सडक संजाल ब्यापक, समृद्धिको लक्ष्य



भैरहवा– रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी लगायत लुम्बिनी प्रदेशका तराईदेखि पहाडी जिल्लामा अहिले सडक निर्माण धमाधम चलिरहेको छ । फराकिला र सुन्दर सडक बनिरहेका छन् । यसबाट समृद्धिको पाइला अघि बढीरहेको निजी क्षेत्रको ठम्याई छ । तराईमा पूर्व पश्चिम र हुलाकी राजमार्ग बिस्तारको काम भइरहेको छ । जिल्ला भित्रै उत्तर–दक्षिण चार र छ लेन सडक निर्माणको होड छ ।
तराईमा जिल्ला सदरमुकाम भारतीय सीमा क्षेत्र नजिक छन् । पूर्व–पश्चिम राजमार्गका कारण उत्तर चुरे फेदमा ठूला सहर विकास भएका छन् । त्यसैले उत्तरका सहरलाई सदरमुकामसित जोड्न फराकिला सडक निर्माणलाई महत्व दिइएको छ । लुम्बिनी प्रदेशमा धेरै सडक निर्माण भइरहेको जिल्ला रुपन्देही हो । रुपन्देहीमा बुटवल–बेलहिया व्यापारिक मार्ग सञ्चालनमा छ । यो खण्डको बेलहिया नाकातर्फ र बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बनिरहेको छ ।
बेलबास–बेथरी चार लेन सडकले पूर्णता पाउन लागेको छ । तिनाउ किनारबाट निर्माण हुन लागेको करिडोर सडकले गति लिँदै छ । यस बाहेक बुटवल–फर्साटिर, सूर्यपुरा सडक छ । पश्चिम रामापुरबाट लुम्बिनी जोड्ने सडक सञ्चालनमा छ । यस्ता सडक दायाँबायाँ अहिले सहरीकरण तीब्र छ ।
पछिल्लो सयम यस्ता सडक लक्षित गरेर व्यापासायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट र उपभोग्य सामाग्रीका पसल खुल्ने क्रम तिब्र छ । जीम, फुटसल, सुविधाका सामानका सो रुम यस्ता सडक आसपास खुलिरहेका छन् । पहाडी जिल्लामा समेत अहिले सडकका कारण ग्रामीण उत्पादनले बजार पाउन थालेका छन् । कालिगण्डकी कोरिडर, मध्यपहाडी राजमार्ग निर्माणले पहाडी जनजीवन सहज तुल्याएको छ । त्यस बाहेक प्रदेश सरकारले अन्तरजिल्ला सडक सञ्जाल बिस्तारलाई जोड दिएको छ ।
‘हामीले सडकमार्गले जनजीवन सहज बनाउन लागिपरेका छौं’, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भने, ‘केही ठाउँमा विवादले ढिलाई भए पनि धेरै ठाउँका सडक निर्माण हुने क्रममा छन् । केही बनिसकेका छन् । यसले आम नागरिकलाई निकै सहजता दिएको छ ।’ पहाडी उत्पादन बजारसम्म ल्याउन कृषि सडकले प्राथमिकता पाएका छन् । लुम्बिनी प्रदेश यातायात पूर्वाधार निर्देशनालय बुटवलका अनुसार पूर्वाधारको विकासका लागि सरकारले सात किसिमका सडकलाई प्राथमिकताका साथ अघि सारेको छ ।
प्रादेशिक लोकमार्गको विकास र विस्तार, प्रादेशिक राजधानीलाई स्थानीय तहको मुख्य प्रशासनिक केन्द्रसँग जोड्ने मूल सडक, दुई वा दुई भन्दा बढी स्थानीय तहको केन्द्र जोड्ने प्रमुख सडक, प्रादेशिक लोकमार्गमा पर्ने पुल, झोलुङ्गे पुल, प्रादेशिक लोकमार्गको यातायात तथा सडक सुरक्षा सम्बन्धी कार्यहरु र साविकका स्थानीय पूर्वाधार तथा कृषि सडक विभागबाट निर्माण भइरहेका सडकहरु सरकारको बहुवर्षे योजना अन्तर्गत निर्माण भइरहेका छन् ।
त्यसमा १ हजार १ सय ४८ सडक र १ सय ७३ पक्की पुल निर्माण गर्ने सरकारको लक्ष्य छ । त्यसमा सरकारको कम्तिमा पनि २० अर्ब खर्च हुनेछ । सडक नै आर्थिक समृद्धिको आधार भएको र सरकारले पनि त्यही सम्भावनालाई औंल्याएर सडक सञ्जाल निर्माणका योजना बनिरहेको छ । ‘सडक पूर्वाधार बिनाका हरेक योजना कार्यान्वयन हुनै सक्दैनन्,’ उनले भने, ‘सरकारले त्यही बुझेर नै प्रदेशमा सडक पूर्वाधारको क्षेत्रमा तिब्र गतिमा काम गरिरहेको छ ।’
पाँच वर्षमा चार सय किलोमिटर नयाँ ट्रयाक निर्माण भएको, १ हजार ५ सय किलोमिटर सडक विस्तार गरिएको, एक हजार किलोमिटर ग्राभेल र सात सय किलोमिटर सडक कालोपत्रे भएको छ । करिब ३ हजार कल्र्भट र कजवे निर्माण भएका छन् । चालु आवमा स्थानीय तह जोड्ने पहुँच मार्ग सडकको स्तरोन्नती भइरहेको छ । निर्माणाधीन यी सडकले प्रदेशका झण्डै २० लाख जनसंख्यालाई प्रत्यक्ष जोड्ने छ । ‘प्रदेशका १ सय ९ वटै स्थानीय तह पहुँच मार्गले जोडिएका छन्,’ उनले भने, ‘त्योसँगै ग्रामीण क्षेत्रमा उत्पादिन कृषिजन्य पदार्थ शहरमा आउन थालेको छ ।’ निर्माणाधीन सडकमा मात्र वार्षिक २ हजार बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनले बताए ।
लुम्बिनी प्रदेश केन्द्रित बुटवल नारायणगढ सडक खण्ड पनि झण्डै १७ अर्ब लागतमा ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । त्यही सडकको किनार बुटवलको रामनगरमा संघीय सरकारकै झण्डै २ अर्ब लगानीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न गरेको छ । त्यसकै छेउमा प्रदर्शनी स्थल पनि निर्माण भइरहेको छ । बुटवलदेखि प्रदेशको राजधानी भालुबाङसम्म सडक विस्तार गर्ने योजना सरकारको प्राथमिकतामा छ ।
बुटवलदेखि पाल्पा हुँदै गण्डकी प्रदेश पुग्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा पनि ७ अर्ब बढी लगानीमा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ । बुटवलदेखि लुम्बिनी जोड्ने गरी दानव नदी किनारमा प्रदेश सरकारकै लगानीमा चार लेनको बेलबास बेथरी सडक निर्माणाधीन छ । भैरहवादेखि गौतमबुद्ध बिमानस्थल हुँदै लुम्बिनीसम्म पुग्ने चार लेनको सडक विस्तार भएको छ । दाङको घोराही उपमहानगरपालिकाको पूर्वपश्चिम राजमार्गको कुइरेपानीदेखि सर्रासम्मको बैकल्पिक मार्गलाई पनि चार लेनमा स्तरोन्नती गर्ने गरी काम अघि बढेको छ ।
अर्घाखाँचीको गच्छेदेखि प्रदेशको राजधानी भालुबाङसम्मको सडक स्तरोन्नती र विस्ताको काम सुरु भएको छ । नेपालगन्जदेखि कोहलपुरसम्मको सडक शहरी क्षेत्रलाई आर्कषित गर्ने र सडक विस्तार मार्पmत दुई ठुला शहर जोडेर महानगरपालिका निर्माण गर्ने गरी अध्ययन अघि बढेको छ । रोल्पाको सुलिचौर थवाङ, गुल्मीको चोरकाटे शान्तिपुर, कपिलबस्तुको शिवालय लवनी मराम सडक, बर्दियाको बैदिचौक मगरागढी पदनहा कुसुमघाटलगायतका सडक निर्माण भइरहेका छन् ।
ति सडकका लागि संघीय र प्रदेश सरकारको समपुरक गरी तीन अर्ब बढी बजेट खर्च भइसकेको छ । सडक पूर्वाधार विस्तारका अधिकांश योजना बहुबर्षे आयोजनाका रुपमा अघि बढेका छन् । पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्मको ‘जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग’लाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारेको छ । यो सडक अधिकांश पहाडी जिल्लाका माथिल्लो भू–भाग हुँदै निर्मण हुने भएकाले त्यसलाई पर्यटकीय क्षेत्रसँग जोडेर ‘हिल स्टेशन’ गराउने गरी कार्यान्वयन भइरहेको छ । यो प्रदेश सरकारको गौरवको आयोजना पनि हो । लुम्बिनी प्रदेश अन्र्तगत १९ वटा राष्ट्रिय राजमार्ग छन् । तिनीहरुको लम्बाई २ हजार ४ सय ७ किलोमिटर छ ।








प्रतिकृया दिनुहोस्