झोलुङ्गे पुल पुग्ने बाँसको सिंढी भाँचियो



भैरहवा– पुलको किनारामा ठड्याइएको बाँसको सिंढी भाँचिएको छ । उक्त सिंढीबाट उक्लिन र ओर्लिन धौं हुने गरेको छ । रुपन्देहीको कोटहीमाई–२, स्थित तिनाउ खोलामा निर्माण गरिएको झोलुङ्गे पुलबाट ओहोरदोहोर गर्न बाँसको सिंढीबाट उक्लिन–ओर्लिन पर्ने बाध्यता हटेको छैन । कोटहीमाई–२ र ५ नम्बर वडा जोड्ने पुल निर्माण थालिएको तीन वर्ष भए पनि पूरा भएको छैन । पुलको दुबै किनारमा ओहोरदोहारका लागि पक्की र्याम्प (सिंढी) निर्माण गरिएको छैन । जसले गर्दा स्थानीयले बाँसको सिंढी राखेर पुलबाट यात्रा गर्दै आएका छन् ।
अहिले कोटहीमाई–५ तर्फ राखिएको बाँसको सिडी भाँचिएको हो । दुई नम्बर वडातर्फ राखिएको सिंढीको अवस्था उस्तै छ । अहिले पानी कम भएकाले सर्वसाधरणले खोलाबाटै यात्रा गर्छन् । पुलमा उक्लिँदा र ओर्लिंदा लड्ने भयले उनीहरु पानीमा हेलिने गरेको बताउँछन् । कोटहीमाई–२, का रामजीत मौर्य खोला तरेर विद्यालय गइरहेका थिए । गत स्थानीय, प्रदेश र संघको निर्वाचनमा भोट माग्ने बेला घरदैलोमा आएका दलका नेताले छिट्टै पुल निर्माण गर्ने आश्वासन दिएको उनले बताए । ‘तर, के गर्ने चुनाव जितिसकेपछि कोही पनि हेर्दैनन, मान्छेले कति दुःख पाएका छन्,’ उनले भने, ‘चुनाव जितेपछि हालखबर सोध्न समेत आउँदैनन् ।’
जसोतसो पुल निर्माण भएपछि वर्षामा स्थानीयले भोग्नुपर्ने समस्या हल हुने विश्वास गरिएको थियो । तर, पुलसम्म पुग्ने सडक र सिंढी निर्माण नभएपछि जोखिम उठाएर यात्रा गर्नु परिरहेको रामजीतले बताए । खोलाका कारण जुत्ता पहिरेर विद्यालय जान नपाएको उनले बताए । खोला तर्दा भिज्ने भएकाले उनले चप्पल पहिरिएका थिए । ‘स्कुलमा सरमिसले किन जुत्ता नलगाएको भनेर गाली गर्नुहुन्छ,’ मझगाँवास्थित पब्लिक भिजन विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनले भने, ‘हामी गाली खान्छौं, पुलको सिंढी बन्दैन ।’ बाँसको सिंढीबाट ओर्लिने क्रममा आफ्नै साथी हरिषचन्द्र मुरावको हात–खुट्टा भाँचिएको उनले बताए । उक्त घटनापछि पीडित मिलेर गाउँपालिकामा दबाबका लागि पुगे पनि कुनै सुनुवाई नभएको उनले दुखेसो पोखे ।
विभिन्न सञ्चारमाध्याममा पुलको अवस्थाबारे समाचार प्रकाशित भएपछि गाउँपालिकाले काम गर्न पक्रिया अगाडि बढाएको देखिन्छ । गाउँपालिकास्थित प्राविधिक शाखा प्रमुख इन्जिनीयर नवराज भण्डारीले पुलको र्याम्प निर्माणका लागि चालु आर्थिक वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएको बताए । उनका अनुसार गत फागुन ३ गते गाउँपालिकाले प्रतिष्पर्धा आधारमा काम गराउन सूचना प्रकाशित गरेर ठेक्का आव्हान गरेको थियो । त्यसबेला निर्माण कार्यका लागि आवेदन भरेका मध्ये ब्लुवर्ड र सीएण्डसी निर्माण कम्पनी छनौट भएका थिए । ‘तर, दुबै कम्पनी सम्झौता गर्न आएनन्,’ भण्डारीले भने, ‘त्यसले चाहेर पनि काम अगाडि बढाउन सकिएन ।’ त्यसपछि गत चैत ६ गते बसेको गाउँकार्यपालिका बैंठकले उपभोक्ता समिति गठन गरेर काम अगाडि बढाउने निर्णय गरेको थियो । अझैसम्म उपभोक्ता समिति गठन हुन सकेको छैन ।
‘उपभोक्ता समिति गठनका लागि बारम्बार आग्रह गरिरहेका छौं,’ उनले भने, ‘तर, किन हो गठन हुन सकेको छैन ।’ यसले काममा झन ढिलाई भइरहेको उनले बताए । भण्डारीका अनुसार पहिलोपटक पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरेर २०७७ माघ २७ गते तीन महिनामा काम पूरा गर्नेगरि कार्यादेश दिइएको थियो । उक्त अवधिमा काम पूरा नभएपछि २०७८ बैशाख २३ गते ६ महिनाका लागि म्याद थप गरिएको थियो । थप गरिएको समयमापनि काम हुन सकेन । त्यसपछि २०७८ कार्तिक २६ गते पुनः ६ महिनाका लागि म्याद थप गरिएको थियो । यसबीचमा कोरोना महामारी फैलिएपछि निर्माणको काम प्रभावित भएको इन्जिनीयर भण्डारीले बताए ।
त्यसपछि गाँउसभाको निर्णयबाट २०७९ कार्तिक ३० गते अन्तिमपटक ८ महिनाका लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा पुल निर्माण पूरा भए पनि आर्थिक अभाव र निर्माण सामाग्री महंगिएको जनाउँदैं बेनिनगर झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले दुबैतर्फ र्याम्प तयार गरेन । जसले गर्दा पुल लामो समय अधुरै भएको उनले बताए ।
गाउँपालिकाका अनुसार अहिलेसम्म पुल निर्माणका लागि ८० लाख ८१ हजार ६ सय ७८ रुपैयाँ खर्च भइसकेको छ । लुम्बिनी एकीकृत बिकास संस्था (लिडो) को परामर्शमा निर्माण गरिएको पुलको लठ्ठा र पुलको नट कस्ने कामका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत ६ लाख ३९ हजार ५ सय ३ रुपैयाँको सहयोग मिलेको थियो । गाउँपालिकाले स्टीलको काम गर्न २५ लाख ५२ हजार ७ सय २५ रुपैयाँ बिनियोजन गरेको जनायो । त्यसमध्ये २४ लाख ४० हजार ४ सय ६५ रुपैयाँ भुक्तानी भइसकेको छ । गाउँपालिकाले लेवर र पाइलिङका लागि पालिकाले ४२ लाख १२ हजार ४ सय ६८ रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये ३६ लाख ९ हजार ५ सय ९७ रुपैयाँ भुक्तानी भइसकेको इन्जिनियर भण्डारीले बताए । पुल निर्माणको परामर्शदाताका लागि ४ लाख ५३ हजार ९ सय ६ रुपैयाँ बिनियोजन गरिएकोमा लिडोले २ लाख ९५ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । ‘निर्माण सम्झौंतामा र्याम्प निर्माण गर्ने उल्लेख छ,’ भण्डारीले भने, ‘उपभोक्ता समितिले पुरानै दररेटमा काम गर्न नसक्ने निवेदन दिएपछि अधुरो रह्यो ।’
गाउँको चलनचल्तिको बाटोसित पुल जोडिएको छैन । बाटोबाट खेत हुँदै पुलसम्म पुग्नुपर्छ । निर्माण सुरु गर्दा स्थानीयले पहुँच मार्गका लागि जग्गा उपलब्ध गराउने मौखिक सम्झौता गरेका थिए । अहिले दिन आनाकानी गरिरहेको पालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीयको गुनासोपछि तत्काल पुल निर्माणको बाँकी काम पूरा गर्न निर्देशन दिइसकेको बताए । र्याम्प निर्माण नभएपछि भोग्नु परेको समस्याबारे स्थानीयले गुनासो गरेपछि अर्यालले सबै पक्रिया पूरा गरेर डेढ महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिइएको बताए । ‘समस्याबारे स्थलगत बुझ्छु,’ उनले भने, ‘वास्तविकता बुझेपछि निर्माणका लागि समन्वय गर्छु ।’ यस विषयमा आफू गम्भीर भएकाले समस्या समाधानका लागि पहल गर्ने उनले बताए ।








प्रतिकृया दिनुहोस्