमा भित्रिएको दावी गर्छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेबी मन्दिर क्षेत्रबाट १५ किमी हवाई दुरी क्षेत्र भित्र बाताबरणमा प्रदुषण फैलाउने प्रकृतीका कुनै पनि उद्योग स्थापनामा रोक लगाएपछि पछिल्लो समयमा भैरहवा–परासी हुलाकी सडक करिडोरमा उद्योग स्थापनाको क्रम बढेको छ । नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका अनुसार, गत आव २०७९–८० मा रुपन्देहीमा रहेका कमर्शियल बैंक, विकास बैंक र फाइनान्स गरि २ सय ४७ वटा बित्तीय संस्थाबाट कुल कर्जा लगानी २ खर्व ७१ अर्व ७४ करोड रुपैयाँ भएको थियो । कार्यालयका उप निर्देशक जीवन प्रकाश पाण्डेले रुपन्देही जिल्लामा उद्योग व्यवसाय बढेसंगै बित्तीय संस्थाको संख्यापनि बढि रहेको र कुल लगानीमध्ये सवैभन्दा धेरै औद्योगिक क्षेत्रमैं रहेको बताए ।
‘विभिन्न बैंक तथा बित्तिय संस्था बढ्ने क्रमसंगै भैरहवा क्षेत्रमा औद्यौगिकरणले पनि चाडो फड्को मार्यो’, व्यवसायी राजेश अग्रवाल भन्छन्, ‘२०६० को दशकतिर मुलुकमा बिकास निर्माणका कार्य बढेसंगै भैरहवा क्षेत्रमा बिशेष गरि सिमेन्ट र स्टिल छड उद्योग धेरै खुल्न पुगे ।’ ०४६ को प्रजातन्त्रको आगमन पछि उद्योगको सम्भावना देखेर केही लगानी बढेको र ०६० को दशकपछि सशस्त्र माओवादी पार्टी राजनीतिको मुलधारमा आएपछि लगानी बढेको व्यवसायी बताउँछन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ भारतको नाकाबन्दी र मधेश आन्दोलनका वेला भैरहवा क्षेत्र अन्यत्र भन्दा शान्त भएकाले सुरक्षित लगानी देखेर भैरहवा क्षेत्रमा लगानी आकर्षित भएको बताउँछन् । ‘त्यतिबेला अन्यत्रका लगानीकर्ताको रोजाइ पनि भैरहवा क्षेत्र नै हुन पुग्यो’, श्रेष्ठले भने, ‘यही अवधिमा भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएकाले पनि लगानीकर्ता यस क्षेत्रमा आकर्षित भएका हुन् ।’
प्रतिकृया दिनुहोस्