कुखुरा र तयारी मासु तस्करी व्यापक



भैरहवा– लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा बोइलर कुखुरा तस्करी व्यापक बढेको छ । सुरक्षा निकायको मिलेमतोमा तस्करी मौलाउँदा त्यसको प्रत्यक्ष मारमा नेपाली कुखुरापालक किसान परेका छन् । भारतसँग खुल्ला सीमाको फाइदा उठाउँदै रातदिन तस्करहरुले अवैध बाटोबाट कुखुरा नेपाल भित्र्याइरहेका हुन् । यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साथ दिएका छन् ।
पटक–पटक अवैधबाटोबाट भित्रिएका भारतीय कुखुरा रोक्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाँकेका किसानले अघिल्लो हप्ता सडकमै उत्रिएर आन्दोलन गरेका थिए । किसानले सडकमै आएर आन्दोलन गरेपछि जिल्ला प्रशासनले नाकामा कडाई गर्ने जनाएपछि किसानले आन्दोलन स्थगित गरेका थिए । किसानको यो आन्दोलनले पनि बाँकेमा ब्यापक बोइलर कुखुरा तस्करी भइरहेको पुष्टि गर्छ ।
बाँकेमा मात्रै होइन्, अहिले लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका कपिलवस्तु, पश्चिम नवलपरासी, रुपन्देही, बर्दिया जिल्लामा पनि ब्यापक कुखुरा र तयारी मासु तस्करी भइरहेको छ । विगतमा व्यापक जिउँदो कुखुरा र भारतमै खाटेर ल्याएको कुखुराको मासु तस्करी हुने गर्दथ्यो । बीचमा केही समय रवि लामिछाने गृहमन्त्री भएपछि कुखुरा र मासु तस्करी रोकिएको थियो । अहिले फेरि तस्करी मौलाएको किसान बताउँछन् ।
प्रदेशको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया कुखुरामा आत्मनिर्भर छन् । तर, भारतबाट तस्करी हुँदा नेपाली किसानले मुनाफै कमाउँदैनन् । सस्तोमा कुखुरा बेचिरहेका छन् । अहिले भारतीय बजारबाट ल्याएर जिउँदो कुखुरा प्रतिकिलो १८० देखि २ सय रुपैयाँमै तस्करले नेपाली बजारमा उपलब्ध गराउँछन् । नेपाली जिउँदो कुखुरा प्रतिकिलो २८० देखि ३ सय रुपैयाँ पर्छ । किलोमै एक सय रुपैयाँको अन्तर हुँदा तस्करी मौलाएको छ । स्वदेशी किसान भने मर्कामा छन् ।
अर्कातर्फ सीमावर्ती बजारमा भारतमै काटेर तयारी गरिएको बोइलरको मासु पनि भित्रीरहेको छ । रुपन्देहीको मेउडिहवा, मर्चवार, भगवानपुर, पक्लिहवा, दुर्गौलिया, कालीदह, बगाहा लगायतका स्थानबाट अहिले ब्यापक कुखुरा र मासु तस्करी भइरहेको किसानहरु दुखेसो गर्छन् । ‘हामीले कुखुरा पाल्छौं, विक्री गर्नेबेला तस्करी मौलाउँछ, जसले गर्दा मुनाफा नै हुँदैन’, रोहिणीका एक किसानले भने, ‘भारतीय अवैध कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा हामी पलायन हुने अवस्था आयो ।’
भारतबाट भित्रिएको तयारी मासु भैरहवा, बुटवल र लुम्बिनी क्षेत्रका सानाठूला होटलहरुमा पुग्ने गरेको छ । तस्करी गराएवापत सुरक्षाकर्मीले मोटो रकम बुझ्ने गरेका छन् । नेपाल प्रहरीले अहिले रुपन्देहीमा घुमुवा परिचालन गरेर असुली गरिरहेको छ । एसपी भरतबहादुर विक भर्खरै मात्रै रुपन्देही आएका हुन् । जिल्लाको वास्तविक अवस्था बुझिरहेका एसपी विकलाई गुमराहमा राखेर सीमा चौकी, इलका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका उच्च अधिकारीले लाभ लिइरहेका छन् । विकलाई तस्करको जालो बारे थाहा छैन । तर, लामो समय रुपन्देहीमा जरो गाडेर बसेका प्रहरी कर्मचारीले अहिले धमाधम तस्करी गराइरहेका छन् ।
सशस्त्र एसपी दीपक थापा पनि रुपन्देही आएको धेरै भएको छैन । उनले घुमुवा प्रहरी नै राखेका छैनन् । तर, सीमा खटिने सुरक्षाकर्मीले बेलाबेला तस्करीबाट नेपाल ल्याउन लागिएका कुखुरा बरामद गर्ने गरेका छन् । तर, एसपी थापालाई जानकारी नै दिई बीओपीहरुले भने घुमुमा राखेर असुली गरेको स्रोत बताउँछ ।
यताबाँकेको जमुनाह साईगाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरुको गुनासो छ । यसरी भित्र्याइएका कुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमान मार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पा लगायतका जिल्लामा समेत पठाउने गरिएको जानकी गाउँपालिका–१ का किसान असगर अली कुरेशीले जनाए । बाँके कुखुरामा आत्मनिर्भर भए पनि बाहिरबाट कुखुराहरु आयात र तस्करी नरोकिँदा किसान मर्कामा परेको कुखुरा ब्यवसायी ईश्वर सुबेदीले बताए । कुखुरा व्यवसायी संघ बाँकेकाअनुसार अहिले जिल्लामा करिब पाँच सय किसान कुखुरा पालन व्यवसायमा संलग्न छन् ।
यता पश्चिम नवलपरासीको मुख्य सीमानाका महेशपुर, भुजहवा, झुलनिपुर, विष्णुपुरा, बलिनगर, बसहिया नाकाबाट अबैध रुपमा कुखुरा र तयारी मासु भित्री रहेको छ । यहाँ सशस्त्र र नेपाल प्रहरीले घुमुवा परिचालन गरेर तस्करी गराउँदै आएका छन् । यसवापत घुमुवा मार्फत् प्रहरी प्रमुखले मोटो रकम बुझ्ने गरेका छन् । सीमा क्षेत्रमा खटिएका प्रहरीले तस्करी नियन्त्रण गर्नुको साटो तस्करकै संरक्षण गर्ने गरेको स्थानीयवासी बताउँछन् । प्रहरीका स्थानीय चौकी देखि उच्च अधिकारीसम्मलाई मासिक रुपमा रकम बुझाउने ठूला तस्करको सामान प्रहरीले नदेखे जस्तै गरेको हुन्छ भने जीविकोपार्जनको लागि थोरै थोरै सामान ल्याउनेलाई भने प्रहरीले पक्राउ गर्ने र तस्करी नियन्त्रणमा प्रहरी लागिरहेको छ भन्ने देखाउने गरेको स्थानीय गुनासो गर्छन् ।
कुखुरा व्यवसायी संघ नवलपरासीका अध्यक्ष सुबाश चौधरीले कुखुरा तस्करी मौलाउँदा आफूहरु मर्कामा परेको बताए । ‘कहाँबाट कसरी नेपालमा भारतीय कुखुरा भित्रिन्छ मलाई थाहा छैन । तर, भारतीय कुखुराका कारण हामी धरासायी भएका छौं’, उनले भने । भारतमा कुखुराको दाना, कुखुराको चल्ला, तयारी मासु र कुखुराको मूल्य सस्तो छ, त्यसैले तस्करी ब्यापक छ ।
यता भारतीय सीमा बलै गाउँ हुँदै बर्दियाको जमुनी नाका र वरपरबाट दैनिक अवैध कुखुरा भित्रीरहेको व्यवसायीले दुखेसो गरेका छन् । यहाँबाट प्रहरीको मिलेमतोमा तस्करी मौलाएको हो । लुम्बिनी प्रदेशमै तस्करहरुको मुख्य जिल्ला मध्येको कपिलवस्तुमा पनि कुखुरा र मासु तस्करी व्याप्त छ । तस्करहरुले प्रायजसो जिल्लाको कृष्णनगर क्षेत्रको भगवानपुर, लक्ष्मीनगर, कुकुरभुकुवा, विद्यानगर लगायतका सीमा नाका प्रयोग गरी अवैध कुखुरा र तयारी मासु भित्र्याइरहेका छन् ।
पछिल्लो समय कपिलवस्तुको शिवराज नगरपालिका– ४ वसन्तपुर चोक नजिकै भारतबाट अवैध रुपमा भित्राइएका ४ लाख बढी मूल्यका ब्रोइलर कुखुरा बरामद गरिएको छ। प्रहरी गस्ती टोलीले १६ सय ८० केजी कुखुरा बाटोमा राखिएको अवस्थामा फेला पारेको हो। प्रहरी गस्ती टोली र ह्यचरी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द खड्का, दाना व्यावसायिक संघ लुम्बिनी प्रदेशका सचिव राज कुमार पराजुली सहितको संयुक्त टोलीले अनुगमन गर्दा बेवारिसे अवस्थामा सो कुखुरा फेला परेको प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बत्ताइन।
५ सय ६० वटा अन्दाजी ४ लाख २० किलोका कुखुरा स्थानीय जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको रोहबरमा खाडल खनी नष्ट गरिएको छ। केही महिना यता नेपाल तर्फ मूल्य बढे पछि तस्कारहरुले कुखुरा लगायतको व्यापक तस्करी भइरहेको कुखुरा व्यवसायीहरू बताउँछन्। भारतीय कुखुरा तस्करी हुँदा आफूहरू मारमा परेको व्यवसायीहरूको गुनासो छ।








प्रतिकृया दिनुहोस्