तिलोत्तमा नगरपालिका विकास, आस्था र पर्यटनको केन्द्र



रूपन्देही– जिल्लास्थित तिलोत्तमा नगरपालिका पछिल्लो समय लुम्बिनी प्रदेशमै बसोबासको केन्द्र बनेको छ । बुटवलमा जग्गा अभाव भएकाले पहाडबाट बसाइँ सरेर आउनेहरु तिलोत्तमा केन्द्रित बनेका हुन् । बसोबासका लागि आकर्षक क्षेत्र बनेको तिलोत्तमा आधुनिक बिकास, विभिन्न जातजाति र धर्ममा आश्था राख्नेको केन्द्र बन्नुका साथै पर्यटन बिकासमा केन्द्रित देखिन्छ । यहाँ रहेका महत्वपूर्ण स्थानमा अहिले सर्वसाधरणको आकर्षण देखिन्छ ।
तिलोत्तमा–१, नालिस्थित परमानन्दसन्यास आश्रम तथा दुर्गा मन्दिर धार्मिक पर्यटकका लागि गन्तव्य बनेको छ । करिब एक विगाहा क्षेत्रफलमा व्यवस्थित गरिएको छ । यस मन्दिर परिसर भित्र परमानन्द सन्यास आश्रम, दुर्गा पाञ्चायन मन्दिर, राधाकृष्ण मन्दिर, वैदिक पाठशाला कक्ष, भण्डारा कक्ष गायतका संरचनाहरू विद्यमान छन् । यस मन्दिरमा दैनिक पूजा आराधना स्वाभिषेक, वैदिक संस्कृत पाठशाला सच्चानन, साँझमा भजनकिर्तन, आरती एवं दीपावली, समय समयमा विद्वानविदुषीहरुबाट प्रवचन, विशेष पर्वहरुमा हिन्दु धमानम्बीहरुको जमघट र पूजाअर्चना, गुरु भण्डारा जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ । नगरा मुख्य धार्मिक स्थलहरु मध्ये यो मन्दिर एउटा महत्वपूर्ण धार्मिक प्रतिष्ठानका रूपमा सञ्चालन भइरहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न नगरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख राकृष्ण खाँणले बताए ।
तिलोत्तमा–१०, स्थित बहुउद्देश्यीय रोहिणी जलाशययुक्त आयोजना आर्थिक दृष्टिले समेत महत्व राख्दछ । यसको निर्माण सम्पन्न भएपछि जलाशयवाट तिलोत्तमा नगरपालिका क्षेत्रको ५ सय हेक्टर भूमिमा सिंचाई व्यवस्थापन हुनुका साथै उक्त जलाशयमा मत्स्यपालन, बोटिङ, पौडी लगायतका विविध मनोरञ्जन र आमोद प्रमोदका क्रियाकलाप सञ्चालन हुने स्थानीय पदाधिकारी बताउँछन् । नदी किनारमा दुवैतर्फ तटबन्ध निर्माण र ६६ मिटर लम्बाईको ड्याम बाँधी ड्यामदेखि २ किलोमिटर लम्बाई र ७०–८० मिटर चौडाईमा फैलिने यो जलाशयले पर्यावरणमा ठूलो योगदान पुर्याउनुका साथै यसको वरिपरि हरियाली प्रवद्र्धन समेत हुने देखिएको छ ।
३ देखि ३.५ मिटर गहिरो रहने यो आकर्षक जलाशय सौन्दर्यता विविध मनोरञ्जन सम्बन्धी क्रियाकलापले गर्दा आन्तरिक तथा वाह्य पर्यटनका लागि महत्वपूर्ण गन्तव्य स्थलको रुपमा विकास हुने बताइएको छ । यो जलाशयको तटबन्धतर्फको टपमा आकर्षक पैदल मार्गको व्यवस्था, यही मार्गको किनारमा पश्चिमतर्फ वृक्षारोपण र पूर्वतर्फ फूलवारी निर्माण, जलाशयकाबीच खण्डमा आकर्षक मन्दिर निर्माण गरी उक्त मन्दिरमा जानआउनका लागि सानो पुल निर्माणको व्यवस्थापन गरेमा धार्मिक एवं पर्यापर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण गन्तव्य स्थल बन्ने नगर प्रमुख खाँण बताउँछन् ।

तिलोत्तमा– १ र २ मा रहेको शंकरनगर सामुदायिक वन विभिन्न किसिमका बोटविरुवा तथा वनस्पतिका साथै सुन्दर पार्क तथा चिडियाखाना छ । उक्त वाटिका केन्द्र वातावरणीय तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । ‘तिलोत्तमा नगरपालिका प्रतिदिन शहरीकरण भैरहेको छ र यसको भविष्यलाई दृष्टिगत गरी शंकरनगर सामुदायिक वन हरियालीपूर्ण स्वच्छ, सुन्दर र सुविधायुक्त पार्कको निर्माण गरी बाल, वृद्धा, युवा सबैका लागि आकर्षक मनोरञ्जनात्मक खुला विश्राम स्थलको विकास गर्न लागिपरेका छौं’, खाँणले भने, ‘सुविधायुक्त वनभोजस्थल तथा सभासम्मलेन समेतलाई लक्षित गरी यस केन्द्रमा केही स–साना संरचनाहरु निर्माण भएका छन् ।’
विभिन्न प्रजातीका बोटविरुवाहरुको प्रवद्र्धन तथा अनुसन्धान, खरिद–विक्री व्यवसाय समेत गर्ने गरी नर्सरीको स्थापना एवं विकास गरिएको छ । पर्यटकहरुलाई आकर्षित गर्ने सन्दर्भमा भ्यू टावर अवलोकन, विपशना ध्यान केन्द्र, एक्यूरिएम तथा वनविहार जस्ता क्रियाकलापहरु सञ्चालन गरी देवदह लुम्बिनीसँग पर्यटकीय हिसाबले सम्बन्ध जोड्ने र ऐतिहासिक कुवा संरक्षण एवं विविध अनुसन्धानमुलक कार्यहरु गर्ने उद्देश्य रहेको छ । यस केन्द्रमा वन, पर्यापर्यटन सम्बन्धी प्रचार सामाग्रीयुक्त आधुनिक पुस्तकालय (सूचना केन्द्र) स्थापना गर्ने लक्ष्य समेत रहेको छ ।
यस वनविहार तथा अनुसनधान केन्द्र भित्र प्राणी उद्यान सञ्चालन भएको र जसमा विभिन्न चराचुरुङ्गी २ जनावरहरु राखिएका छन् । हाल यहाँ चितुवा, भालु स्याल चित्तल–हरीण, निलगाई, रतुवा मृग, खरायो, मुसा (गिनिपिग सेतो मुसां, बांदर, अजिङ्गर, इम, राजहंस, गिद्ध, बाज, चिल मयुर, खरायो, कछुवा, दुम्सी, अष्ट्रिच र सारस आदि राखिएका छन् । ‘मिनी चिडियोखाना’को नामले परिचित यो प्राणी उद्यानले आगन्तुकहरुको लागि छुट्टै आकर्षण दिएको छ । हाल तिलोत्तमा नगरपालिकाको अगुवाईमा यस केन्द्रमा अत्याधुनिक प्रविधिसहितको भ्यूटावर निर्माणको काम चलिरहेको छ ।
‘यस कार्यले पूर्णता पाएपछि यस स्थलको आकर्षण अरु बढेर जाने छ । वनवाटिकाको नामले परिचित यस केन्द्रमा वनविहार तथा विविध मनोरञ्जनका लागि आन्तरिक तथा बाह्य पर्यटक र विभिन्न आगन्तुकहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गरेको छ । यस केन्द्रको प्रवद्र्धनबाट उल्लेख्य रुपमा आर्थिक आम्दानी समेत हुने छ’, नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले भनिन् । तिलोत्तमा–६ पश्चिम पहुनीमा संसारकै पवित्रतम मोक्षधाम अवस्थित छ । यो जगन्नाथपुरी द्वारका र रामेश्वरम तथा नेपालमा रहेका मुक्तिनाथ रामजानकी मन्दिर जनकपुर र चार धाम गरी आठ धाम तथा र १००८ शिवलिङ्ग स्थापित विश्वनाथ मन्दिर, विभिन्न तिर्थ, गण्डकी, कोशी, यमुना, सरस्वती, गोसाइकुण्ड, दामोदर मानसरोवर र सागरको जल मिश्रित अमृत कुण्ड, बाल आश्रम, वृद्धाश्रम, योग केन्द्र प्राकृतिक चिकित्सा केन्द्र तथा उद्यानसहित दर्शनीय धाम निर्माण गर्ने योजना बनाइएको छ ।

माधव सेवा र मानव सेवाको अनुपम संगम रहेक यस धामले घोषित उद्देश्य प्राप्तितर्फ उल्लेखनी उपलब्धी हासिल गरेको छ । यो पुण्यभूमि सबैको साझा गौरव हो । मोक्षधाममा तीर्थाटन गर्दा आठधामको दर्शन हुने तथा अमृतकुण्डमा स्नान गर्नाले अनेकौ नदी, सरोवर र नगरमा गएर स्नान गरेकी फल प्राप्त हुने हुनाले महत्व अद्वितीय नगरपालिकाले जनाएको छ । यस आश्रमद्वारा संचालित बाल आश्रम र वृद्धाश्रममा रहेका बाल वृद्धाहरुलाई ममतापूर्ण किसिमले अध्यापन भोजन, आवास र औषधि उपचारको प्रबन्ध गरिएको छ ।
नगरपालिका ऐतिहासिक पुरातात्विक हिसाबले समेत महत्वपूर्ण छ । रोहिणी नदीको विवाद मिलाउन सिद्धार्थ गौतम यस क्षेत्रमा आएका र यस घटनापछि धिसत्वको निम्ति त्याग गरेको उनको तिलौराकोट दरबारबाट यो नगरपालिका करिब एक सय किलोमिटर पूर्वउत्तरमा रहेको छ । यसै समयमा यस नगरपालिकाका देहायका कुवाहरु गौतम बुद्धबाट निर्माण भएको भन्ने कुरा कुवाको संरचना, कुवा आसपासका भग्नावशेषहरु उपलब्ध लगायतका वस्तुहरुबाट सहज रुपमा अनुमान लगाउन सकिन्छ ।
तिलोत्तमा–६, अन्तर्गत कञ्जलापुरमा कुञ्ज पार्क रहेको छ । झरना स्पोटर््स क्लवद्वारा निर्मित यो पार्क करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको र आकर्षक पर्यटकगन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न गतिविधिहरु सञ्चालन भएका छन् । पार्कको बीचमा १ बिगाहा क्षेत्रफलको पोखरी रहेको छ, जहाँ एकपटकमा हजार माछापालन हुने गर्दछ र डुंगा पनि सञ्चालनमा रहेक छ । पार्कको वरिपरि विभिन्न प्रजातिका फूल र बिरुवाहरूले गर्दा यो पार्क हरियाली र हराभरा बनेको छ । पार्कमा वाटर फाउण्टेन, बालउद्यान, विश्राम स्थलहरु रहेका छन् । पोखरीको चारैतिर राखिएका विद्युतीय बल्बको प्रकाशले साँझपख पार्कको सुन्दरता मनमोहक देखिन्छ । पार्कमा चारसय वर्ष पुरानो दावी गरिएको कर्मांको रुख, थारु समुदायले देवताका रुपमा मान्ने सोमैमाई मन्दिर र हिन्दु धर्मावलम्बीको दुर्गा मन्दिर पनि छ ।

पार्कलाई अझै व्यवस्थित र सुन्दर बनाउन क्लबले करिब ३ करोड लागतको गुरुयोजना अनुरुप चिल्ड्रेन पार्क, गार्डेन, क्याफेटेरिया, पोखरी वरिपरि आकर्षक पैदल मार्ग निर्माण समेत गरिएको उपप्रमुख चौधरीले जनाइन् । तिलोत्तमा १ र ८ को सीमानामा सामुदायिक जंगलको किनारमा रहेको यो गौशाला व्यवस्थित रुपमा सञ्चालन भएको छ । विशेष गरी सडक पेटीमा हिंड्ने गाई गोरुहरु र अन्य दुधालु गाईहरु संकलन गरी यो गौशाला सञ्चालन भएको हो । हाल यस गौशालामा नित्य रुपमा भजन किर्तन, पूजापाठ र गाईहरुको हेरचाह गर्ने गरिएको छ । यो स्थान धार्मिक, पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुँदै गएको छ ।








प्रतिकृया दिनुहोस्