November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

अधिक भारले सडक छियाछिया

भैरहवा– मापदण्ड विपरित अधिक भार बहनले जिल्लाका सडक छियाछिया बनेका छन् । जिल्लामा भर्खरैं पक्कि बनेका सडक समेत अहिले भत्किएर जीर्ण बनेका छन् । सडक भत्किएपछि सर्वसाधरणलाई यात्रा गर्न कठिनाई भएको छ । भने दुर्घटनाको जोखिम बढेको छ । रुपन्देहीमा मात्रै होइन्, प्रदेशका तराईका जिल्लाहरुमा यो समस्या अधिक छ ।

Advertisement

दाङको घोराही–कमिरेचौर सडक पिच गरेको धेरै समय बितेको छैन । तर, यो सडक अहिले हिलाम्य छ । त्यसै घोराही–होलेरी सडक पनि धेरै समय टिकेन । अहिले सडकको कालोपत्रे उप्किएको छ । जिल्लाको महत्वपूर्ण घोराही–लमही र तुलसीपुर–कपुरकोट सडक जीर्ण बनिसकेको छ । जिल्लाका सडकमा अहिले धुलो, हिलो र खाल्डाखुल्डी छन् । यसले सर्वसाधरणलाई सास्ती छ ।

Advertisement

ओभरलोडका कारण सडक गाडी चलाउन नमिल्ने अबस्थामा पुगेको यहाँका बासिन्दा बताउँछन् । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले उच्च भारले सडक जिर्ण भएपछि ट्रक समितिले नै सडकमा गाडी रोकेर अनुगमन गर्न थालेको बताए । ओभरलोडमा गाडी चलाउँदा दुर्घनाको जोखिम रहेको र सडक पनि जिर्ण हुँदै गएका कारण व्यवसायीहरुलाई यसतर्फ सचेत बनाइरहेको उनले बताए ।

जिल्लामा सिमेण्ट उद्योगका गाडीहरुले अत्यधीक भार बोक्ने गरेको उनले बताए । भारतबाट सिमेण्टका सामान लिएर आउने र जाने गाडीका साथै चुनढुंगा बोक्ने गाडीहरुले अत्यधिक भार बोक्ने गरेका छन् । सिमेण्ट उद्योगका गाडीहरु चुनढुंगा बोक्न जाने आउने गर्दा नै घोराही–कमिरेचौर र घोराही–होलेरी सडक छिटै बिग्रिएका हुन् । सडक बिग्रेको बिरोधमा बंगलाचुली गाउँपालिकाका बासिन्दाका साथै सडक आसपासका मानिसहरुले पटकपटक बिरोध पनि गरे ।

सडकमा क्षमताभन्दा दोब्बर भारका गाडीहरु चल्ने गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘१७ टनसम्म सामान बोक्नुपर्ने ट्रकले ३० टनसम्म सामान बोकेको भेटिएको छ । मालबाहक गाडीहरु सबै ओभरलोड चल्छन्,’ उनले भने, ‘क्षमताभन्दा बढी भारका गाडी चलेपछि सडक टिक्ने कुरै भएन । ओभरलोडले सडक चौपट भैसक्यो ।’

उच्च भारका गाडी चल्ने सडकमा कालोपत्रेको कुनै नाम निशाना नै नरहेको अधिकारीले बताए । ‘अहिले कालोपत्रे भएका सडकमा कालोपत्रेको कुनै पनि संकेत बाँकी छैन,’ उनले भने, ‘भार नियन्त्रणमा सहयोग मागेर हामीले बढी लोड बोकेका गाडीका फोटो खिची प्रहरी प्रशासनलाई पटकपटक अनुरोध गरेका छौं तर काम केही भएको छैन ।’

सडकमा गाडीको भार क्षमता हेर्ने जिम्मेवारी यातायात व्यवस्था कार्यालयको हो । जिम्मेवारी भएपनि कार्यालयको कार्यभार नै बढी भएकाले सडकमा गाडी जाँच गर्ने समय पाउन कठिन भैरहेको यातायात व्यवस्था कार्यालय दाङका प्रमुख रमेश गौतमले बताए ।

रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक ४ सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी मालबाहक गाडीले ओभरलोड बोक्ने गरेका छन् । सडक क्षमताअनुसार ६ चक्के गाडीले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १६ चक्केलाई ३०.२ टन मात्र ढुवानी गर्न सक्ने प्रावधान छ । तर, बेलहिया नाकाबाट भित्रिने मालबाहक गाडीले १२० टनसम्म ओभरलोड बोक्ने गरेको पाइएको सडक डिजन कार्यालयको रेकर्डमा छ । यो मार्गको क्षमता बढीमा ३०.२ टन मात्रै हो ।

यस्तै पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियामा पनि सडकको हालत उस्तै छ । यी जिल्लामा पनि मालबाहक सवारीले अधिक लोड बोक्ने गरेका छन् । चुरे पहाडका खानीबाट कच्चा पदार्थ ढुवानी गर्ने टिपर, बेलहिया, कृष्णनगर, रुपैडियाबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहितका भारतीय मालवाहक गाडीले ओभरलोड बोक्ने गरेका छन् । ओभरलोडको अनुगमन र नियमन गर्नेतर्फ कसैको ध्यान गएको छैन ।

ओभरलोड बोकेर आउने गाडीकै कारण नेपालकै नमूना भनिएको बेलहिया–बुटवल व्यापारिक मार्गको सडक धुजाधुजा भएको छ । सडकमा खाल्डाखुल्डी परेका छन्, कतै भत्किएको छ भने कतै सडक नै दवेको छ । कम्तिमा आठ वर्ष पुनःमर्मत गर्न नपर्ने गरी डिजाइन गरेर निर्माण भइरहेको भनिएको सडक नै निर्माण सम्पन्न नहुँदै पुनर्निर्माण गर्नु परेको छ । छोटो समयमै ओभरलोडका कारण सडक भत्किएपछि लामो समय टिकाउन ओभरलोड नियन्त्रण वा यसको पुनः डिजाइन गरेर निर्माण गर्ने मात्रै विकल्प देखिएको छ ।

भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढीमात्रामा ओभरलोड हुने गर्छन् । यस्तै, नेपालका विभिन्न ठाउँबाट यो सडम प्रयोग गरेर आउजाउ गर्ने दैनिक ५ सय बढी चुनढुंगा बोकेका टिपरले ओभरलोड बोक्ने गरेका छन् । यस्ता गाडीको ओभरलोड नियन्त्रणमा कसैको ध्यान गएको पाइँदैन । अस्फाल्ट क्रंकिट प्रविधि प्रयोग गरी २०६९ सालबाट निर्माण सुरु भएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार अझै सम्पन्न भएको छैन ।