November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

बर्दिया तरकारीमा आत्मनिर्भर बन्दै

बर्दिया– गुलरिया नगरपालिका–५, वालापुरका छविलाल थारु विहानै तरकारी टिप्न वारीमा पुग्छन् । वर्षातमा लौका, काँक्रा, फर्सीका मुन्टा, फर्सी, चिचिण्डा, घिरौला लगायत खुर्सानी खरिद गर्न उनको वारीमा व्यवसायी पुग्ने भएकाले भ्याइनभ्याई हुन्छ ।

Advertisement

पेशाले स्थायी शिक्षक भए पनि अन्य समय किसानी गर्दै आएका वालापुरका झग्गु थारु तरकारी खेती गर्छन् । घर नजिक रहेको आधारभूत विद्यालयमा शिक्षक थारुले अन्य वाली भन्दा तेब्बर आम्दानी हुने भएकाले यहाँका किसान तरकारी खेती गर्ने गरेको बताए । ‘तरकारीमा परिश्रम बढी हुन्छ,’ उनले भने, ‘चोरी निकासी भई भारतबाट आउने तरकारी सस्तो हुने भएकोले यहाँका किसानलाई मर्का पर्ने गर्छ ।’

Advertisement

विशेष गरि शनिवार र मंगलवार साप्ताहिक हाटबजार लाग्ने गुलरियामा वालापुर लगायतका किसानलाई भ्याइनभ्याई हुन्छ । वालापुरबाट गुलरियाको हाटबजार लाग्ने ठाउँ करिब ४ किमी दुरीमा छ । अटो रिक्सामा ढुवानी गरि बजार पुराउन उनीहरु विहान खाना खाएर ११ बजेसम्म हाटबजार स्थल पुग्ने गर्छन् । टमाटर, गोबी लगायत तरकारी खरिद गर्न बाँके र कैलालीबाट व्यापारी आउने गरेको गुलरिया–१२, भैसाही का किसान भागिराम थारुले बताए ।

‘वर्षायाममा भने खासै टमाटर, गोबी फल्दैन,’ उनले भने, ‘यसै कारण बाहिरी जिल्लाबाट निकै कम व्यापारी आउँछन् ।’ उनका अनुसार १० कट्ठा जग्गामा तरकारीको मौसममा खर्च कटाएर २ लाख ५० हजार बढी रकम बचत हुने गरेको छ ।

विशेष गरि ग्रामीण क्षेत्र र मुक्तकमैया बस्तीमा थारु महिलाहरु तरकारी व्यवसाय तर्फ आर्कषित बन्दै गएका कारण भारतबाट आयात न्यून भएको हो । वालापुर, भैसाही, बारबर्दिया नपाको धोविया, जब्दी लगायत राजापुर नपाको मुक्तकमैया बस्ती संर्घषनगर, ठाकुरबाबा र बढैयातालमा तरकारी खेती पर्याप्त हुने गरेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले बताए ।

‘बर्दियामा ८ हजार ३ सय ४३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ,’ उनले भने, ‘वार्षिक ९९ हजार ६ सय ५९ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।’ बर्दिया वर्षायाममा बाढी आउने गरेका कारण उत्पादन कम हुने भएकोले सल्यान लगायत जिल्लाबाट तरकारी भित्रिने गरेको छ । हिउँदे मौसममा तरकारी खेतीमा बर्दिया आत्मनिर्भर हुने गरेको प्रमुख ढकालले बताए ।

वर्षायाममा ९० प्रतिशत तरकारी उत्पादन यहीकाले धाने पनि १० प्रतिशत बाहिरी जिल्लाबाट आउने गरेको उनले जनाए । वर्षात मौसममा बाहिरी जिल्लाबाट बन्दा, टमाटर र प्याज बढी मात्रामा आउने गरेको व्यवसायी बताउँछन् । जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित तरकारी गुलरिया, बाँसगढी, भुरीगाउँ, मैनापोखर, कुसुम्बा बजार लगायतका बजारमा बेचेर उनीहरुले राम्रो आम्दानी गर्दे आएका छन् । ग्रामीण क्षेत्रमा अहिले सामूहिक खेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् ।

यसैगरि बबई नदीको बगरमा राम्रो उत्पादन हुने गरेका कारण हिउँदे मौसममा तरकारीबाट किसानहरुले राम्रो आम्दानीको स्रोत बनाएका छन् । बगरमा लौका, करेला, काँक्रा र फर्सी फल्ने गर्छ । स्थानीय किसानले जिल्लाको बारबर्दिया र गुलरियाका ग्रामीण क्षेत्रबाट दैनिक ४–५ किमी दुरी पैदल हिँडेर ल्याएको तरकारी गुलरियामा बेच्ने गरेका छन् । बिक्री गाउँकी सिता थारुले ५ कट्ठा जग्गामा लगाएको तरकारीबाट खर्च कटाएर वार्षिक ५० हजार बढी रुपैयाँ आम्दानी हुने गरेको बताउँछिन् ।

उनी जस्तै बारबर्दिया, धोवियाकी पार्वती थारु थोरै लगानीमा राम्रो आम्दानी भएपछि यसतर्फ आर्कषित भएकी छिन् । गत वर्षबाट तरकारी खेतीमा लागेकी उनले एक वर्षमै सबै खर्च कटाएर १ लाख २० हजार बढी रकम बचत गरेको बताइन् । गुलरियामा मंगलवार र शनिवार हाटबजार जाने गरेका उनीहरु अन्य दिन घरघर र होटलहरुमा तरकारी बेच्ने गरेका छन् । धान, गहुँ, तोरी मौसमी वाली लगाउँदै आएका उनीहरु अन्य समय तरकारी खेतीमा लागेका हुन् । मौसम अनुसार काउली, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, घिरौला, लौका, फर्सी, तिते करेला, चिचिण्डो लगायत तरकारी उत्पादन गर्दे आएका छन् ।

सिंचाई सुविधा नपुगेको तरकारी वारीमा ढिकी पम्प, विद्युतीय मोटर प्रयोग गरि सिंचित गरेका छन् । थोरै जग्गा भएकाका लागि तरकारी खेती निकै लाभदायी बन्दै गएको छ । तरकारी खेती गर्दै आएका जनता नगरका मुक्तकमैया राधेश्याम थारुले दुई कट्ठा जग्गामा तरकारी खेती गरेको बताए । उनले भने, ‘सरकारले दिएको ५ कट्ठा जग्गाबाट गुजरा नचलेका कारण तरकारी खेतीमा लागेर राम्रो आम्दानी गरेको छु ।’

दुई कट्ठाबाट उनले वार्षिक ५० देखि ६० हजार रुपैयाँ कमाउँदै आएको उनको भनाई छ । सहरीकरण संगै जिल्लाको भुरीगाउँ, राजापुर, बाँसगढी, मैनापोखर लगायतका ठाउँमा तरकारीको माग बढ्दै गएको छ । ती ठाउँमा अधिकांश थारु महिलाले तरकारीको आपूर्ति गर्दै आएका छन् । समयमा मल नपाउनु र सिँचाई सुविधा नभएका क्षेत्रमा किसानका लागि सरकारले यसतर्फ ध्यान दिन जरुरी भएको बताउँछन् ।