November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सडक क्षेत्रका रुख कटानमा ढिलासुस्तीले मर्चवारको चारलेन सडक अलपत्र

भैरहवा– अन्तर सरकारी निकायबीचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेन सडक निर्माण अलपत्र परेको छ । सिंचाई कार्यालय मातहत रहेको नहरका छेउछाउका रुख कटानमा वन कार्यालय र सिंचाईको समन्वय नहुँदा सडक अपत्र परेको हो । कालोपत्रे गर्नका लागि तयारी अवस्थामा रहेको सडक रुख कटानमा भइरहेको ढिलाईले अलपत्र परेको छ । सरकारी निकाय भने एकअर्कामा दोष थुपारेर पन्छिने गरेका छन् । जसले गर्दा धुलाम्मे सडकका कारण स्थानीयले सास्ती खेपिरहेका छन् ।

Advertisement

सडकको बीच भाग र किनारमा रहेका रुख कुन निकायले कटान गर्ने भन्ने खिचातानीले बेलबास–बेथरी–मर्चवार सडक अन्तर्गत बनगाई–सेमरा–खैराघाट खण्ड निर्माण अलपत्र परेको हो । रुख कटान गर्न जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय र डिभिजन वन कार्यालय, रुपन्देही पन्छिने गरेका छन् । यी कार्यालयले संघबाट स्वीकृत प्राप्त पछि मात्रै रुख कटान गर्ने जनाए पछि अहिले कालोपत्रेको काम रोकिएको छ । सडक निर्माणका लागि ठेक्का लिएको लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीले गुरवानियादेखि मर्चवारको मर्यादपुरसम्म सडक पिच गर्नका लागि तयारी थालेको महिनौं भइसकेको छ । तर सडकको बीचमा रहेका रुखका कारण असफाल्ट कंक्रिटको काम हुन सकेको छैन ।

Advertisement

वर्षौदेखि स्तरीय सडक नहुँदा ओझेलमा पर्दै आएको मर्चवारलाई जिल्लाका भैरहवा, बुटवल लगायतका सहरसित सहज मार्गले जोड्न चार लेन सडक निर्माण भइरहेको हो । अन्तर सरकारी निकायबीचको समन्वय र बेवास्ताले सडक अलपत्र पर्दा यहाँका जनप्रतिनिधि र स्थानीय चिन्तित बनेका छन् । ‘दुई वर्षदेखि कालोपत्रेका लागि तयारी रहेको सडक रुख कटान नहुँदा काम रोकिएको छ’, मर्चवारका स्थानीय गुरुबचन यादव भन्छन्, ‘सरकारी निकायबाटै यतिसम्म लापरबाही हुँदा हामीले दुःख पाइरहेका छौं ।’ उनले तत्काल रुख कटान गरेर कालोपत्रेको काम सुरु नभए अब स्थानीय चुप लागेर नबस्ने जनाए ।

बेलबासबाट बेथरीसम्म निर्माण पूरा भएर सञ्चालनमा आइसकेकोे छ । रुख कटान नहुँदा भैरहवा–लुम्बिनी सडक खण्डको गुरवानियाबाट दक्षिण पाँच किलोमिटर पिच निर्माण प्रभावित भएको हो । सडक पूर्वाधार बिकास कार्यालय, रुपन्देहीले २३ करोड १२ लाख ८९ हजार रुपैयाँमा २०७७ कार्तिक १६ गते ठेक्का सम्झौंता गरेर निर्माण सुरु भएको थियो । उक्त सम्झौंता अनुसार २०८० बैंशाख ३१ सम्म यसको निर्माण सकिनु पथ्र्यो । उक्त अवधिमा निर्माण पूरा नभएपछि सडक डिभिजन कार्यालयले एक वर्ष म्याद थप गरेको थियो ।

यस अवधिमा पनि सडक क्षेत्रमा रहेका १ सय १७ वटा रुख कटान नभएपछि निर्माण प्रभावित भएको हो । निर्माण कम्पनीले पटकपटक आग्रह गर्दासमेत रुख कटान नभएको भन्दै अझै ढिलाई गरे अहिलेकै अवस्थामा सडक कालोपत्रे गर्ने चेतावनी दिएको छ । ‘हामीले सबैतिर धायौं, कतैबाट सुनुवाई भएको छैन’, लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीका प्रबन्ध निर्देशक तौफिक खाँनले भने, ‘ढिलासुस्ती धेरै भयो । अब यत्तिकै पिच गर्ने तयारीमा छौं ।’

निर्माण कम्पनीका अनुसार प्रदेश अन्तर्गत रहेको सडकको अहिलेसम्म ७५ प्रतिशत काम पूरा भइसकेकोे छ । अहिलेसम्म ५८ प्रतिशत रकम भुक्तानी भइसकेको छ । रुख कटानका लागि स्थानीय सामुदायिक वन, सिंचाई डिभिजन कार्यालयदेखि मन्त्रालय र विभागसम्म धाइसकेको खाँनले जनाए । ‘सुनुवाई अझै भएको छैन’, उनले भने । पूर्व मन्त्रीसमेत रहेका स्थानीय बासिन्दा ओमप्रकाश यादवका अनुसार यो सडक मर्चवारको ‘लाइफलाइन’ हो । उत्तर चुरे क्षेत्रलाई भारतीय सीमासित जोड्ने भएकाले सडक निर्माणपछि मर्चवारका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने उनले बताए । उनका अनुुसार अहिले वनगाईबाट मर्यादपुरसम्म पहिलो खण्डको काम भइरहेको छ । यसपछि मर्यादपुरबाट खैराघाटसम्म चार लेन निर्माणको योजना छ ।

सडक अपूरो हुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । सडकको बीचमा रुख भएकाले गाडी दुर्घटना बढेका छन् । ‘पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले सताउँछ,’ उनले भने, ‘१० मिनेट लाग्ने सडकमा यात्रा गर्न आधा घण्टा लाग्छ ।’ समयमा पिच निर्माण नहुँदा सडक बिग्रिँदै गएको उनले बताए । ‘सडक किनारमा घर, पशल भएकालाई झन मर्का छ,’ उनले भने, ‘भान्सामै धुलो पस्छ, गाडीमोटर रुखमा ठोक्किएर नहरमा खस्छन् ।’

यस्तो समस्याबारे यस क्षेत्रबाट चुनिएर गएका प्रदेश र संघीय सांसदले ध्यानाकर्षण गराउन नसकेको कोटहीमाईमा गुरुबचन यादवले आरोप लगाए । वन डिभिजन कार्यालयले रुखको स्वामित्व आफू मातहत नरहेकाले कटान गर्न नसकिएको जनाएको छ । कार्यालयका अनुसार यी रुख मर्चवार लिफ्ट सिंचाई योजना अन्तर्गत नहरको क्षेत्राधिकार भित्र रहेका छन् । त्यसैले रुखको स्वामित्व सिंचाई विभाग अन्तर्गत रहेको छ । वन अधिकृत दीपक केसीले सिंचाई विभागले रुख कटान गरिदिन भनेर लेख्ने वित्तिकै हटाउन सकिने बताए ।

रुखको स्वामित्वको विषय प्रष्ट नहुँदा जिल्लास्थित वन कार्यालय पन्छिने गरेको छ भने सिंचाई डिभिजनले केन्द्रबाट जवाफ नआएको भन्दै निर्णय लिन सकेको छैन । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख दीपक सापकोटाले पटकपटक पत्राचार गर्दा समेत केन्द्रबाट जवाफ नआएकाले निर्णय लिन नसकिएको हो । ‘केन्द्रले स्वीकृति दियो भने रुख कटान तुरुन्त हुन्छ’, उनले भने । सडक निर्माणमा भइरहेको ढिलाईको मुख्य कारण नै संघ र प्रदेशको क्षेत्राधिकार तथा अन्तरसरकारी निकायबीचको समन्वय अभाव हो ।

रुपन्देहीका तीन पालिका कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाको लाइफलाइन मानिएको यो सडकखण्डमा रुख कटानकै कारण निर्माणमा भइरहेको ढिलाईले अन्तरसरकारी निकायबीच कस्तो तालमेल हुन्छ भन्ने कुरा छताछुल्ल पारेको छ । प्रदेशसभा सदस्य वसिउद्दिन खाँनले सडकका बीचमा रहेका रुख हटाउन धेरै पटक आग्रह गर्दासमेत बेवास्ता हुँदै आएको जनाए । उनले अझै पनि ढिलाई गरे आफ्नो अग्रसरतामा रुख हटाइने चेतावनी दिए ।