विवाहको गन्तव्य बन्दै रूपन्देहीका होटल



भैरहवा– पछिल्लो समय भारत लगायत मुलुकबाट आएर रुपन्देहीका होटलमा आवासीय रुपमा विवाह कार्यक्रम आयोजना गर्ने प्रचलन बढेको छ । यस्ता विवाह लगायत सामाजिक कार्यबाट आयआर्जन हुने भएपछि जिल्लाका पर्यटन व्यवसायीले गन्तव्यबारे भारतका विभिन्न सहरमा पुगेर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिले रुपन्देही र आसपासबाट होटल र पार्टी प्यालेसमा विवाह गरिनु सामान्य बन्दै गएको छ । यससँगै भारतका विभिन्न सहरबाट दुलाहा–दुलही पक्ष नै आएर होटलमा आवासीय रुपमा विवाह कार्यक्रम गरिरहेका छन् । विवाहका लागि भारतबाट सम्बन्धित परिवारसँगै आफन्त र पाहुना आउने गरेका छन् । यसले रुपन्देहीका पर्यटनकर्मीमा लगानी नडुब्ने आशा पलाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर भएको होटल व्यवसायको लगानी डुब्ने चिन्तामा रहेका व्यवसायीलाई यस्ता कार्यक्रमले राहत मिलेको छ ।
होटल व्यवसायी महासंघ नेपालका उपमहासचिव तथा होटल सनस्टारका सञ्चालक राजेश महोत्राले होटलमा विवाह गर्ने संस्कार बनेको पब्लिक कुरासित बताए । ‘विवाह गर्नका लागि भारतबाट यहाँ आउने परम्परा बन्यो,’ उनले भने, ‘यहाँका पाहुना सत्कार गर्ने विशिष्ट शैलीका कारण भारतीय आकर्षित बनेका हुन् ।’ खर्चभन्दा एकैस्थानमा विवाह लगायत सामाजिक क्रियाकलाप उम्काउँदा सहज हुने भएकाले सर्वसाधरणले होटल रोज्न थालेको उनले बताए ।
‘रुपन्देही सीमा क्षेत्र हो,’ उनले भने, ‘यहाँ नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्धले पनि काम गरेको छ ।’ स्वदेशी विवाह कार्यक्रममा हल र खानाको प्रयोग हुन्छ । भारतबाट आएर यहाँ विवाह गर्दा कोठा पनि बिक्री हुन्छन् । दुई–तीन दिन यही बसेर विवाह उम्काउने भएकाले आम्दानी हुने गरेको महोत्राले बताए । बढ्दो सहरीकरणले बस्तीमा स्थान अभाव भएकाले सहजताका लागि हल चाहिने अवस्था सिर्जना भएको उलने बताए । ‘विवाह बाहेक मार्केटिङ, कर्पोरेट मिटिङ, सरकारी र नीजि क्षेत्रका कार्यक्रमबाट आम्दानी भइरहेको छ,’ उनले भने, ‘पर्यटन फेरिन थालेको छ ।’
भारतको उत्तरप्रदेश र नयाँ दिल्लीबाट यहाँ आएर विवाह गर्ने धेरै छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्धले यस्ता कार्यक्रम आयोजनामा मद्दत मिलेको व्यवसायी बताउँछन् । भारतको उत्तर प्रदेशका सहरमा स्तरीय र ठूला होटलको कमी छ । होटलमा विवाह कार्यक्रम गर्दा भारतीय पाहुनलाई ‘मान–सम्मान’ धेरै चाहिने भएकाले राम्रो हस्पिटालिटीका लागि उनीहरुले यहाँका गन्तव्य रोजिरहेको होटल पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए ।

रुपन्देहीको भैरहवा र बुटवलमा रहेका होटल पौवाका शाखामा धेरै भारतीय विवाहका लागि आउने गरेका छन् । ‘दिल्ली र लखनउबाट धेरै परिवार विवाहका लागि आइरहेका छन्,’ भण्डारीले भने, ‘पौवामा मात्रै भारतबाट आएर वार्षिक सरदर ५० विवाह भइरहेका छन् ।’ विवाहका लागि आवश्यक सजावट र खानपानको व्यवस्था होटलले गर्छन् । विवाहका पाहुनाले होटलका कोठा भरिन्छन् । ‘भारतभन्दा नेपालमा विवाह गर्दा सस्तो पर्छ,’ भण्डारीले भने, ‘यहाँको वातावरण पनि राम्रो र सुरक्षित छ ।’
ठूलो संख्यामा उनीहरु आउँदा होटलमा कोठा नपुग्ने तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक लेखकले बताए । ‘आठ महिना अवधिमा रिसोर्टमा ११ विवाह कार्यक्रम भए,’ उनले भने, ‘भारतको लखनउ, कानपुर, नयाँ दिल्ली र काठमाडौंका यहाँ आएर विवाह गरेका हुन् ।’ यसरी आउने पाहुनाको बसाइँ अवधि कम्तिमा दुई रात तीन दिनको हुने उनले बताए । केटा–केटी पक्ष आउने भएकाले रिसोर्ट भरिएर अन्य होटलमा कोठा लिएर सेवा दिनु परेको उनले बताए ।
नेपाल र भारतका मारवाडी लगायत व्यापारिक समुदाय लामो समयदेखि विवाह कार्यक्रमका लागि माल्दिभ्स, बाली र दुवई जाने गरेको उल्लेख गर्दै उनले भने, ‘रुपन्देही त्यस्ता विवाहलाई डाइभर्ट गर्न सकिने सम्भावनास्थल बनेको छ ।’ भैरहवास्थित चारतारे होटल एशियन बुद्धका अपरेशन म्यानेजर जेपी सुवेदीले बैशाखमा ६–७ विवाह कार्यक्रम आयोजना हुने अनुमान गरेका छन् ।
‘दुईवटा बुकिङ भइसके,’ उनले भने, ‘एक हजार जना सहभागी हुने विवाह कार्यक्रमका लागि छलफल भइरहेको छ ।’ होटलमा मण्डपदेखि विवाह लक्षित सजावट गरिएको उनले बताए । ‘एक महिनामा ६–७ विवाह भइरहेका छन्,’ उनले भने, ‘एक–दुई जना पाहुनाको बाटो कुर्नुभन्दा सोसल फङ्सनबाट धेरै आम्दानी हुन्छ ।’ विवाह बाहेक कर्पोरेट कार्यक्रम आयोजनामा जोड दिएर प्रचारप्रसार गरिरहेको उनले बताए । यहाँका होटलले भारतका प्रमुख सहरमा मार्केटिङ समूह पठाएर यस्ता कार्यक्रमबारे प्रचारप्रसार गरिरहेको जनाएका छन् ।








प्रतिकृया दिनुहोस्