भैरहवा–भूमही खण्ड उद्योगका लागि आकर्षण



भैरहवा– रुपन्देहीको भैरहवा र पश्चिम नवलपरासीस्थित भूमही सडक खण्ड दायाँबायाँ दशक अघिसम्म खेतपातीसँगै केही मात्रै उद्योग देखिन्थे । तर अहिले दुबैतर्फ उद्योग नै उद्योग देखिन्छन् । ठूला लगानीका उद्योग संचालनमा छन् । केही निमार्णको चरणमा छन् । स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीका उद्योगले औद्योगिक करिडोर सजिएको छ । साँझ–बिहान सडक भीडभाड हुने गरी कामदार साइकलमा ओहोरदोहोर गर्छन् ।
यो खण्डको औद्योगिक क्षेत्रमा ठूला लागनीका उद्योग खुल्ने क्रममा छन् । उद्योगहरुका लागि भौतिक पूर्वाधारको काम धमाधम भइरहेका छन् । रुपन्देहीको बेलहिया र नवलपरासीको महेशपुर मूल भन्सार भारतीय नाकासँग नजिक, पूर्व–पश्चिम राजमार्गको मध्य भागमा पर्ने भएकाले यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो । उद्योगीले आफू अनुकुलको जग्गा किनेर धमाधम उद्योग संचालन गरीरहेका छन् । २० वर्षदेखि डाइपर र वेट वाइप्सको व्यवसायमा संलग्न शत्रुधन ढकाल (एसपी) ले आफ्नै उद्योग संचालन गर्ने सोंच बनाए । विभिन्न विदेशी कम्पनीको होलसेलर र जागिरको अनुभव भएका ढकालले उद्योग खोल्ने निणर्य गरे । उद्योगका लागि आवश्यक जग्गा भन्सारको सहज उपलब्धताको अध्ययनमा लागे । काठमाडौं, भैरहवा, चितवन क्षेत्रमा जग्गाको मूल्य अन्याधिक महंगो भएपछि उनले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १५ शुक्रौलीमा उद्योग खोल्ने निणर्य गरे ।
अहिले एक अर्ब रुपैयाँ भन्दा बढी लगानीको ब्रजेश्वरी इण्डष्ट्रिज संचालन गरिरहेका छन् । उनको उद्योगबाट अहिले बेबी डाइपर र वेट वाइप्स उत्पादन हुँदै आएको छ । ‘उद्योग संचालनका लागि रुपन्देहिको भैरहवादेखि पश्चिम नवलपरासीको भूमहीसम्मको क्षेत्र निकै उपयुक्त छ,’ उनले भने, ‘जग्गा सस्तो र मूल भन्सार नजिकै छ, अन्तर्राष्ट्रिय विमानस्थल र सबैभन्दा मुलुकको पूर्व–पश्चिम जहाँ पनि उत्पादन पठाउन सहजता छ । यस क्षेत्रमा अर्बौं लगानीका धेरै उद्योग संचालनमा छन् । नयाँ खुल्नेक्रम पनि बढ्दो छ । यो क्षेत्र औद्योगिक करिडोरका लागि उपयुक्त क्षेत्र हो ।’
पश्चिम नवलपरासीको दक्षिणी भेगमा उद्योग खोल्न लगानीकर्ता आकर्षित हुनुको कारण बजारीकरण र कच्चा पदार्थको आपूर्ति सहज हुनु नै मुख्य कारण हो । जुन उद्योग संचालनका लागि सबैभन्दा बढी महत्वपूर्ण पक्ष हो । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष एवम् उद्योगी गुणनिधि तिवारीले भने, ‘भारतबाट कच्चा पदार्थको सहज आपूर्ति र उत्पादन भएको सामाग्री मुलुकभर एकै पटक र एउटै मूल्यमा बिक्री गर्न सकिने भएकाले यो क्षेत्र उद्योगको हबकारुपमा विकास हुँदैछ । राज्यले यसलाई व्यवस्थित गर्ने काम गर्नुपर्छ ।’
अधिकांश उद्योगहरुले आफूले उत्पादन गरेको बस्तु मुलुकभर एउटै मूल्य कायम गरेर बिक्री गर्ने गर्दछन् । जसका लागि उद्योगबाट समान दुरी र यातायातको सहजता भएको क्षेत्रमा उद्योग संचालन गर्न आवश्यक छ । पश्चिम नवलपरासी पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने र पूर्व पश्चिम सामान ढुवानीका लागि समान दुरी पर्ने पर्ने भएकाले उद्योग संचालकहरुका लागि यो क्षेत्र लगानीका लागि सहजता भएको हो ।
रुपन्देहीमा लुम्बिनी विकास कोष र सरकारले पनि पुरातात्विक क्षेत्रमा प्रदूषण हुने भन्दै नयाँ उद्योग संचालनका लागि भैरहवा–लुम्बिनी क्षेत्रमा अनुमती नदिँदा पनि उद्योगीहरु यो क्षेत्रमां धमाधम आउन थालेका हुन् । सरकारले महेशपुर भन्सारलाई मूल भन्सारको रुपमा सञ्चालन गरे पछि लगानीकर्ता थप आकर्षित भएका छन् । भैरहवा भन्सारले मात्र यस क्षेत्रमा आयात र निर्यात हुने बस्तुको भार थेग्न नसक्ने भन्दै नयाँ नाकाबाट थप सहज हुने भन्दै भूमही भैरहवाको वाइपास सडक वरपर उद्योग संचालन भइरहेका छन् ।
भैरहवा भन्सारले मात्रै उद्योगका लागि आवश्यक कच्चा पदार्थ, उपकरण लगायतका मालबस्तु ढुवानी गर्दा महिनौं सुनौली नाकामा आएर थन्किने गर्दछ । तर, महेशपुर नाकामा एक दिनमा नै सामान आयात र निर्यात हुन सक्ने भए पनि अहिलेसम्म पूर्वाधारको काम भएको छैन् । ब्यवसायी र उद्योगी दुबै पक्षलाई कच्चापदार्थको आयात र सामान निर्यातमा समेत सहजता हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको उद्योग बाणिज्य महासंंघका केन्द्रिय सदस्य केशव भण्डारीले बताए ।
पछिल्लो दुई वर्षमा मात्र भैरहवा–भूमही सडक खण्ड आसपासमा तीन दर्जन भन्दा बढी ठूला उद्योग थपिएका छन् । जसमा ५० अर्वभन्दा बढीको लगानी छ । उद्योग स्थापना भएपछि यो क्षेत्रमा तीन हजार भन्दा बढी अदक्ष कामदारले रोजगारी पाएका छन् भने चार सय भन्दा बढी दक्ष जनशक्ति गाउँमा नै योग्यता अनुसारको रोजगारी गरिरहेका छन् ।
बर्दघाट र सुनवलमा औद्योगिक करिडोर निमाणको चरणमा छ । निर्माण सम्पन्न नभएकाले करिडोरमा उद्योग संचालन भएका छैनन् । त्यसैले नयाँ उद्योग सस्तो मूल्यमा जग्गा जहाँ पाइन्छ, त्यहाँ नै उद्योग खुल्दा खेतीयोग्य जमिन र स्थानीयलाई समेत यसले असर पुर्याएको छ । सरकारले स्थानीय तहमा नै औद्योगिक करिडोर स्थापना गर्ने लक्ष्य अनुसार नवलपरासीको सुनवल र बर्दघाटमा अहिले औद्योगिक ग्रामका लागि पूर्वाधारको काम भैरहेको छ । तर, अब्यस्थितरुपमा खुलेका उद्योगहरु स्थान्तरण गर्न सहज छैन् । नयाँ उद्योगहरुलाई भने यसले निकै सहजता ल्याउने सुनवलका ब्यवसायी यज्ञप्रसाद पौडेलले बताए ।
स्थानीय तहले नयाँ उद्योग संचालनका लागि सुरुवाती वर्षमा राजश्व छुट दिने तथा उद्योग संचालनका लागि सहजिकरण गर्ने गरेका छन् । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादब आफै पनि उद्योगी हुन् । जनप्रतिनिधिमा निर्वाचित भएपछि लगानीमैत्री योजना ल्याएको उनले बताए । ‘हामीले नयाँ उद्योगलाई स्वागत गर्ने नीति लिएका छौं । त्यसका लागि स्थानीय तहमा लाग्ने शुल्कमा छुट दिएका छौं’, उनले भने, ‘आर्थिक विकास बिना मुलुक समृद्ध बन्न सक्दैन् । हाम्रो नगरमा लगानी गर्न इच्छुक उद्योगी र व्यवसायीलाई स्वागत गर्न चाहन्छौं ।’
जिल्लाकै सुक्रौलीमा रहेको बहुराष्ट्रिय कम्पनी सामसुङ्ग टेलिभिजन, वास्र्टेनर र पेप्सी, कम्पनी लगायत एक दर्जन साना ठुला कम्पनीमा पनि नेपाली कामदारको अभावमा भारतीय र विदेशी कामदार नै आएर काम गरिरहेका छन् । सामान्य मजदुरी बाहेक प्राविधिक काममा विदेशी कामदार ल्याउँदा कम्पनीलाई खर्च बढ्नुका साथै लामो समयसम्म कर्मचारी टिकाउन पनि समस्या परिरहेको छ । समय समयमा कर्मचारी आवश्यक्ताको सूचना प्रकाशित गर्दा समेत दक्ष जनशक्ति पाउन नसकिएको उद्योगी प्रकाश यादबले बताए ।








प्रतिकृया दिनुहोस्