विमानस्थललाई लक्षित गरी लगानी गरेका व्यवसायी निराश



भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन आठ वर्ष लाग्यो । यो अवधि यहाँका उद्योगी–व्यवसायी, स्थानीय, सरोकारवालाका लागि निकै प्रतीक्षाको घडी बन्यो । व्यग्र प्रतीक्षाबीच अघिल्लो वर्ष जेठ दुई गते बुद्धपूर्णिमाका दिनबाट विमानस्थल संचालनमा आएको छ । तर, विमानस्थल अझै पूर्णक्षमतामा संचालन हुन सकेको छैन । सुरुमा कुवेतको जजिरा एयरलाइन्सले सातामा तीन र पछि नियमित उाडन गरे पनि लामो समयदेखि रोकेको छ ।
विमानस्थल उद्घाटन हुँदा र जजिराले उडान भर्दा यसले भैरहवा सहर, सिंगो रुपन्देही जिल्ला मात्रै नभएर लुम्बिनी प्रदेश र मुलुकभर नै नयाँ तरंग ल्याएको थियो । तर, अहिले यहाँबाट चार्टर्ड उडान सुरु गरेको हिमालय एयर पनि उडान रोकेपछि निराशा बढ्दो छ । यहाँका व्यवसायीले विमानस्थल पूर्णक्षमतामा संचालनको माग गर्दै आन्दोलन घोषणा समेत गरिसकेका छन् । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट भैरहवा आसपास र कपिलवस्तु, नवलपरासीसम्म अर्बौंको लगानी भएको छ ।
विमानस्थल लक्षित लगानी अहिले जोखममा परेको चिन्ता निजी क्षेत्रमा छ । अर्कातर्फ बैंकको चर्को ब्याजले व्यवसायी आतंकित भएका छन् । अहिले नेपाल एयरलाइन्सले सातामा एउटा उडान त गरिरहेको छ, तर पर्यटक आगमन छैन । सुरुमा विमानस्थल संचालनपछि यस क्षेत्रमा छुट्टै रौनक छाएको थियो । भैरहवा–लुम्बिनी सडक खण्डसित जोडिएकाले धेरै यात्रु आफ्ना सवारी साधन रोकेर विमानस्थलको फोटो खिच्ने गर्थे । विमानस्थललाई लक्षित गरेर विभिन्न व्यवसाय थालेका लगानीकर्ता हर्षित थिए । स्थानीय बासिन्दा उत्साहित थिए । विमानस्थल बनाउन आफ्नो जग्गा दिएका स्थानीय सबैभन्दा हर्षित भएका थिए ।
‘हामीले मुआब्जा त पायौं तर पुर्खौदेखि बसिआएको घरजग्गा छाड्नुको कारण अन्तर्राष्ट्रिय विमानस्थल बनोस्, मुलुकको समृद्धि होस् भन्ने नै थियो’, विमानस्थल बनाउँदा जग्गा अधिग्रहणमा परेका स्थानीय राजेश यादवले भने, ‘अहिले विमानस्थल संचालनमा नआउँदा निकै दुःख लाग्छ । हामीले जग्गा दिएको सही प्रयोग नभएजस्तो लाग्छ । त्यसैले विमानस्थल फूल फेजमा चल्नुपर्छ ।’
बुद्ध जन्मस्थल लुम्बिनीलाई लक्षित गरेर विमानस्थल निर्माण गरिएको हो । यहाँका लगानीकर्तालाई बौद्ध धर्मावलम्बी मुलुकबाट श्रद्धालु सिधै भैरहवा विमानस्थलमा उत्रिने विश्वास छ । त्यसैले होटल, रेष्टुराँ, ट्राभल, हाउजिङ र सरोकारका क्षेत्रमा ह्वात्तै लगानी बढेको छ । यहाँ तारे होटल थपिने क्रम छ । लुम्बिनी क्षेत्रका बासिन्दा र हजारौं लगानीकर्ता अहिले विमानस्थल फूलफेजमा चल्ने दिनको प्रतीक्षमा छन् । अहिले यो विमानस्थल लुम्बिनी क्षेत्रमा उद्योग, पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता र स्थानिय समुदायको आर्थिक समृद्धिका लागि आशा र भरोसाको आधार बनेको छ । तर, सरकारको बेवास्ताले लगानीकर्तामा निराशा छाएको छ ।

८ वर्ष अघि भैरहवामा विमानस्थलको शिलान्यास भएपछि लगानीकर्ताले घर खेत बिक्री गरेर वा बैंकमा धितो राखेर चर्को व्याजमा ऋण लिँदै विभिन्न क्षेत्रमा लगानी गरेका थिए । पर्यटक लक्षित पूर्वाधार तयार गरे । विमानस्थल सञ्चालनमा ढिलाई भयो । विभिन्न कारणले गौरबको यो परियोजना पूरा हुने–नहुने अन्योल हुँदा आफूहरु ‘मर्नु न बाँच्नु’को अवस्थामा पुगेको उनीहरुले बताएका थिए ।
कुन–कुन क्षेत्रमा कति लगानी बृद्धि भएको छ, त्यसको यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । करिब तीन वर्ष कोरोना भाइरस महामारीले थला पारेपछि लगानीकर्ता झन निराश भए । यस अवधिमा समान्य चियानास्ता पसलका लागि भाडामा सटर खोज्नेदेखि अर्बौ रुपैयाँ ऋण लिँदै पाँचतारे होटल र हाउजिगङमा लगानी गर्ने धेरै भए । स्तरीय रेष्टुरेन्ट, सुविधायुक्त यातायातका साधन, जमिन भाडामा लिएर आधुनिक कृषि, पशुपालन, उद्योगमा लगानी गर्ने सयौं छन् । भैरहवा र लुम्बिनीको सेरोफेरोमा मात्रै होइन, विमानस्थललाई लक्षित गरेर नवलपरासी, बुटवल, कपिलबस्तु क्षेत्रमा समेत लगानी बढ्दै गएको छ ।
भैरहवाका पर्यटन व्यवसायी तथा सोसाइटी अफ ट्राभल्स एण्ट टुर अपरेटर नेपाल लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष संजय बजिमय सरकारकोतर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र यसका लागि जग्गा अधिग्रहणको मुअब्जा समेतलाई गरेर ४० अर्व रुपैयाँको हाराहारीमा लगानी गरेको भए पनि त्यसको दश गुण बढि विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रको लगानी पुगेको बताउँछन् । ‘जुन किसिमको लगानी भयो, त्योअनुसार विमानस्थल संचालन नहुँदा हामीमा निराशा छाएको छ’, उनले भने, ‘सरकारले तत्काल अग्रसरता लिनुपर्छ । विमानस्थल फूलफेजमा चल्नुपर्छ ।’
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले राज्यको उदासिनताले निजी क्षेत्र धरासायी भएको बताउँछन् । ‘बिमानस्थललाई लक्षित गरेर पर्यटन, कृषि, यातायात सवैमा गरेर खर्ब रुपैयाँ भन्दा धेरैको लगानी पुगेको छ । यो लगानीलाई चलायमान बनाउने सवै भरोसा र आशा भनेकै विमानस्थलको सफल ढंगले संचालन हो’, उनले भने, ‘यस विमानस्थलबाट आशा, विश्वास, सम्भावना र भविष्य पनि छ । तर, सरकारले पूर्णक्षमतामा चलाउन चाहेन ।’

विमानस्थल फूलफेजमा संचालन नहुने हो भने व्यवसायी पलायन हुने अवस्था आउने श्रेष्ठ बताउँछन् । ‘विमानस्थल संचालनमा आएकाले व्यवसायीले अब गुणस्तरीय पर्यटकको आगमन र लुम्बिनीको बसाइँ अवधि लम्बयाउने खालका गतिबिधि संचालन गर्नु पर्ने थियो’, उनले भने, ‘तर, अझै पनि विमानस्थल चलाउ चलाउ भन्नुपर्ने अवस्था छ । यसले लगानीकर्तालाई निरुत्साहित बनाइरहेको छ ।’ गौतम बुद्ध बिमानस्थलबाट सिधै बुद्धिष्ट मुलुकसँग हवाइ उडान भएमा भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनु पर्ने नेपाली पर्यटन व्यवासयीको बाध्यता हट्ने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘अब सरकारको ढिलो नगरी ध्यान बौद्धिष्ट मुलुकबाट गौतमबुद्धमा सिधा उडान गर्नतर्फ जानुपर्छ’, उनले भने, ‘यसका लागि निजी क्षेत्रले सबै सहयोग गर्न तयार छ ।’








प्रतिकृया दिनुहोस्