आलोचना खेपेका ‘भ्यूटावर अलपत्र’



भैरहवा– पालिकामा शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था नाजुक रहेका बेला स्थानीय सरकारले भ्यूटावरमा लगानी गरेपछि सुरुवातदेखि आलोचना हुँदै आएको थियो । स्थानीय नागरिकको माग विद्यालय भवन निर्माण हुन्थ्यो । तर, पालिकाले धेरै तले टावर निर्माण गरेर देखाए । त्यसको मुलुकभर आलोचना भयो । तै पनि भ्यूटावर निर्माण रोकिएको छैन । बरु यस्ता संरचनाको उद्घाटनमा प्रधानमन्त्री नै सरिक हुने गरेका छन् । यसले पालिकाको आवश्यकता भन्दा कार्यकर्ताको चाहना पूरा गरेको देखिन्छ ।
लुम्बिनी प्रदेशका धेरै जिल्लामा यस्ता टावर निर्माण गरिएका छन् । समथर जिल्लामा मात्र होइन । पहाडी जिल्लाको टाकुरामा समेत टावर निर्माण गरिएपछि सर्वत्र आलोचना गरिएको हो । ठूलो लगानीमा निर्माण भएका यी संरचनाको अहिले उपयोगिता पाइँदैन । बरु कसरी स्याहार गर्ने भन्ने चिन्ता थपिएको छ । तत्काल संरचनाबाट आम्दानी सम्भव नभएपछि रेखदेख गर्ने कर्मचारी राख्नै समस्या भएको छ । आकर्षण बन्ने विश्वास गरिएका यस्ता टावर विकर्षण बन्न थालेका छन् ।
दुई वर्षअघि मुलुकमा भ्यू टावर उद्घाटनको लहर चल्यो । लुम्बिनी प्रदेशमा पनि एकपछि अर्को टावर उद्घाटन गरिए । यस्ता टावर उद्घाटनमा शीर्ष नेता सहभागी हुने होड चल्यो । यसरी उद्घाटन गरिएका संरचना लामो समयदेखि अलपत्र छन् । पर्यटकीय आकर्षण हुने पालिकाको दाबी थियो । अहिले यी संरचना दुरुस्त राख्न समस्या छ । यसको उदाहरण बाँकेको कोहलपुर नगरपालिकाले निर्माण गरेको घण्टाघरसहितको १० तले भ्यूटावर हो । यो अहिलेसम्म सञ्चालनमा आएको छैन । सञ्चालनमा ल्याउन जनशक्तिदेखि आर्थिक समस्या कारण बनेको छ ।
रुपन्देही, दाङ, कपिलवस्तु, रोल्पा र पाल्पामा निर्माण गरिएका भ्यूटावर पनि अलपत्र छन् । केही जिल्लाका टावर सर्वसाधरणका लागि खुला गरिए पनि अवलोकनकर्ता छैनन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकर नगर वन विहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) मा १० करोड रुपैयाँको लगानीमा भ्यूटावर निर्माण गरेको थियो । त्यसको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत १५ गते तामझामसहित उद्घाटन गरेका थिए । उक्त टावरको निर्माणकार्य अहिले पनि चलिरहेको छ । अधुरै उद्घाटन गरिएको टावर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
बाँकेको कोहलपुर नगरपालिकाले २०७६ सालदेखि नै बनाउन सुरु गरेको घण्टाघरसहितको १० तले भ्यूटावर निर्माण सम्पन्न भएको छ । ठेकेदार कम्पनीले केही महिना स्थानीय तहलाई सञ्चालन गर्न दिए पनि चलाउन सकस भएको छ । पर्यटन प्रवद्र्धनका लागि भनेर झन्डै ७ करोड रुपैयाँको लागतमा लिफ्टसहितको भ्यूटावर सञ्चालनका लागि टेन्डर गर्दा टेन्डर पर्न सकेको छैन । यो भ्यू टावर निर्माण गर्दा नै गलत ठाउँमा परेकोले पर्यटक तान्ने सम्भावना कमै छ ।
कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले त्यो बेला भ्यूटावर निर्माण सुरुवात गर्दा गलत ठाउँमा भएकाले पर्यटकहरूको चहलपहल नभएको जनाए । रोल्पा नगरपालिकाको झन्डै ६ करोड लगानीमा निर्माण भएको भ्यूटावर परिसरमा जनयुद्ध सङ्ग्रहालय, सहिदको सालिकसमेत छ । रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्यले अहिले सामान्य रूपमा सञ्चालन आए पनि पूर्ण रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई दिने योजना रहेको बताइन् ।
दाङका विभिन्न स्थानीय तहमा ६ वटा भ्यूटावर निर्माण भएका छन् । यसै क्रममा बंगलाचुली गाउँपालिकाले मात्रै तीनवटा भ्यूटावर बनाएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले छिल्लिकोटमा २५ लाखको लागतमा भ्यूटावर बनाएको छ । अर्को व्यक्तिगत लगानीमा समेत भ्यूटावर बनेको छ । लमही नगरपालिकाले पनि लमहीमा भ्यूटावर निर्माण गरिरहेको छ । यसै गरी, पाल्पाको श्रीनगर र रामपुरमा भ्यूटावर निर्माण भएका छन् । श्रीगरमा केही चहलपहल भए पनि रामपुरमा भने खासै उपयोग भएको देखिन्न ।








प्रतिकृया दिनुहोस्