असफल बन्दैं स्मार्ट कृषि कार्यक्रम



भैरहवा– कृषिलाई आधुनिकिकरण र कृषकको क्षमता बृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा सञ्चालित स्मार्ट कृषि कार्यक्रम असफल बन्दै गएको छ । कृषिलाई स्मार्ट बनाउने नीति अनुसार गरिएको लगानी खेर जान थालेको छ । लुम्बिनी प्रदेश सरकारले स्वदेशमै उद्यमी बन्न चाहने युवा लक्षित गरेर ‘स्मार्ट कृषि’ कार्यक्रम सञ्चालन गरेको थियो ।
अर्घाखाँचीको पाणिनी–६, का पुष्कर पौडेल रोजगारीका लागि ७ वर्ष कतार बसेर फर्किएका हुन् । उनलाई गाउँमै कृषि उद्यम गरिरहेका युवा रविरञ्जन केसीले कृषि खेती गर्दा सरकारबाटै अनुदान पाइने जानकारी दिए । गाउँका धेरै घरमा कृषि खेती अभियान चलिरहेको र सरकारबाटै अनुदान पाइने देखेपछि मासिक ७० हजार कमाई हुने विदेशको जागिर छोडेर गाउँमै बसे । गाउँका ९० घर धुरी समेटेर आव २०७६–७७ मा सिद्देश्वर स्मार्ट कृषि समूह बनाए । त्यसको अध्यक्ष पुष्कर आफै बने । उनको समूहलाई सरकारले पहिलो वर्ष ५० लाख रुपैंयाँ अनुदान दियो ।
पहिलो वर्ष समूहका सबैले उत्पादन पनि राम्रो गरे । पुष्कर आफैले किसानबाट खरिद गरेर बजारमा पुर्याएर तरकारी विक्री गरे । तर, दोस्रो वर्षबाट कम हुँदै गएको कृषि खेतीमा अहिले समूहबाट सहभागीता हुनै छोडेको उनले सुनाए । ‘पहिलो वर्ष निकै उत्साह देखियो, तर अहिले छैन्,’ उनले भने, ‘सरकारले पनि अनुदान घटाउँदै लग्यो, युवाले पनि छोड्दै गए । अहिले त कार्यक्रम नै बन्द भयो ।’ उनका अनुसार पहिलो वर्ष ५० लाख दिएको मन्त्रालयले दोस्रो वर्ष २५ प्रतिशत, तेस्रो वर्ष ५० र चौथो वर्ष ७५ प्रतिशतले अनुदान रकम कटौती गर्दै गएको थियो ।
लुम्बिनी प्रदेश सरकारले जलवायु अनुकुलन कृषि प्रणाली, कृषकको आम्दानी दोब्बर वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना र दिगो खाद्य सुरक्षा कायम गर्ने रणनीतिका साथ ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ सुरु गरेको थियो । कृषि उत्पादनलाई बजारमुखी, व्यवसायिक र आत्मनिर्भर बनाउने कार्यक्रमको उद्देश्य थियो । आव २०७५–०७६ बाट प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा सुरु गरिएको कार्यक्रम पहिलो वर्ष सफल देखिएपछि दोस्रो र तेस्रो वर्षमा प्रदेशका १ सय ९ वटै स्थानीय तहमा विस्तार गरिएको थियो । तर, स्थानीय तहले अपनत्व नदेखाएको भन्दै युवा किसान नै अहिले कार्यक्रम बन्द गरेर पलायन हुन थालेका छन् ।
सरकारले हरेक वर्ष नयाँ सुरु हुने कार्यक्रमलाई ५० लाख रुपैंयाँ दिने गरेको थियो । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन कार्यविधि–२०७५ अनुसार एक स्मार्ट कृषि गाउँमा कम्तीमा ५० घरपरिवार सहभागी भएको हुनुपर्ने थियो । त्यस्तै पहाडमा कम्तीमा ५० रोपनी र तराईमा ५० बिघा जमिनमा खेती गरेको हुनुपर्ने थियो । प्रतिघर कम्तीमा पाँच वटा वा प्रतिगाउँ ३ सय वटा गाईभैंसी दुहुनो हुनुपर्ने, माऊ भेडाबाख्रा प्रतिघर १० वटा वा प्रतिगाउँ ५ सय वटा हुनुपर्ने थियो । ब्रोइलर कुखुरा १० हजार प्रतिलट वा पाँच लट प्रतिवर्ष प्रतिगाउँ, अण्डा उत्पादनकम्तिमा १० हजार प्रतिदिन हुनुपर्ने कार्यविधिमा उल्लेख रहेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी युवराज ढकालले बताए ।
कार्यविधि अनुसार मन्त्रालयले गरेको आर्थिक विश्लेषणमा प्रति किसानमा १ सय रुपैंयाँ लगानी हुँदा ५ सय रुपैंयाँको कारोबार हुनुपथ्र्यो । तर, स्मार्ट कृषि कार्यक्रममा ४ वर्षमा लुम्बिनीका १ सय ९ स्थानीय तहमा प्रति स्थानीय तह १ करोड ३० लाख रुपैंयाँ लगानी भएको छ । त्यो अनुसार एउटा स्थानीय तहमा ४ वर्षमा ६ करोड ५० लाख रुपैंयाँको आर्थिक कारोबार हुनुपर्ने भए पनि त्यो हुन नसकेको अर्थ विज्ञ ढकालले बताए । ‘स्मार्ट कृषि गाउँ कार्यक्रमको उद्देश्य अनुसार उत्पादन भएको भए अहिले लुम्बिनीका सबै स्थानीय तहमा ७ अर्ब ८ करोड ५० लाख रुपैंयाँको कारोबार देखिनु पथ्र्यो, तर त्यस्तो छैन्,’ उनले भने, ‘मन्त्रालयले दिएको कार्यक्रमलाई स्थानीय तहले स्वामित्व नलिँदा र किसानले अनुदान केन्द्रीत कार्यक्रम मात्र गर्दा कार्यक्रम उद्देश्य अनुसार सफल हुन सकेन् ।’ चार वर्षको अवधिमा स्मार्ट कृषि कार्यक्रममा मात्र १ अर्ब ४१ करोड ७० लाख रुपैंयाँ खर्च भएको उनले बताए ।
स्थानीय तह र प्रदेश सांसद दुवै नयाँ आएपछि ४ वर्ष अघि देखि मन्त्रालयले अघि बढाएको कार्यक्रमप्रति चासो दिएनन् । कार्यक्रम छनोट गर्दा सुरुमा स्थानीय तहको समन्वयमा प्रदेश सभा सदस्य मार्पmत छनोट हुने गरेको थियो । किसान लागत सहभागितामा सहभागी हुन नखोजेको र अनुदान वास्तविक किसान भन्दा पनि पहुँचवाला व्यक्ति केन्द्रित हुँदा कार्यक्रम सफल हुन नसकेको मन्त्रालयकै एक कर्मचारीले बताए । ४ वर्षमा प्रदेशका १ सय ९ वटै स्थानीय तहमा पुगेको मन्त्रालयको सबै भन्दा ठुलो कृषि केन्द्रीत कृषि स्मार्ट कार्यक्रम अहिले ३७ वटा स्थानीय तहमा मात्र संचालित छ । गत आवमा ५ वटा बन्द भएको र चालु वर्षमा धेरै बन्द हुने अवस्थामा रहेको सूचना अधिकारी ढकालले बताए ।








प्रतिकृया दिनुहोस्