November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

हराउँदै मौलिक सीप

रुकुम पूर्व– यहाँको सिस्ने गाउँपालिका–३ पोखराका ७९ वर्षीय देवबहादुर खत्री थरीथरी सीपयुक्त छन् । उमेरमा यहाँबाट घिउ बेच्न रुपन्देहीको बटौली बजारदेखि नेपालगञ्जसम्म पुग्ने गर्थे । गाउँमा मोटर पुगेपछि ती दुःख हटेका छन् । तर, साँझ बिहान छाक जुटाउनु पर्ने बाध्यता टरेको छैन । त्यसैले जिविकोपार्जनका लागि दैनिक प्रयोगमा आउने सरसामान घरमै बनाउने गरेको उनी सुनाउँछन् ।

Advertisement

घरेलु उत्पादनको प्रयोग पहिलेजस्तो छैन । त्यस्ता सामानको प्रयोग हराउँदैं गएपछि उनलाई चिन्ता लागेको छ । नयाँ पुस्ता यस्तो सीप सिक्न खोज्दैनन् । देवबहादुर आफूले जानेको सीप संकटमा पर्दै गएको बताउँछन् । नयाँ पुस्ताले सिक्न चासो नदिएको दुखेसो पोक्छन् । ‘डोको, नाम्लो घरमै बनाउँथ्यौं,’ उनले भने, ‘पशु–चौपाया बाँध्ने दाम्लोदेखि अन्नपात भण्डारण गर्ने कोठा अनि सुपो, झर्ना र ढकिया पनि बुन्थ्यौं ।’ घरमा अहिले यस्ता सामान छन् । ती पुराना हुँदैं गएका छन् । विक्री नभएपछि बनाउने जाँगर चल्न छाडेको उनले बताए ।

Advertisement

खत्रीको मात्रै यस्तो अवस्था छैन । मौलिक सीप जानेको पुस्ता पाको हुँदै छन् । नयाँ पुस्ताले सिक्न चासो देखाएनन् । त्यसैले गाउँघरबाट मौलिक सीप हराउँदैं गएको छ । ग्रामीण बस्तीमै यस्ता समाग्री हराउन थालेका छन् । भिमलको र अल्लोको डोरी अनि निगालो र बाँसको चोयाबाट बनाइने घरायसी सामग्रीको उत्पादनसँगै प्रयोग पनि घट्दो छ । सिस्ने–३ कि चन्द्रकला खड्का बुवा–आमाले बुनेका डोका–नाम्ला प्रयोगमा आउन छाडेको बताउँछिन् । बजारमा आउने पलास्टिकका तयारी सामानको प्रयोग हुन थालेपछि घरेलु उत्पादन विक्री ठप्प भएको उनले बताइन् ।

स्थानीय ८४ बर्षीय मनराम बुढा भिमल र भाङ्गोका डोरीबाट नम्लो र डोरी बनाएको सम्झिन्छन् । ‘भिमलको पात घाँस अनि डालोलाई पानीमा भिजाएर लोक्ता निकाली घाँममा सुकाएर डोरी बनाउँथ्यौं,’ उनले भने, ‘भाङ्गोको पनि डाठको बाहिरपट्टीको बोक्रा निकालेर डोरी बनाइन्थ्यो । यसैलाई प्रयोग गरेर बरियो (नम्लो) अनि भैँसी बाँध्ने दाम्लोदेखि धेरै सामग्री बनाउँथ्यौं ।’ यसरी बनाएको डोरी लामो समय टिक्ने र प्रयोग गर्न पनि सहज हुने गरेको उनको भनाई छ । यसको सट्टामा बजारिया पलास्टिकको डोरी नै प्रयोग हुने बताउँछन् ।

बाँस र निगालोको चोया काढेर बनाइएका विभिन्न थरीका डोको लगायत सामान बुन्ने सिप हराउँदैं गएको सिस्ने–२ का टलकबहादुर खड्काले बताए । फागुन–चैतमा वनमा गएर निगालो ल्याएपछि चोया निकालेर डोको, मान्द्रो बुन्ने गरेको उनले सम्झिए । उनका छोराले सीप सिकेका थिए । तर, उनले निरन्तरता दिएनन् । अहिले आफैलाई डोको आवश्यक परेका नयाँ बन्न नसकिने उनी बताउँछन् । घाँस–दाउराका लागि नभइ नहुने डोकोको प्रयोग अहिले पनि छ । तर, गाउँमा डोको बुन्ने मानिसको अभाव भइरहेको छ । आफूहरुको सिप पछिल्लो पुस्तामा हन्तान्तरण हुन नसकेको खड्काको भनाई छ ।

सिस्ने–५, की सपना विसीले अहिले पनि बावियोबाट ढकिया, कुचो र बिभिन्न डोरी अनि धानको परालबाट गुन्द्री, मकैको पोक्सरबाट चकटी आदी तयार गर्ने गरेको बताइन् । तर हस्तान्तरण नगर्दा समस्या भइरहेको उनले बताइन् । आमा र काकीबाट सीप सिकेको बताउँदै उनले अब यस्ता सामग्रीको प्रयोग हराउँदैं गएको बताइन् । पोखराका ८१ बर्षीय दलबिर ओलीले पनि दैनिक प्रयोगमा आउने सबै सामान घरमै तयार गर्ने गरेको बताए । डोको, नाम्लो देखी बरियो अनि अन्न भण्डार गर्ने थरीथरीका मौलिक भकारी बनाएको सम्झिँदै उनी भन्छन्, ‘हामीले चोयाबाट बिभिन्न घरबुना मौलिक भकारी बनाउँथ्यौं । अनि ठकी बोक्ने जाबो, घाँस बोक्ने डोको, नाम्लो र बिभिन्न थरीमा डोरी र बाबियोको ढकिया र पेटारो बनाउँथ्यौं ।’

पशु–चौपाया चराउन बनपाखा चहार्दा हात खाली नगरेर यस प्रकारका सर–सामान बनाउने गरेको ओलीको भनाई छ । ‘गाईभैँसी चराउँदा पनि हाम्रो हात खाली हुन्थेन’, पहिलेका दिन सम्झिँदै उनी भन्छन्, ‘साथी–साथी बिचमा यस्ता सर–सामान बनाउने प्रतिपर्धा नै पो हुन्थ्यो । कस्ले धेरै र कस्ले राम्रो बनाउने भन्ने । तर अब त न त्यो जागर रह्यो, न ति बेलामा साथीसंगी । समय फेरियो याद ताजै छ ।’

गाउँघरमा बनाइएका यसप्रकारका बिभिन्न सामग्री अरु सामानसँग साटेर आपसका आवश्यकताहरु पुरा गर्ने गरेको अघिल्लो पुस्ताको भनाई छ । पोखराका देबबहादुर खत्रीले भने, ‘हामी दाम्लो बाट्थ्यौं अनि डोकोसंग साट्थ्यौं । यसरी साटफेर गरेर काम चल्थ्यो । यसो गर्दा धेरै चिज किन्नै पर्थेन ।’ पोखराकै तेजेन्द्र खड्काले आफूहरुले बा पुस्ताबाट केही सिप सिकेको भए पनि त्यसको व्यवहारिक प्रयोग निकै कम भैरहेको बताए । ‘हरेक कुराहरुको बिकल्प आयो । यसकारण हामी पनि अल्छि हुँदै गयौं । अब त बजारमा पाइने तयारी सामान नै सजिलो लाग्छ ।’ दैनिक आवश्यकता मात्रै पुरा गर्नकै लागी काम गर्ने समयबाट आफूहरु माथी आएको र समयसंगै मान्छेको जीवनशैली र आवश्यकताहरुमा पनि फरक आएकाले यसप्रकारका मौलिक सिपहरु मासिँदै जान थालेको खड्काको अनुमान छ ।

उनी थप्छन्, ‘हामी भन्दा अघिल्लो पुस्ताले खेतबारी र पशु–चौपायाकै सेवामा समय बिताए । हामी भने संसारसँग प्रतिस्पर्धा गर्न तम्सिएका छौ । अनि डोको–नाम्लो हाम्रो प्राथमितामा परेन ।’ स्थानीय वस्तुको बहुउपयोग गरेर दैनिक आवश्यकता पुर्ती गर्ने मौलिक शैलीमा ह्रास आएकोमा पोखराकै पूर्व शिक्षक महेन्द्र केसीलाई राम्रो लागेको छैन । ‘हामी त हात खाली नगरेर काम गथ्यौं । छर–छिमेक र चौतारीमा सुस्ताउँदा पनि हातमा केही न केही काम हुन्थ्यो । यसरी काम गर्दा एकातिर सिर्जनशिल भइन्थ्यो भने अर्कोतिर आवश्यतका पुर्ती हुन्थ्यो ।’ उनी भन्छन्, ‘भिमलको पातलाई घाँस, डालीलाई दाउरा र बोक्राको डोरी बनाउँथ्यौं । निगालो अनि बाँसको पनि पातको घाँस, डालीको दाउरा र बोक्राको चोया निकालेर डोको बुन्थ्यौं । यसो गर्दा केही कुरा खेर जान्थेन । सबै प्रयोग हुन्थ्यो ।’