November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सन्धिखर्क व्यवस्थित सहर

अर्घाखाँची– जिल्ला सदरमुकाम सन्धिखर्कमा तत्कालीन माओवादी सशस्त्र बिद्रोहकम दुई पटक आक्रमण भयोे । उक्त आक्रमणबाट धन, जन र भौतिक पूर्वाधार क्षति भए । माओवादीले २०५९ र ०६१ मा आक्रमण गरेका थिए । दुईपटकको आक्रमणबाट ध्वस्त भएको सदरमुकाम अहिले व्यवस्थित सहर बनेको छ । लुम्बिनी प्रदेशका अन्य पहाडी जिल्लाको तुलनामा सन्धिखर्कलाई व्यवस्थित र योजनाबद्ध तरिकाले पुनः निर्माण गरिएको छ ।

Advertisement

सन्धिखर्कका पुराना व्यापारी मित्रलाल आचार्यका अनुसार उक्त आक्रमणबाट मानवीय क्षतीसहित सबै सरकारी कार्यालय ध्वस्त भएका थिए । त्यसपछि प्रायः सरकारी कार्यालय भाडामा सञ्चालन गरिएका थिए । भत्किन बाँकी रहेको भवन टालटुल गरेर पनि काम शुरु गरिएको थियो । शान्ति प्रक्रिया पछि ध्वस्त भएका सरकारी भवनको पुनःनिर्माणको काम धमाधम भएको उनले बताए । ‘आक्रमपछि त सदरमुकाममा अब बस्न पाइँदैन कि भन्ने लागेको थियो,’ उनले आक्रमणको रात सम्झिँदै भने, ‘टुडिखेलमा मानवीय क्षति धेरै थियो । कार्यालयमा आगोको मुस्लो थियो ।’

Advertisement

विस्तारै डरत्रास हराउँदै गयो र सहज बन्दै गएपछि चहलपहल बढेको उनले बताए । शान्ति प्रक्रियापछि ढुक्कले व्यापार गर्न र बस्न पाइने भइयो भनेर मन शान्त भएको उनले बताए । उनका अनुसार सुरुमा जिल्ला प्रशासन कार्यालय निर्माण गरियो । अहिले सबै सरकारी कार्यालयका भवन छन् । आक्रमण अघि कार्यालय साँघुरा थिए । केही ढुंगाको छानो भएका भवन थिए । सभाहल कच्ची थियो । अहिले ५ सयभन्दा बढी अट्ने सभाहल छ । पुनःनिर्माणको क्रममा सबै कार्यालयका भवन बनाउन लागियो । त्यतिबेला साँघुरा, अव्यवस्थित भवन अहिले व्यवस्थित छन् ।

सदरमुकामस्थित ९ हेक्टर क्षेत्रफलमा सबै सरकारी कार्यालय सेवाग्रहीलाई सहज हुने किसिमले एकै ठाउँमा निर्माण गरिएको छ । जिल्लाका महिला नेतृ शान्ता भण्डारीका अनुसार कार्यालयका विभिन्न फाँट, शाखालाई कार्यकक्ष व्यवस्थित छन । सबै कार्यालय परिसरभित्र पार्किङको व्यवस्था छ । कार्यालय क्षेत्रभित्रका सडक पनि फराकिलो बनाइएको छ । सबै कार्यालयको खाली जग्गामा विभिन्न थरीका फुलले सेवाग्रहीलाई मगमग वास्ना दिन्छ । ‘व्यवस्थित र एकै ठाउँका कार्यालयले पनि सदरम्ुकामलाई स्ुन्दरता थपेको छ । सदरमुकामको मुख्य सन्धिखर्क बजारमा चारवटा गल्ली छन्,’ उनले भनिन्, ‘पहिलो गल्ली टुँडिखेल लाइन छ । दोस्रो बैंक रोड र तेस्रो मेन रोड व्यापारिक लाइन हुन्, यी फराकिलो छन् ।’

सन्धिखर्कको मिडियाचोक देखि हललाइन हुँदै बसपार्कको बजार पनि व्यवस्थित छ । सबैका घर अगाडि व्यवस्थित नाली विस्तार भइरहेको उनले बताइन् । सरसफाईमा चिटिक्क छ । अर्काे बसपार्क–पाणिनिचोक–सन्धिखर्क शान्ति वगैँचा चोक पनि व्यवस्थित नै छ । पछि बनेको गुन्टे खोलामा पनि बजारीकरणलाई राम्रो बनाइएको छ । बाहिरबाट सदरमुकाम छिर्ने बित्तिकै शान्ति वगैचा चोकमा धेरै गाडी रोकिन्छन् । प्रायः एउटै डिजाइनमा जस्तै बनाइएका घर र व्यापारिक सटरले आकर्षण थपेको छ । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवराज श्रेष्ठले पश्चिमपट्टी चुत्रावेशी व्यापारिक केन्द्र भएको र जहाँ दुई व्यापारिक रोड रहेको बताए ।

मुख्य बजार पछाडी जनज्योति माविदेखि तलपट्टी र मसाल बजारको क्षेत्र शान्ति प्रक्रियापछि विस्तार भएको बजार अव्यवस्थित छ । यता शंखेटारी, पुल्चोक क्षेत्रका खेतीयोग्य जमिनमा पछिल्लो सयम बजारीकरण भैरहेको छ । त्यहाँ पनि रोड फराकिलो नै छन् । ‘यि मुख्य दुई बजारका पछाडीको रतहले खेतको आधा फाँटमा पनि बजार विस्तार जारी छ,’ उनले भने, ‘त्यो भन्दा अगाडि रुब्दी हुँदै विहारसम्म फराकिलो खेतका फाँट छन् । त्यसले सहरको सुन्दरता थप आक्रषण पारेको छ ।’ सन्धिखर्कको कुँडेले खेतका फाँटामा पछिल्लो समय प्लटिङ भएको छ । हटारी, स्याँले, गच्छे हुँदै फुदवाङसम्म छरिएर बजार विस्तार भैरहेको छ ।’

धेरैजसो अर्घाखाँचीकै गाउँबाट बसाइसराई गरी झरेका छन् । छिटफुट गुल्मी, प्यूठान लगायतका छिमेकी जिल्लाबाट पनि यहाँ बसाइसरेका छन् । सन्धिखर्क र चुत्रावेशी बजारको बीचबाट बाँगी खोला बगेको छ । चारैतिर हरियाली डाँडाकाडा र फराकिलो सदरमुकाम देखेपछि यहाँ आएका पर्यटक लोभिन्छन् । ‘खाली भूभाग धेरै छ, घर थपिँदैछन्,’ उनले भने, ‘सदरमुकाम बसौंबसौं जस्तो छ । ठूलै सहरको रुपमा विकास गर्ने ठाउँ छ, पहाडी जिल्लामा यति फराकिलो र व्यवस्थित रहर मैले भेट्टाएको छैन ।’

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नयाँ बन्ने बजारलाई मापदण्ड बनाएर व्यवस्थित गरिएको र सबै बजारका गल्लीमा सफासुग्गर नाली रहेको बताए । हरियाली सुन्दर सदरमुकाम त छँदैछ, त्यसमा अब सन्धिखर्कलाई ग्रीन सिटीको रुपमा विकास गर्ने उनले बताए । भित्रि बजारका सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे र पिच गर्ने, सबै ठाउँमा सिसि क्यामरा राख्ने र भूउपयोग नीति अनुसार थप विकास एवं व्यवस्थित गर्ने नगरको योजना रहेको उनले सुनाए ।

नगरले व्यवस्थित सहरको अवधारणा अनुसार जग्गालाई १० प्रकारमा विभाजन गरेको छ । खाली जग्गालाई प्लाटिङ गर्दा मापदण्ड पालना गर्नुपर्ने नियम छ । सदरमुकामको डिजिटल रेकर्ड राख्ने र घर अगाडी, गल्ली र खाली ठाउँमा रुख रोपेर सन्धिखर्कलाई ग्रीन सिटी बनाएर थप नमुना बनाइने उनले बताए । ‘सन्धिखर्क देशकै व्यवस्थित, फराकिलो र सुन्दर सदरमुकाम हो,’ उनले भने, ‘सौन्दर्यतालाई जोगाउँदै थप व्यवस्थित र आकर्षित बनाउने काममा योजनाबद्ध रुपमा नगरले काम गर्छ ।’ सदरमुकाममा खानेपानी प्रशस्त छ ।