November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रूपन्देहीमा आधुनिक सहर बन्दै

भैरहवा– एक समय लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाबाट घिउसित नुन तेल साट्न सर्वसाधरण बटौंली बजार आउँथे । पहाडी उत्पादन बोकेर आउने उनीहरु दैनिक आवश्यकताका सामाग्री खरिद गरेर फर्किन्थे । पहाडी बासिन्दा बटौली आएर नुन, तेल, मट्टीतेल, लत्ताकपडा खरिद गरेर फर्किन्थे । उक्त बटौंली बजार फैलिँदै बुटवल सहरमा परिणत भइसकेको छ । दक्षिण भारतीय सीमासित गाँसिएको भैरहवा अहिले आधुनिक सहर बनेको छ । मुलुक भित्रिने र बाहिरिने नागरिकले आउजाउ गर्ने भैरहवामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवा अन्तर्राष्ट्रिय नाका स्थलमा परिणत भइसक्यो ।

Advertisement

बुद्ध जन्मस्थल लुम्बिनी शान्तिको सहर बन्दैं छ । विश्वभरका पर्यटकको गन्तव्य लुम्बिनी मुलुककै पर्यटनको केन्द्र बन्ने क्रममा छ । रुपन्देहीका ग्रामीण क्षेत्रमा अहिले परम्परागत गाउँ भेटाउन मुश्किल पर्छ । सबै गाउँ बजार, बजार अहिले सहर बन्दै छ । पहिले पहाडबाट बजार आएर सामान खरिद गरेर फर्किने सर्वसाधरणको बसोबासको केन्द्र रुपन्देही बनेको छ । बुटवलमा अहिले स्थान अभाव छ ।

Advertisement

दक्षिणका तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकामा बसाइँ सरेर आउनेको ओइरो छ । यसले आगामी दिनमा रुपन्देही बसोबासको केन्द्र बन्ने छ । यहाँका जानकारका अनुसार भैरहवा र बुटवलमा वि.सं. १९५० को सेरोफेरोमा सिमावर्ती भारतीय बजारको प्रभावले बजारीकरण सुरु भएको मानिन्छ । २०२० सालतिर आइपुग्दा देशैभरि लाग्ने ६० वटा हाटमध्ये ७ वटा हाट रूपन्देहीमा लाग्थे । तिनै हाटले यहाँको बजारीकरण र मानिसको चहलपहल बढाउन सहयोग पुर्याएको बताइन्छ ।

२०२१ सालपछि भैरहवा र बुटवलमा किनबेच र स्थायी पसल सञ्चालन सुरु भयो । पहाडी क्षेत्रबाट आउने मानिस तराईमा जिन्सी साटी कृषि उपभोग्य, खाद्यान्नका सामान खरिद गरेर फर्कन्थे । पहाडदेखि २–३ दिन लगाएर पैदल हिंडी बुटवल बजार आउने मानिसले डोका भरेर नुनसँगै लत्ताकपडा लिएर जान्थे । राजमार्गको विकास भएपछि भने बजार सर्न थाले । बटौलीको नामबाट चिनिने पुरानो बजार पारिदेखि वारि सरेर खस्यौली भयो । उक्त बजारलाई वारिका मानिस बुटवल भन्छन् भने बटौलीका मानिसले खस्यौली नै भन्ने गरेका छन् ।

बुटवलका साथै भैरहवा, धकधई, देवीनगर, मणिग्राम, खैरेनी, फर्साटिकरजस्ता गाउँ बजार बन्दै गए । खोला तर्नुपर्ने ठाउँमा काठे, फलामे पुल बने । तिनाउ, रोहिणी पुलले वारि र पारिका मानिसबीच सम्बन्ध बढायो । ग्राभेल सडकमै भए पनि साइकल, लडिया, ट्र्याक्टरजस्ता साधन गुड्न थाले । भैरहवा भारतीयको मुख्य बजार थियो । विदेशी सामान भारतमा नपाइँदा खुला सिमानाबाट भारतीय यतै बजार गर्न आउँथे । पछि भने भारतमै सबै विदेशी सामानको आयात हुन थालेपछि भैरहवाको उल्लास घट्यो । गाउँगाउँमा गाडी पुग्ने, सबैतिर स्थानीय बजार, हाट सञ्चालन हुने गर्दा गुल्मी, पाल्पा, अर्घाखाँचीका मानिस आएर हुने गरेको यहाँको व्यापार केही कम भएको थियो ।

यहाँको खानपान र भेषभूषाको शैली अन्तरसांस्कृतिक हुँदै गएको छ । भारतीय र चिनियाँ बजारमा आएका लुगा नेपाल भित्रिने, यहाँका मानिसले बाह्य देशको भ्रमणमा चाखेका स्वाद यहाँ बनाउने प्रयास गर्दै खानपानको शैली पनि परिवर्तन भएको छ । यहाँ खुलेका शैक्षिक संस्थाले पनि बुटवलमा अन्य जिल्लाका विद्यार्थी आउने र यहाँ रकम संकलन भई आर्थिक रूपमा सवलीकरण बढेको यहाँका अगुवा बताउँछन् ।

भैरहवामा औद्यिोगिक क्षेत्र विकास गर्न सेज बनाएको ३ वर्ष बढी भए पनि कुनै उद्योग सञ्चालन हुन नसक्नुले आर्थिक केन्द्रको हल्ला भइरहे पनि सत्यता त्यो नरहेको पाइएको यहाँका अगुवा बताउँछन् । सडक निर्माणले बुटवल आर्थिक केन्द्र बन्छ कि भन्ने सन्देश दिन खोजेको भए पनि भित्री सडक वा मुख्य सडकमै समेत कहिलेसम्म टिक्छ वा कति समयमा पूर्ण बन्छ भन्ने अन्योल रहेको उनीहरुको तर्क छ ।