सहकारीबाट जीवनस्तर उकास्दै महिला



भैरहवा– बिहानै उठ्ने छोराछारीलाई चियानास्ता, घरायसी काम र चुलोचौको । छोराछोरी स्कूल हिंडेपछि खेतीकिसान । सिलौटियाकी सरोजा कलवारको यो दैनिकी । आम्दानी स्रोत नहुँदा छोराछोरीलाई कापीकलम र चुरापोते किन्न श्रीमान्को मुख ताक्नु पर्ने । १९ वर्षमा बिबाह बन्धनमा बाँधिएकी उनको यस्तो दैनिकी १७ वर्षसम्म चल्यो । आजभोलि भने उनी सक्षम भएकी छन् । पहिलेजस्तो छोराछोरीको कापीकलम र चुरापोतेका लागि श्रीमान्को मुख ताक्नु त परै जाओस् उल्टै मासिक आम्दानी बुझाउँछिन् ।
कलवारको दैनिकीमा परिवर्तन ल्याउन न माइतीले सहयोग गरे, न त श्रीमान् र आफन्तले नै । उनको परिवर्तको सारथी बनेको हो, मायादेवीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, गोनाहा । जग्गाजमिन सबै श्रीमान्को नाममा । बैज्ञानिक खेती प्रणाली र नगद आम्दानी नहुँदा निकै समस्या झेलेकी उनलाई एकाएक परिवर्तन हुन निकै संघर्ष गनुपर्यो ।
नगद आम्दानी स्रोत नहुँदा चिन्तित बनेकी कलवारले छिमेकी साथीको सल्लाह बमोजिम सिलौटियामा रहेको साना किसान सहकारीमा शेयर सदस्य बन्ने धिनी गरिन् । महिला मात्रै शेयर सदस्य रहेको उक्त सहकारीमा उनले १० हजारको शेयर किनिन् ।
शेयर किनेको र आफूले उक्त सहकारीबाट कर्जा लिएर तरकारी खेती गर्ने योजना बनाएको श्रीमानलाई सुनाइन् । श्रीमान् पनि राजी भए । सहकारीबाट एकलाख ऋण लिएर तरकारी खेती गर्न थालेकी उनले अहिले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्छिन् ।
६ कठ्ठा जमिनमा टमाटर, बन्दा, काउली, लौका, भिन्डीलगायतका तयारी लगाएकी छिन् । उनको योजना र कामलाई श्रीमान्ले पनि राम्रो सहयोग गरेका छन् । आइतबार सेमरीमा भेटिएकी उनले पुराना कुरा सम्झँदै भनिन्, ‘जमिन मात्रै भएर हुँदैन लगानी, योजना र काममा निरन्तता पनि चाहिँदो रहेछ । दैनिकी कटाउनै समस्या हुन्थ्यो सहकारीबाट ल्याएको ऋणले आजभोलि आर्थिक समस्या टर्दै गएको त छ नै मासिक १५ हजार बचत समेत गर्छु ।’
मर्चवारी गाउँपालिका वडानम्बर ४ की वेभाबति मल्लाहले पनि थुप्रै योजना सुनाइन् । ४९ वर्ष कटेकी उनले पनि सेमरीमा सहकारीको शाखा खुलेको र महिला मात्रै शेयर सदस्य भएकाले १५ हजारको शेयर किनेकी छन् । सहकारीले कारोबार सुरुगरेपछि ऋण लिएर भैंसी किनेकी छन् । ‘हामीलाई सहकारीले सस्तो ब्याजमा ऋण दिएर अवसर दिएको छ, यसलाई सदुपयोग गर्नुपर्छ’, उनले भनिन्, ‘दुईवटा भैंसी पालेका छौं, सहकारीबाट ऋण लिने पैसाले पनि अर्को भैंसी किनेर दूध बेचेर घर खर्च चलाउने योजना बनाएकी छु ।’
यी दुई त उदाहरण मात्रै हुन् । पछिल्लो समय मर्चवारका महिलाहरुलाई शेयर सदस्य बनाई सहकारीमा गोलबन्द गरी आर्थिकपार्जनमा साना किसान सहकारीले योगदान पुर्याउँदै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, चेतना र विकासका हिसावले मर्चवार जिल्लाकै पछाडि छ । यतिमात्रै होइन, यो क्षेत्र हरेक हिसाबले अन्य स्थानीय निकायभन्दा अविकसित छ । यहाँका महिलाहरुको दैनिकी खेती किसान र चुलोचौकोमै बित्छ । एक रुपैयाँ खर्च गर्न पनि श्रीमानको भर पर्नुपर्छ ।
तर, विस्तारै यस्तो अवस्था अन्त्य हुँदै जान थालेको छ । यहाँका महिलाहरु आत्मनिर्भर हुँदै जान थालेका छन् । सहकारीमा शेयर लगानी गरेर ऋण लिई व्यवसाय गर्न थालेका छन् । गोनहामा मुख्य कार्यालय रहेको साना किसान सहकारीले मर्चवारको सिलौटियामा पनि महिला मात्रै शेयर सदस्य हुन पाउन गरी शाखा खोलेको छ । यहाँको सहकारीमा करिब ५ सय महिला शेयर सदस्य छन् । उनीहरुले मासिक एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म बचत गर्दै आएका छन् ।
विरामी हुँदा, व्यवासाय गर्दा र छोराछोरीलाई पठनपाठन गर्न शुलभ दरमा एक लाखसम्म ऋण लिने गरेका छन् । आजभोलि यी महिलाहरुको पारिवारिक दिनचर्या नै परिवर्तन भएको छ । यहाँका महिला शेयर सदस्यहरुलाई सहकारीले कर्जा लगानी गरेको छ । सहकारीका संस्थाका अध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) ले महिला लक्षित लगानीलाई प्राथमिकता दिएको बताए ।
‘मर्चवार पिछडिएको क्षेत्र हो, यहाँका महिला दिदीबहिनीमा शिक्षा, स्वास्थ्य र चेतनाको कमी छ, यसैलाई मध्यनजर गरेर उनीहरुको जीवनस्तर उकास्न महिलामात्रै शेयर सदस्य रहने गरी सहकारीको शाखा स्थापना गरेका छौं’, उनले भने, ‘यसले महिलाहरुमा सामूहिक संगठनको भावना विकास त गर्छ नै आत्मनिर्भर बनाउन पनि सहयोग पुग्छ ।’ उनले दुग्धजन्य उत्पादन, बाख्रा पालन, राँगा, गाईभैंसी, बंगुर तथा मासुजन्य र कृषिजन्य उत्पादन बृद्धि गर्न सहकारीले ऋण प्रदान गर्दै आएको बताए । पूर्व कृषि राज्यमन्त्री समेत रहेका यादवको पहलमा २०६० सालमा सहकारी स्थापना भएको हो ।








प्रतिकृया दिनुहोस्