लुम्बिनी केबलकारमा पर्यटकको आकर्षण
भैरहवा- लम्बिनी केबलकारमा पर्यटकको आकर्षण बढेको छ । पछिल्लो समय स्वदेशी तथा भारतीय पर्यटक अत्यधिक मात्रामा केबलकार चढ्न गइरहेका छन् । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोडेर बनाइएको केबलकार संचालनमा आएको एक महिनामै ३० हजार बढी पर्यटक त्यहाँ पुगेको संचालकले बताएका छन् ।
लुम्बिनी केबलकार चढ्न र माँ कामाख्यादेवीको पुजाआजा तथा दर्शन गर्न सहज छ । नेपाल–भारत सीमा नाका बेलहिया–सुनौलीदेखि करिब ३० किलोमिटरको दूरीमा लुम्बिनी केबलकार छ भने यहाँ पुग्न चारैतिरबाट सहज सडकमार्ग छन् । जसले गर्दा यहाँ पर्यटकको आकर्षण बढेको हो । अत्यधिक गर्मी हुने रुपन्देही र यस नजिकका भारतीय सहरका पर्यटक केबलकार संचालनमा आएपछि बसन्तपुर डाँडामा रमाउन पुग्ने गरेका छन् ।
‘छोटो दूरीकै यात्रामा गर्मी छलेर सितलता पाइने, कामाख्यादेवीको दर्शन र मनोरञ्जन मिल्ने भएपछि पछिल्लो पटक लुम्बिनी केबलकार पर्यटकको आकर्षण नै बनेको हो । स्थानीय मात्रै होइन्, भारतीयहरु पनि अधिक आउनु भएको छ’, लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । बुटवलदेखि तीन किमी माथि पाल्पाको डाँडामा रहेको बसन्तपुरमा तापक्रम न्युन छ । यहाँ सितलता र प्राकृति सौन्दर्यताको आनन्द लिन सकिन्छ ।
हरियाली, शान्त र मनोरम दृष्यले स्वदेशीसँगै भारतीय पर्यटक लोभिएका हुन् । ‘मुलुकमा पर्यटकीय गन्तव्य अधिक छन् । प्रचारप्रसार र प्रबद्र्धन गरे पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने धेरै आधार छन् । तर, कतिपय गन्तव्य अझै ओझेलमा छन्, त्यस्तालाई प्रबद्र्धन गरी पर्यटनमार्फत् मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘हामीले लुम्बिनीलाई केन्द्रमा राखेर यहाँ केबलकार संचालनमा गरेका हौं, लुम्बिनी आउने धेरै यहाँ आउने गर्नुभएको छ ।’
स्थानीयसँगै आईएमई समूहको मुख्य लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । संचालनमा आएको एक महिनामा करिब ३० हजार पर्यटकले केबलकारमा यात्रा गरेका छन् । जसमध्ये ८७ प्रतिशत आन्तरिक र बाँकी भारतीय तथा तेस्रो मुलुकका पर्यटक छन् । लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएकाले यहाँ नयाँ अनुभव लिने आउन उल्लेख्य छन् ।
मुलुकभर केबलकार संजाल विस्तार गरिरहेको आईएमई समूहले काठमाडौंको चन्द्रागिरी, पूर्व नवलपरासीको मौलाकालीमा पनि केबलका संचालनमा ल्याइसकेको छ । अब बाँकी चार प्रदेशमा पनि ५ वर्षभित्रै केबलकार संचालनमा ल्याउने योजना उक्त समूहको छ ।
जेठको १५ दिनमा १७ हजार ५४ जनाले केबलकार चढेकामा असारको २६ दिनमा ११ हजार ६ सय २५ जनाले चढेका छन् । केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत, सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक, अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ ।
लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए । लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउँछन् ।
केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैयाँ र भारतीयका लागि ७५० भारु रहेको छ । केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दीर्घकालीनरुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
केबलकारको टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दीसहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउँ र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका प्रालिले जनाएको छ । २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब एक हजार फिट उचाईमा रहेकाले त्यहांको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ ।
टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रकृयामा रहेको प्रालिका अध्यक्ष ढकालले जनाए ।
प्रतिकृया दिनुहोस्