October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

रौनक हराएको कोइलाबास नाका

भैरहवा– कोइलाबासमा कोइला छैन । दाङ सदरमुकाम घोराहीदेखि २१ किलोमिटर उत्तरका पहाडमा कोइलाखानी छन् । त्यहाँ २७ वर्षदेखि कोइला उत्खनन भइरहेको छ तर कोइलाबास कोइलाबिना नै ७२ वर्षदेखि चर्चित छ । कोइलाबास कुनै बेला देशकै ठूलो नाकाका रूपमा परिचित थियो । यसका साथै पटक–पटक राज्यविरुद्ध विद्रोहको आक्रोश पोख्ने माध्यमका रूपमा पनि चिनियो । गोबरडिहाका भक्तनारायण चौधरी नेतृत्वको मुक्तिसेनाले २००७ सालमा कोइलाबासमा आक्रमण गरेको थियो ।

Advertisement

२०१८ फागुन ९ गते राति गणेशकुमार शर्मा नेतृत्वको मुक्ति सेनाले आक्रमण गर्यो । २०५९ पुस ३ गते माओवादीले आक्रमण गर्यो । माओवादी विद्रोहका क्रममा यहाँका सबै सरकारी कार्यालय विस्थापित भए । पटक–पटकको आक्रमण र यस क्षेत्रमा नेपाल–भारत प्रवेशको मुख्यद्वार भएका कारण कोइलाबास २००७ सालदेखि नै चर्चामा छ ।

Advertisement

सदरमुकाम घोराहीदेखि ५६ किलोमिटर दक्षिण–पूर्वमा रहेको कोइलाबास त्यस समय नेपालको एक मुख्यनाका थियो । भारतीय सहर तुलसीपुर, कानपुर, लखनउ, बनारस जानआउन यही नाका प्रयोग हुन्थ्यो । राप्तीका पहाडी जिल्लाबाट नुन लिन आउने बजार नै कोइलाबास थियो । पहाडको घिउ बेच्ने र तराईको मकै, गहुँ, धान, तोरी बेच्ने बजार पनि यही थियो । पहिले मानिसहरू विकल्प नभएका कारण पनि पैदल हिंडेरै कोइलाबास पुग्थे । अनाज, जडीबुटी र निगालाका कलम खरिद गर्ने डिपोहरू यहीं थिए ।

रोल्पा र दाङका घोडा व्यापारी निरन्तर घोराही–कोइलाबास आउजाउ गर्थे । कोइलाबासका सामान यता ल्याउँथे, यताका सामान उता पुर्याउँथे । रुकुम, रोल्पा, सल्यानबाट पैदल हिंडेर मानिसहरू नुन र अन्य सामान किन्न कोइलाबास पुग्थे । यस क्षेत्रको चहलपहल हुने मुख्य बजार नै कोइलाबास थियो । यसको कहानी कहालीलाग्दो नै छ । भारतसँग जोडिएको जिल्लाको ८३ किलोमिटर सीमा क्षेत्रमा ३१ नाका छन् । जसमध्ये सबैभन्दा व्यवस्थित नाका कोइलाबास मात्रै हो । कोइलाबास अहिले गढवा गाउँपालिका–८ मा पर्छ । २०१९ सालमा महेन्द्र राजमार्ग निर्माणको काम सुरु भयो । त्यसपछि यातायातका कारण कोइलाबास भन्दा कोहलपुर, नेपालगन्ज हुँदै जमुनाहा नाका र चन्द्रौटादेखि कृष्णनगर हुँदै बढनी नाकाबाट भारत आवतजावत हुन थालेको थियो ।

राजमार्ग नबन्दासम्म काठमाडौं जान पनि कोइलाबासबाट भारत हँुदै जानुपथ्र्यो । राजमार्ग बन्दा कोइलाबास पुग्ने राम्रो सडक थिएन । गाडी चल्ने बाटो नभएका कारण कोइलाबासको चहलपहल बिस्तारै कम हुँदै गयो । २०४० सालपछि त कोइलाबास पूर्णरूपमा खण्डहर हुन पुग्यो । कोइलाबास बजार सुक्दै गएपछि अधिकांश व्यवसायी विस्थापित भएर लमही, घोराही, तुलसीपुर र भारतमा गएर बस्न थाले ।

पहिले वीरगन्जपछिको धेरै राजस्व उठ्ने नाकामा पर्ने कोइलाबास त्यसपछि सुनसान भएको गढवा गाउँपालिका–८, कोइलाबासका पूर्ववडाध्यक्ष सद्धाम सिद्धिकीले बताए । ‘भारतले भन्सार खोलेको छैन । भारतमा भन्सार सञ्चालन नहुँदासम्म कोइलाबासमा चहलपहल हुँदैन,’ उनले भने, ‘सरकारले भारतसँग भन्सार खोल्न प्रयास गर्नुपर्छ अनि कोइलाबासको रौनक फर्काउन सकिन्छ ।’ अहिले लमही–कोइलाबास सडक कालोपत्र भइसकेको छ । कोइलाबास आउजाउ गर्न सहज छ ।

राजा महेन्द्रको प्रत्यक्ष शासनकालमा भारतको बिडला कम्पनीले दाङको उत्तरी क्षेत्रको महाभारत शृखलाभित्र रहेको कोइलाखानी उत्खनन् गर्न अनुमति मागेको थियो । राजा महेन्द्रले कोइलाबास–घोराही सडक निर्माण भएपछि मात्र अनुमतिका लागि सोच्न सकिने बताएपछि बिडला कम्पनीले कोइलाबासको सडक निर्माण थालेको हो । जंगल विनाश हुन थालेपछि त्यतिबेला सडक निर्माण रोकिएको थियो ।

२०१८ सालमा तत्कालीन जिल्लाका बडाहाकिम दामोदर घिमिरेले सडक निर्माणमा निरन्तरता दिएका थिए । दाङ देउखुरीका सबै गाविसका सडकको पहलकदमी गरेका घिमिरेले गाउँ पञ्चायतमार्फत उर्दी जारी गरेपछि जनश्रमदानबाट समेत कोइलाबासको सडक निर्माणको काम अघि बढेको थियो । त्यसपछि भारतीय कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो तर पूरा हुन सकेन । लामो समयको प्रयासपछि मात्रै हुलाकी राजमार्गअन्तर्गत सडक कालोपत्रको काम पूरा भएको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम अहिरले बताए ।

‘समयमै सडक बनेको भए कोइलाबासको यो हालत हुने थिएन । बजार विस्थापित हुने थिएन,’ अहिरले भने, ‘सडकमा भएको उतारचढावले नै बजारमा पनि बदलाव आयो । भएका पसल अन्यत्र सरे । मानिसहरूको आउजाउ पनि घट्यो ।’ सडक निर्माण भइसकेपछि बिस्तारै कोइलाबासले काँचुली फेर्न थालेको उनले बताए । ‘सडकले केही उत्साह जगाएको छ । अहिले कोइलाबास हुँदै भारत आउजाउ गर्ने क्रम बढिरहेको छ,’ उनले भने, ‘यसले स्थानीय व्यवसायको विकास गर्न सहयोग पुर्याइरहेको छ । कोइलाबासमा बिस्तारै व्यावसायिक लगानी पनि बढ्दै गइरहेको छ ।’

कोइलाबास नाकामा व्यावसायिक कारोवार हुन नसक्दाअपेक्षा गरेजस्तो चहलपहल हुन नसकेकोकोइलाबास भन्सार कार्यालय प्रमुख बसन्त रजौरेले बताए । ‘भारतले कोइलाबास नाकाबाट कारोबार गर्न इच्छा नदेखाएका कारण नेपालको भन्सार सुकेको छ । भारतको इच्छा नहुँदासम्म कोइलाबास नाका चल्न सक्दैन,’ उनले भने, ‘हाम्रो पहलकदमीले केही हुँदैन । भारत सरकारसँग उच्च स्तरको पहल गर्न सकेमा मात्रै यहाँ चहलपहल बढाउन सकिन्छ ।’

प्यूठानको स्वर्गद्वारी जाने र घुम्न आउने केही यात्रुका कार र मोटरसाइकलबाट मात्रै केही राजस्व उठ्ने गरेको उनले बताए । अन्य राजस्वका स्रोत केही पनि नभएको उनले गुनासो गरे । ‘व्यापारिक कारोबार केही पनि छैन,’ रजौरेले भने, ‘सडक बनेर पनि कोइलाबासको अवस्थामा सुधार हुन सकेन ।’ कारोवार नहुने भएकै कारण सरकारले वार्षिक राजस्व उठ्ने लक्ष्य पनि सामान्य दिएको बताए । २०४५ सालमा नेपाल–भारतबीच भएको विवादमा ६ महिनासम्म कोइलाबास नाका बन्द भयो । त्यसपछि कोइलाबासमा भारतीय पक्षले भन्सार खुला गरेको छैन ।

पटक–पटक आक्रमण गरी सरकारी कार्यालय विस्थापित गराउने काम भएपछि फेरि यसको रौनक फर्काउन कठिन भएको कोइलाबासका व्यवसायी पदमबहादुर रावलले बताए । शान्ति प्रक्रियापछि बिस्तारै कार्यालय स्थापना हुने क्रम सुरु भए पनि बजारको चहलपहल र जनसंख्या कम भएका कारण खुलेका कार्यालयमा पनि उत्साह छैन । थप कार्यालय खोल्नेतर्फ पनि चासो बढेको छैन । राष्ट्रिय जनगणना २०५८ मा १ हजार ३ सय ५४ जनसंख्या रहेको कोइलाबासमा २०६८ मा ८ सय ६८ मा झरेको छ । पहिलेको कोइलाबास गाविस अहिले गाउँपालिकाको एउटा वडामा सीमित छ ।

कोइलाबासमा पहिले भन्सार, विद्युत्, इलाका हुलाक, स्वास्थ्य चौकी, सीमा प्रहरी चौकी, राष्ट्र बैंकको सटही काउन्टर, नेपाल बैंक लिमिटेडको शाखा, वन विभाग, क्वारेन्टाइन चेक पोस्ट, जडिबुटी निकासी, जनकपुर चुरोट कारखाना र साल्ट ट्रेडिङका कार्यालय थिए । अहिले वडा कार्यालय, भन्सार, इलाका हुलाक, विद्युत्, नेपाल प्रहरी र सशस्त्र प्रहरी इकाइ मात्रै छन् ।

लमही–कोइलाबास सडक कालोपत्र भएपछि बिदा मनाउन र रमाउन आउने भारतीयको संख्या केही बढेको छ । अहिले लमहीबाट नियमित बस चलिरहेका छन् । कोइलाबासमा पहिले खानेपानीको समेत समस्या थियो । अहिले बोरिङमार्फत पानी विस्तार भएको छ । पहिले पानी लिन ५ किलोमिटर टाढा भारतको जरवा जानुपर्ने बाध्यता थियो ।

कोइलाबासमा बसोबास नभएपछि पुराना घर भत्किए । अहिले पनि कतिपय घरका भग्नावशेषमात्रै बाँकी छन् । सडकले सहज बनाएपछि बिस्तारै होटल र पसल खुल्न थालेका छन् । बिदामा घुमघाम गर्ने क्रम बढ्दै गएको छ । कोइलाबासमा चर्चित रामजानकी मन्दिर छ । यहाँ पनि अहिले भक्तजनको भीड लाग्ने गरेको छ । बजारको उत्तरतर्फ डाँडामा भ्युटावर निर्माण भएको छ, जहाँबाट पूरै कोइलाबाससहित भारतीय भूमि अवलोकन गर्न सकिन्छ ।

कोइलाबास पुरानै नाकाका रूपमा स्थापित हुन नसके पनि बजारको स्वरूप फेरिने आशा पलाइरहेको गढवा–८ का वडाध्यक्ष अब्दुल खालिक सिद्धिकीले बताए । ‘स्थानीय सरकारले पनि विभिन्न विकासका काम गरिरहेको छ,’ उनले भने, ‘कारोबार र चहलपहल बढ्ने अवस्था भएपछि व्यावसायिक लगानी पनि बढ्दै जाने देखिन्छ ।’ कोइलाबासको महिमा र इतिहास निकै महत्वपूर्ण भए पनि बिभिन्न समय आझेलमा पर्दै गएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । ‘सडकको समस्या, राजनीतिक अस्थिरता र भन्सारको समस्याका कारण कोइलाबास खण्डहर भयो,’ उनले भने, ‘अब कोइलाबासलाई पुरानै अवस्थामा फर्काउन स्थानीय सरकारले चासो दिएको छ ।’