पालिकाका बजेट र कार्यक्रम ‘कर्मकाण्डी’



भैरहवा- लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २९८०-०८१ का लागि आइतबार बजेट सार्वजनिक गर्ने धर्म निभाएका छन् । आन्तरिक असहमतीले केही पालिकाले बजेट नै सार्वजनिक गर्न सकेनन् । बजेट सार्वजनिक गर्ने अधिकांश पालिकाले पहिलेको जस्तै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजना गरेका छन् ।
त्यसअघि पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सार्वजनिक नीति तथा कार्यक्रम र बजेट सर्वसाधरणमा उत्साह जगाउने भन्दा झारा टार्ने कार्यक्रम धेरै छन् । स्थानीय तहले आयोजना गरेका नीति कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रम कर्मकाण्डी खालका थिए । पालिकाका कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी मात्रै देखिन्थे । विपक्षी, विज्ञ र सरोकारवाला देखिएनन् ।
केही कार्यक्रममा सञ्चारकर्मीलाई आमन्त्रित गरिएको थियो । कार्यक्रम व्यवस्थित थिएनन् । पालिकाको तयारी र कार्यक्रम हेर्दा जसरी हुन्छ औपाचारिकता पूरा गर्ने जस्तो देखिन्थे । स्थानीय सरकार भएकाले यस्ता कार्यक्रममा संसदकै झल्को आउनु पर्ने हो । तर, धेरै तहमा जसरी हुन्छ कार्यक्रम सम्पन्न गर्ने चटारो मात्र देखियो । यस्ता कार्यक्रममा नागरिकको कुनै सरोकार थिएन ।
स्थानीय तहले आगामी वर्षका लागि योजना सार्वजनिक गर्दा बिगतका कार्यक्रमको उपलब्धीबारे समीक्षा गरेको पाइँदैन । जसले गर्दा कुन कार्यक्रमले लाभ मिल्यो, कुन असफल भयो यकिन गर्न सकिएको छैन । यसपटक सार्वजनिक नीति, कार्यक्रम र बजेट अध्ययन गर्दा बिगतकै कार्यक्रमको निरन्तरतामा जोड दिइएको छ । पालिकाले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्द्धन मार्फत रोजगारी बृद्धि गर्ने योजना ल्याएका छन् ।
स्थानीय सरकार कार्यान्वयनको लामो अवधिमा नीति कार्यक्रमले सर्वसाधरणमा उत्साह जगाउन सकेका छैनन् । अझै आफू निकट र पहुँचवालाको प्रभाव नीति कार्यक्रम र बजेटमा देखिने गरेको छ । पालिकाका प्रमुखलाई वडाध्यक्ष र सदस्यको चित्त बुझाउन धौं भइरहेको छ । माग अनुसार बजेट विनियोजना गर्नुपर्ने ढिंपी गर्छन् । आर्थिक मन्दिका कारण राज्यको ढुकुटीमा ह्रास आएकाले पालिकाको पहिलेको तुलनामा कम बजेट सार्वजनिक गर्नु परेको जनाएका छन् । यसले सबै जनप्रतिनिधिको चित्त बुझाउन मुश्किल छ ।
जनप्रतिनिधिबीच मेल नखाँदा आइतबार रूपन्देहीका १६ मध्ये १३ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८०-८१ कालागि सीमावर्ती रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले बजेट पेस गर्न सकेनन् । ती स्थानीय तहमा बजेट बाँडफाँटको विषयमा सहमति नभएकाले रोकिएको जनाइएकाे छ ।
सहमती कायम गर्न भन्दै ती पालिकाका जनप्रतिनिधि र कर्मचारी भैरहवाका तारे होटलमा बास बसे पनि उपलब्ध हुन सकेन । यसअघि पनि जिल्लाका सीमावर्ती पालिकामा यस्तो समस्या देखिँदै आएको थियो । ती पालिकामा वडाध्यक्षले आफ्नो माग अनुसार बजेट विनियोजना हुनुपर्ने बताइरहेका छन् । अनुकुल योजना बनाउन दबाब कायम छ ।
लुम्बिनी प्रदेशमा रोल्पा र अर्घाखाँचीका दुई स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेनन् । गुल्मीका दुई स्थानीय तहले आइतवार नीति, कार्यक्रम र बजेट एकैसाथ पेश गरेका छन् । स्थानीय शासन विज्ञ मीन मल्लले स्थानीय तहले नीति कार्यक्रम र बजेट मार्फत जनतामा आशा जगाउन नसकेको बताउँछन् । यसपाली अधिकांश पालिकाले नागरिकलाई निराश बनाउने खालको नीति कार्यक्रम र बजेट ल्याएको प्रतिक्रिया उनले दिए ।
‘समयमा बजेट ल्याएर स्थानीयतहले कर्मकाण्ड त पूरा गरेका छन्,’ उनले भने, ‘तर, बजेटमा नयाँ योजना र भिजन देखिंदैन, बजेटमा ६५ प्रतिशत प्रशासनिक खर्च, ३५ प्रतिशत पुँजीगत खर्च समेटिएको छ । यसले जनप्रतिनिधि, कर्मचारी पाल्नेबाहेक अन्य काम हुँदैन ।’ जनप्रतिनिधिको क्षमता र अनुभव कम भएकाले बजेट प्रभावकारी हुन नसकेको उनले बताए ।








प्रतिकृया दिनुहोस्