पुलबाट आउजाउ गर्न भर्याङको सहायता !



भैरहवा– पुल भएको ठाउँमा हामीले सहजै अनुमान लगाउन सक्छौं, सर्वसाधारलगायत जोसुकैलाई पनि आउजाउ गर्न सहज भएको छ । तर, यसको ठीकविपरीत रुपन्देहीको मर्चवारमा बनाइएको झोलुंगे पुलले भने सर्वसाधरणलाई सहजता तुल्याउनुको साटो उल्टै दुर्घटना बढाएको छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाउँपालिका वडा नम्बर २ भुवरी र ५ बेनीनगर जोड्ने गरी तिनाउ नदीमा बनाइएको झोलुङ्गे पुल अधुरो छाडिँदा स्थानीयहरुलाई सास्ती भएको छ नै दैनिक दुर्घटना भइरहेको छ ।
यहाँ बनेको पुलको संरचना सबै तयार छन्, तर दुबैतर्फको छेउछाउमा बनाइएको पिलरबाट चढ्ने र ओर्लने सिढी छैन । सिंढी नहुँदा स्थानीयले जोखिमकाबीच करिब ७ फिट अग्लो बाँसको भर्याङ बनाएर पुल चढ्ने र झर्ने गर्छन् । ‘कोही नभएको जात्रा हाम्रोमा छ, यस्तो पुल मैले कहिल्यै लेखेको थिएन’, स्थानीय साहरत अहिर भन्छन्, ‘पुल बन्यो भनेर खुशी थियौं तर सिढी नबनाइँदा निकै दुखित छौं । यसरी अलपत्र छाड्नेलाई कारबाही हुनुपर्छ ।’
झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको ६१ लाख ९४ हजार ७ सय ६२, कोटहीमाई गाउँपालिकाको १० लाख ४५ हजार २ सय ४०, लठ्ठा, बोल्डर, ग्रीप लगायत सामाग्रीको ६ लाख ३९ हजार ५ सय ३ र उपभोक्ता समितिको १ लाख ६० हजार ८ सय ६ रुपैयाँ गरि ८० लाख ४० हजार ३ सय १२ रुपैयाँमा २०७७ सालमा पुल निर्माण सुरु भएको थियो । पुल निर्माणको लागि उपभोक्ता समिति गठन गरि २०७७ साल माघ २७ गते कार्यादेश दिइएको थियो । निर्माण सुरु भएको ३ बर्षमा पुल त बन्यो तर पुल चढ्न सिढी भने बनाइएन । यसबीचमा सिढी बनाउन उपभोक्ता समितिलाई ४ पटक म्याद थप गरिएको कोटहीमाई गाउँपालिकाका इन्जिनियर नवराज भण्डारीले बताए ।
‘कोरोना महामारीले पनि निर्माणमा केही ढिलाई भयो तर खासमा राजनीतिक दाउपेचले नै काम अधुरो छाडिएको छ’, उनले भने, ‘उपभोक्ता समितिमा धेरै दलमा आस्था राख्ने व्यक्तिहरु छन्, उनीहरुले आआफ्नो इन्टेष्ट अनुसार काम गरिरहेका छन् ।’ राजनीतिक दाउपेचमा पुल अपुरो छाड्ने उपभोक्ता समिति र त्यसमा संलग्नलाई भने पालिकाले कारबाहीको दायरामा ल्याउ सकेको छैन ।

यहाँ नदी वारपार गर्न बाँसको सिढीबाट स्थानीय र विद्यार्थीले साइकल बोकेर पुल चढ्ने र झर्ने गरेको दृश्य भयानक छ । यसरी जोखिम मोलेर बाँसको सिढी प्रयोग गर्दा कयौं सर्वसाधारण र विद्यार्थी घाइते भएका छन् । कहिलेकाही विद्यार्थीको पढाई नै छुट्ने गरेको छ । सिढी नभएकै कारण कयौं नदी तर्न बाध्य छन् । ‘सिढीबाट पुल चढ्दा कतिपटक हामी लड्यौं र पढाई नै छुटेको छ’, विद्यार्थी सन्तोष मौर्यले भने, ‘निर्माणकर्ताले यतिसम्म नगरेको भए हुन्थ्यो । हामीले साह्रै दुःख पायौं ।’
पुल सम्पन्न नहुँदै उपभोक्ता समितिले गत असारमा भुक्तानी लगिसकेको छ । तर, सिढी बनाउने काम भने अधुरै छ । पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माण सम्पन्न नगर्ने उपभोक्ता समितिले अहिले बाँकी काम आफूहरुले पाउनु पर्ने माग गरिरहेको छ । पुल निर्माणमा उपभोक्ता समिति र स्थानीय स्तरको राजनीतिले पनि प्रत्यक्ष असर पारिरहेको छ । तत्कालीन उपभोक्ता समिति अध्यक्ष ओमप्रकाश चौधरीले गाउँपालिकाको अदूरदर्शी निर्णयको कारण यो अवश्था आएको आरोप लगाए ।
आरोप प्रत्यारोप भन्दा पनि पुलबाट आउजाउ गर्नका लागि तत्काल सिढी बनाउनुपर्ने माग स्थानीयको छ । हिउँदमा सहज भए पनि वर्षा याममा कठिन हुने भएकाले स्थानीयले चाँडो सिढी बनाइदिन आग्रह गर्दै आएका छन् । तर, पालिका र उपभोक्ता समितिले भने ढिलासुस्ती गरिरहेका छन् । ‘बाँसको सिढी प्रयोग गरी आउजाउ गर्दा अहिलेसम्म सामान्य दुर्घटना भए पनि भोलिका दिनमा मानवीय क्षति हुने गरी घटना नहोला भन्ने सकिँदैन । यसतर्फ सरोकारवाला समयमै सचेत हुनुपर्ने देखिन्छ’, स्थानीय शिवपुजन हरिजनले भने ।









प्रतिकृया दिनुहोस्