June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

भैरहवा सेजप्रति आकर्षणको सट्टा विकर्षण, पूर्णता पाउने कहिले ?

भैरहवा– २२ वर्ष अघि भैरहवामा बिशेष आर्थिक क्षेत्र (सेज) को निर्माण सुरु हुँदा उद्यमी व्यवसायी खुशी थिए । सेजमा उद्योग संचालन गर्न मुलुकभरिका व्यवसायीको चासो बढ्न थाल्यो । उद्योग स्थापनाका लागि सेज प्राधिकरणसँग सम्झौता गर्न थाले । मुलुककै पहिलो निर्यातमुखी परियोजना भैरहवा बिशेष आर्थिक क्षेत्रमा पछिल्ला दिनमा भने व्यवसायी तथा लगानीकर्ताको आकर्षण भन्दा बिकर्षण बढ्दै जान थालेको छ ।

Advertisement

सेजमा भनिए अनुरुपको सेवासुविधा व्यवसायीलाई दिन नसकेपछि र सेजको भद्रगोल व्यवस्थापनले व्यवसायी तथा लगानीकर्तालाई हतोत्साहित बनाएको छ । सेजमा उद्योग स्थापना गर्ने भनेर सम्झौता गरेका कैयन् व्यवसायीले बर्षौं अघि सम्झौता रद्ध गरिसकेका छन् भने, लगानी गरेका अधिकांश व्यवसायी पछुतो मानेका छन् । २०५८ सालदेखि निर्माण कार्य थालिएको भैरहवा सेज अभैm पूर्ण रुपमा संचालनमा आउन सकेको छैन । भैरहवा सेज कहिलेदेखि पूर्ण संचालनमा आउने हो ? कुनै अत्तोपत्तो छैन ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीय व्यवसायी ठाकुरकुमार श्रेष्ठ सेज संचालनमा देखिएका विभिन्न अन्यौलता र सेजमा व्यवसायीले पाउनु पर्ने सेवासुविधा र आवश्यक पूर्वाधार उपलब्ध नभएकै कारण भैरहवा सेजप्रति व्यवसायीको आकर्षण बढ्न नसकेको बताउँछन् । ‘भैरहवा बिशेष आर्थिक क्षेत्रमा व्यवसायी तथा लगानीकर्ताको आकर्षण भन्दा बिकर्षण बढ्दै जान थालेको छ’, श्रेष्ठले भने, ‘सेजमा भनिए अनुरुपको सेवासुविधा व्यवसायीलाई दिन नसकेपछि र सेजको भद्रगोल व्यवस्थापनले व्यवसायी तथा लगानीकर्तालाई हतोत्साहित बनाएको छ ।’

दुई बर्ष अघि भैरहवा बिशेष आर्थिक क्षेत्र (सेज) मा सात वटा उद्योग संचालनमा थिए । उद्योग बढ्दै जानु पर्ने साटो घटेर अहिले ६ वटा संचालनमा छन् । उद्योगका निम्ति छुट्याइएका जमिनको अधिकांश प्लट कागजी प्रक्रियामा व्यवसायीले सम्झौता गरिसकेका छन् । तर, फिल्डमा भने उद्योग स्थापना भएका छैनन् । उद्योग स्थापना गर्ने भनेर सम्झौता गरेका केही उद्योग–व्यवसायी गुमनाम अवस्थामा छन् ।

व्यवसायी र सेज प्राधिकरणबीचको दुरी बढ्दो छ । सेजमा निर्माण गरिएका प्रशासनिक भवन तथा अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा संचालनमा आउन नपाउँदै जीर्ण बनेका छन् । सेजप्रति व्यवसायीको आकर्षण बढ्न सकेको छैन । भैरहवा सेजलाई व्यवस्थित र पूर्ण क्षमतामा संचालन गर्नेतर्फ सरकारी स्तरबाट प्रभावकारी कदम चालिएको छैन ।

सेजमा दुइ बर्ष अघि जय बुद्ध मेटल क्राफ्ट, पंचकन्या स्टिल ट्यांक, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्श, तिरुपती मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरि सात वटा उद्योग संचालनमा थिए । यतिवेला जय बुद्ध मेटल क्राफ्ट बन्द छ । ५२ बिघा क्षेत्रफलमा फैलिएकोसेजमा ६८ वटा उद्योग स्थापनाका लागि जमिनका प्लट छन् । अहिलेसम्म २३ जना व्यवसायीले उद्योग संचालनका लागि ६० वटा जमिनको प्लटको सम्झौता गरेका छन् ।

बिशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार, जसमध्ये, ५ वटा उद्योग संचालनमा, एउटा हाललाई बन्द अवस्थामा रहेको, एउटा उद्योग स्थापनाका लागि तयारी गरेको, ४ वटा निर्माणाधीन अवस्थामा, ३ वटाले जमिनको प्लटको अनुमती लिएको र ८ वटा उद्योग स्थापनाका लागि सम्झौता भएर पनि स्थापनाको काम अगाडि नबढाएर गुमनाम अवस्थामा छन् ।

बिशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक तुलसी मरासिनीले उद्योग संचालनका लागि सम्झौता गरेर निर्धारित समयसम्म पनि उद्योग स्थापनाको प्रक्रिया अगाडि नबढाएका व्यवसायीलाई हटाएर अन्य इच्छुक व्यवसायीलाई अनुमती दिने प्रक्रिया अगाडि बढाइने बताए । ‘भैरहवा सेज पूर्ण क्षमतामा संचालनका लागि कसरी अगाडि बढ्ने ? भन्ने वारेमा व्यवसायीसहितको सरोकारवाला निकायबीच छलफल गरि समस्याको पहिचान गरेर समाधानको पहल गर्ने तैयारीमा छौं’, मरासीनीले भने, ‘तथापी भैरहवा सेज लामो समयसम्म पनि पूर्ण क्षमतामा संचालन हुन नसक्नुमा सेज ऐन अनुरुप एकद्वार प्रणाली लागु हुन नसक्नु र अन्य कानुनी अड्चन पनि हुन् ।’

उनका अनुसार, जमिनको भाडा महंगो भएको गुनासो व्यवसायीको आएपछि प्रतिबर्ग मिटर २० रुपैयाँबाट घटाएर १० कायम गर्न उपयुक्त हुने भनि अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको छ । तर निर्णय भैनसकेकाले छलफलकै क्रममा छ । यसैगरि सेजमा व्यवसायीको आकर्षण बढाउन उत्पादन सुरु गरेको दोस्रो बर्षपछि कुल उत्पादनको ६० प्रतिशत बिदेश निर्यात गर्नै पर्ने प्रावधानलाई ३० प्रतिशत कायम गर्ने भनि सेज संचालक समितिले निर्णय गरि संशोधनका लागि मन्त्रालयमा पठाइएको छ ।

जवकी, ६० प्रतिशत बिदेश निर्यात गर्नै पर्ने प्रावधानलाई ३० प्रतिशत कायम गर्ने भनि चालु आवको बजेट भाषणमैं पनि उल्लेख भएको थियो । तर अहिलेसम्म संशोधन भएर ऐन आएको छैन । सरल र सहज रुपमा सेज संचालनका लागि सरकारकै एक अर्का मन्त्रालयबीच समन्वयको अभाव, केन्द्रकृत प्रशासनिक सेवा, सेज ऐनमा उल्लेख गरिए अनुरुपका सेवासुबिधा तथा भौतिक पूर्बाधारबाट बञ्चित, सरकारी कर्मचारी तथा सेज पदाधिकारीको घुमाउरो पाराको आसयसहितको काम पन्छाउने प्रबृत्ति लगायतका कारण धेरैले भैरहवा सेजमा राम्रो भविष्य देख्न छाडेको व्यवसायी बताउँछन् ।

व्यवसायीलाई सहजिकरण र प्रोेत्साहनको सट्टा उल्टै सेज प्राधिकरणबाट हतोत्साहित गर्ने प्रयास भैरहेको र भन्सार लगायतका सरकारी प्रशासनिक निकायबाट प्रतिकुल परिस्थितिमा पनि सहजिकरण नगरिएको आरोप व्यवसायीको छ । सेजमा भनिए जस्तो र सम्झौता गरेजस्तो सुविधा व्यवसायीले पाउन नसकेको गुनासो भैरहवा सेजमा सवै भन्दा पहिला उद्योग संचालन गर्ने व्यवसायी शक्ति मिनरल्स प्रालिका संचालक दीपककुमार झाले गरे ।