वनको आम्दानीले विकास



अर्घाखाँची– अर्घाखाँची सदरमुकामबाट टाढा शितगंगा नगरपालिका–१३ भंगलामा २ सय ७ हेक्टर क्षेत्रफल वन छ । जसमध्ये १ सय २६ हेक्टर क्षेत्रफल सम्बद्र्धन प्रणालीमा आधारित हो । यहाँ ठूला रुख र विरुवा हुर्केका छन् । समुदायले गोडमेल, रेखदेख र स्याहारसुसार गर्छन् । जंगलमा साल, असना, कर्मा लगायतका रुख छन् । बूढा रुख ढालेर काठ, दाउरा तयार गरेर बिक्री गर्ने र साना रुख हुर्काउन उपभोक्ताले बाह्रै महिना काम गर्छन् । काठ बेचेर वार्षिक सरदरमा ५० देखि ८० लाख रुपैयाँसम्म आम्दानी हुन्छ । त्यही पैसाले गाउँमा इन्टरनेट जडान गरिएको धिरीखोला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष हेमकला गुरुङले बताइन् ।
‘सञ्चारसँग जोडिनुपर्छ,’ उनले भनिन, ‘दाउरा बेचेको आम्दानीले इन्टरनेट जोडेर एकै पटक सबैले सेवा लियौं । पढ्ने विद्यार्थी, शिक्षकलाई शैक्षिक सामाग्री खोज्न र जसलाई जे ज्ञानका कुरा जान्न, सिक्न परेको छ त्यो सबै इन्टरनेट भएपछि सहज भएको छ ।’ मनोरञ्जन खालका भिडियो देखि संसदमा नेता बालेको भिडियो हेर्ने मौकाले राजनीति बुझ्न पाएको उनले बताइन् । बन्द हुनु अघि धेरै महिलाले टिकटक बनाउँथे । इन्टरनेट जोडेपछि शहरमा बसेजस्तै भएको स्थानीय बताउँछन् ।
केही वर्षअघिसम्म यो गाउँमा विजुली थिएन । शितगंगाको सुगम गाउँमा सरकारले विद्युत विस्तार गरे पनि यहाँ चासो दिएन । गाउँलेले विद्युत ल्याउन रकमको जोहो गर्न दाउरा बेचे । वनकै आम्दानीले १८ लाख रुपैयाँ लगानीमा गाउँमा विद्युत विस्तार भएको छ । अहिले गाउँ उज्यालो भएको छ । घरमा टेलिभिजन जडान छन् । खेतबारीमा सिचाइका लागि ६० लाख रुपैयाँको लगानीमा पक्की कुलो निर्माण भएको छ । भंगला खोलाबाट खेतसम्म एक किलोमिटर दुरी छ । वर्षामा धान रोप्न, सिंचाई गर्न र हिउँदमा मकै, गहुँ, आलु, मौसमी तथा बेमौसमी तरकारी खेतीको लागि पानी प्रशस्त पुगेको अध्यक्ष गुरुङले बताइन् । यहाँ वर्षमा वर्षे र हिउँदे धान खेती हुन्छ । गहुँ र मकै पनि राम्रो उत्पादन हुन्छ । ५५ बिघा खेतलाई सिचाइ पुगेको उनले बताइन् । कुलोको बाँध निर्माण देखि खेतसम्म काम सम्पन्न गर्न तीनवर्ष लाग्यो । खेतीयोग्य जमिन भएकाले अन्न उत्पादन राम्रो हुन्छ । यहाँ कपिलवस्तुको वनगाई–अर्घाखाँचीको दोहोटे सडक जोडिन्छ ।
कपिलवस्तुको सरेपानी र अर्घाखाँचीको धिरीखोला सामुदायिक वनको ४ लाख ५० हजार संयुक्त लगानीमा वनगाई–दोहोडे कच्ची सडक ग्राभेल गरिएको छ । भंगला गाउँको २२ सय मिटर सडक ग्राभेल सम्पन्न भएको छ । ‘गाउँको सडकलाई कालोपत्रे, पिच गर्ने योजना छ,’ धिरीखोला वनका पूर्वअध्यक्ष नारायण भुसालले भने, ‘पहिला मुख्य सडक पिच गर्छौ र क्रमश सबैका घर आगनसम्म पुग्ने बाटो पिच हुन्छ ।’ गाउँमै बालुकण्ठ आधारभूत विद्यालय छ । १२ लाख रुपैयाँ लगानीमा ५ कोठे भवन निर्माणसम्पन्न भएको छ । ७ लाखमा भगवती मन्दिर निर्माण भएको छ । वनकै आम्दानीबाट कृषि कर्जामा लगानी भएको छ । पशुपालनको लागि ७० लाख रुपैयाँ घुम्ती कोष स्थापना छ । पशुपालनको लागि ३ प्रतिशत ब्याजमा ऋण उपलब्ध हुने भुसालले बताए ।
१६ जनाले भैसीपालन, १३ जनाले बाख्रापालन, ३ जनाले लोकल कुखुरा, ब्रोइलर र कोइलर कुखुरापालनका लागि ऋण लगेका धिरीखोला वनकी सचिव पवित्रा रानाले बताइन् । समूहमा एउटा हाते ट्याक्टर र घाँस काट्ने मेसिन ५ वटा छन् । सबैका खेत यही ट्याक्टरले काम चलाइन्छ । ‘कृषि खेतीको लागि एक जनाले कोषबाट ३ लाख रुपैयाँ ऋण दिइन्छ,’ उनले भनिन्, ‘५ वर्षमा सबै चुक्ता गर्नुपर्छ ।’ यसरी ऋण लिएर वनकै अध्यक्ष हेकमला गुरुङले कोषबाट ७० हजार रुपैयाँ ऋण लिएर १८ वटा बाख्रा पालेकी छिन् । उनले खसीबोका उत्पादन गरेर ब्याज तिरेकी छिन् । युवा वसन्तप्रसाद भुसालले ७० हजार रुपैयाँ ऋण लगेर भैसीपालन गरेका छन् । तरकारी र खाद्य उत्पादन नयाँ तरिकाले गरिँदैछ । एकघर, एक प्लाष्टिक टनेल वितरण गर्ने लक्ष्य छ । ‘३४ घरले टनेलमा कृषि उपज उत्पादन गर्ने हो,’ उनले भनिन्, ‘सबै टनेलमा एउटै कृषि उत्पादन गर्दैनौं । ३४ टनेलमा फरक–फरक कृषि उपज उत्पादन गर्ने हो ।’
एउटा टनेलमा गोलभेंडा, अर्काेमा काँक्रो लगायत सबै टनेलमा फरक–फरक वस्तु उत्पादन गरेपछि बजारमा सबैको सबैथरी उत्पादन बिक्री हुने र आम्दानी राम्रो हुने भएकाले यो तरिका अपनाउन थालेको सचिव रानाले बताइन । ठूलो मात्रामा दूध उत्पादन गर्ने उनले बताइन् । यहाँ उत्पादन भएका कुखुरा, खसीबोका, तरकारी कपिलवस्तु निर्यात हुन्छ । दूध र कृषि उपज बजारसम्म लैजानको लागि समुहमा एउटा गाडी किन्ने लक्ष्य रहेको छ । यहाँबाट ६ जना मात्रै वैदेशिक रोजगारीमा छन् । उनीहरुलाई फर्केपछि यही काममा लगाइने उनको भनाई छ । वैदेशिक रोजगारीबाट फर्केर दुई जना युवाले गाउँमै अटोरिक्सा चलाएका छन् ।

भारतबाट फर्केका दिलीप घम र साउदीबाट फर्केर विष्णु घमले कोषबाटै ऋण लिगेर रिक्सा व्यवसाय गरेका हुन । उनीहरुले गाउँकै भेडामारे–सिमलपानी यात्रु बोक्ने गर्छन् । कृष्णप्रसाद भुसाल वनमै रोजगारी पाएपछि साउदी जान छाडेका छन् । १२ वर्ष विदेशमा रोजगारी गरेका उनी वनमा विरुवा रोप्ने, गोलमेल गर्ने, विरुवामा सिंचाइ गर्ने, दाउरा चिर्ने, फायरसाइड निर्माण गर्ने, वगैचाबाट झारपात हटाउने उनको काम हो । काटेका दाउरा, काठ र वनमा चोरी हुनबाट जोगाउने काममा पनि उनी खटिएका छन् । पुराना रुख हटाउने र नयाँ विरुवा रोपेर मलजल, संरक्षण गरेपछि छिटै काठको रुपमा परिणत हुन्छ ।
‘हामीले पनि वनमै रोजगारी र भावी पुस्तालाई पनि सम्पत्ती हुन्छ,’ उनले भने । महिलाले झारपात हटाउने देखि हलुका काम गर्ने र पुरुषले काठ चिर्ने, रुख ढाल्ने, गाडीमा लोड गर्ने लगायतका काम गर्छन् । ९ वर्ष कतार, मलेसिया र इराकमा बिताएका गिरबहादुर रानाले वनमा काठ चिरान गर्ने, जंगलमा झाडी फाँड्ने, रुख ढालेर गोलिया बनाउने, घर निर्माणका लागि काठ तयार गर्ने, फायरलाइन बनाउन, विरुवा हुर्काउन मलजल गर्ने लगायतका काम विहान देखि साँझसम्म गर्छन् । त्यसवापत उनले दैनिक ८ सय रुपैयाँ पाउँछन् । वनलाई संरक्षण र अर्काेतिर रोजगारी दवै काम गर्न पाएपछि वैदेशिक रोजगारी त्यागेको उनले बताए । उपभोक्ताले सामाजिक काम पनि गरेका छन् । गरिबी न्युनिकरण कोष स्थापना भएको छ । कोषमा अहिले १ करोड २ लाख रुपैयाँ छ ।
घरमा परिवारका सदस्यको निधन भएमा करिया खर्च १५ हजार रुपैयाँ, सुत्केरी भए कोष खर्च ५ देखि १० हजार, दीर्घरोगलाई वार्षिक ५ देखि १० हजार रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराइन्छ । भंगला गाउँमा पहिले कच्ची खरको छानोका घरगोठ थिए । अहिले केही पक्की, धेरै जस्तापाताको घर, गोठ र चर्पी छन् । घर कर्जा पनि पाइन्छ । एउटा नयाँ घर बनाउन र जस्ता पाताले छाउन ३ लाख कर्जा उपलब्ध हुन्छ ।








प्रतिकृया दिनुहोस्