कारोबार नबढ्दा निराश छन् उद्योगी–व्यवसायी



भैरहवा– सानादेखि ठूलासम्मका व्यवसायको राम्रो कारोबार छैन । व्यापारी दिनभर पसल कुरेर बस्दा समेत विक्री नभए पछि निराश छन् । अर्कातर्फ पुस मसान्तमा बैंक ब्याज कसरी तिर्ने भन्नेमा धेरै उद्योगी–व्यवसायीमा चिन्ता छ । उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । विकास निर्माणले गति नलिँदा निर्माणजन्य सामाग्रीको विक्री छैन । जसले गर्दा उद्योगले उत्पादन कटौती गर्नुपरेको हो ।
‘निजी क्षेत्र निकै संकटमा छ, धेरै उद्योगहरु बन्द हुने स्थिति आइसक्यो’, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले भने, ‘अवस्था जटिल बन्दै छ, व्यवसायीले पुसमा ब्याज तिर्नसक्ने अवस्था छैन । सरकारले ब्याज मात्रै घटाउने, साँवाब्याज तिर्ने अवधि बढाउने हो भने धेरै सहज हुनेथियो ।’ उनले पुँजीगत खर्चमा बृद्धि गर्न जरुरी रहेको जनाए ।
अहिले बजारको अवस्था हेर्दा लगानीकर्ताका उत्साहित देखिँदैनन् । लगानी बढ्नुको सट्टा घट्दो छ । रुपन्देहीको सीमावर्ती बजार भैरहवाको बुद्धचोकदेखि मुख्य बजार क्षेत्रमा धेरै घरका सटर र फल्याट खाली रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । ‘विगतमा मुख्य बजार क्षेत्रमा उत्साहसाथ सञ्चालनमा आएका व्यापार बन्द भइसकेका छन्’, उनले भने, ‘यसले के देखाउँछ भने, व्यापार डामाडोल छ, व्यापारीहरु विस्थापित हुन थाले भन्ने हो ।’
वर्षौदेखि व्यापार गर्दै आएका र व्यापार, व्यवसाय नै पुख्र्यौली पेशा भएका व्यक्तिले जेनतेन निरन्तरता दिइरहे पनि नयाँ लगानीकर्ता र भर्खरै व्यवसाय सुरु गरेका सबैभन्दा बढी मर्कामा परेको उनले सुनाए । ‘धेरै व्यापारी पशल खोल्छन् । तर, ग्राहक नआएपछि छिमेका व्यापारीसित मिलेर गफ गरेर दिन कटाउँछन्’, उनले भने, ‘अहिले जाडोको याम भएकाले बजारमा धेरै जना आगो तापिरहेको देखिन्छ । पशल सुनसान देखिन्छन् ।’
यतिबेला बजारमा जता गयो, त्यतै निराश व्यापारी भेटिन्छन् । व्यापारीको समूह बसेर कुराकानी गरिरहेको स्थलमा यस्तै अवस्था रहे मुलुक नराम्रोसँग आर्थिक संकटमा फस्ने र व्यवापारीले आत्महत्या गर्नसक्ने लख काट्ने गरिएको छ । व्यक्तिगत भेटघाटमा उनीहरु बैंकको ब्याज तिर्न नसकेको, उद्यमबाट बिस्थापित हुनुपर्ने अवस्था आएको सुनाउँछन् ।
अहिले व्यावसायमा फड्को मार्नेभन्दा पीडाको अवस्था रहेको व्यापारीहरु बताउँछन् । धेरै जनाले व्यापार छाडेर घरमै बसिरहेको सुनाउँछन् । ‘चार दशकदेखि मैले व्यापार गरिरहेको छु, तर अहिले जस्तो मन्दी कहिल्यै थिएन’, भैरहवाका पूराना व्यापारी ओमकार गौचनले भने, ‘एक त सीमा क्षेत्रको व्यापार चोरीतस्करीले गर्दा सधैं मर्कामा हुन्छ, अझै अहिले छ अनेक कारण सुनसान छ ।’
बुटवलका ब्यापारी पिताम्बर अर्यालले मासिक ४५ हजार रुपैयाँ भाडा तिरेर फेन्सी पसल संचालन गर्दै आए पनि पछिल्लो समय घरबाटै ब्यापार गर्न लागेको बताए । ‘विक्री नभए पछि भाडा तिर्न गाह्रो भयो’, उनले भने, ‘फुटकर व्यापार गर्न सामान घरमै सारेको छु । अलिअलि मात्रै विक्री हुने गरेको छ ।’ खुला र होलसेल व्यापारका लागि मुलुकमै केन्द्र रहेको रुपन्देहीका सबै बजार अहिले सुनसान देखिन्छन् । ठूला पशलमा ग्राहक छैनन् ।
कारोबार शून्य भएपछि व्यवसायी बिस्थापित हुने अवस्थामा छन् । धेरै बैंकबाट ऋण लिएर लगानी गरेको बताए । समयमा साँवा र ब्याज चुक्ता गर्ने अवस्था नरहेकाले धेरै लगानीकर्ता मर्कामा परेको उनीहरु बताउँछन् । व्यावसायिक सफलता प्राप्त गर्ने उद्देश्यले विभिन्न व्यवसायमा लगानी गरे पनि अहिले घाटा भएपछि तनाव बढेको व्यापारी बताउँछन् । बुटवल उपमहानगरपालिका–४, का नाजीस अधर हेन्डलुम कपडा व्यापारी हुन् । तीन पुस्तादेखि हेन्डुलम इन्टरप्राइजेज चलिरहेको छ । तीन पुस्तादेखिको व्यापारमा अहिलेको जस्तो मन्दी देख्नु नपरेको उनले बताए । ‘ग्राहक नआएपछि समान विक्री नहुने, पैसाको रोटेशन पनि नहुने’, उनले भने, ‘खर्चै धान्न समस्या भइरहेको छ ।
अहिले कपडा, खाद्यान्न, प्लाष्टिक, हार्डवेयर सामानको व्यापार ठप्प जस्तै छ । आर्थिक मन्दीले महंगी बढेको छ । व्यापारीले बैंकबाट लिएको ऋण चुक्ता गर्न सक्ने अवस्था नभएकाले जिल्लाका विभिन्न क्षेत्रका बजारमा सटर खाली हुँदै गएको पाइएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलप्रसाद कसजुले बताए । कोरोनाकालमा बैंकले जबरजस्ती १ लाख लिने व्यापारीलाई २ लाख ऋण लिने वातावरण बनाएकाले अहिले व्यवसायी मारमा परेको उनले बताए ।
‘तरलताले व्यावसाय ठप्प छ,’ उनले भने, ‘दिनदिनै पसल छोड्ने मात्रै भेटिन्छन्, व्यावसाय गरौं भनेर आउने व्यावसायी त हराए नै, साथमा घरभाडा लगाएका घरबेटीले बहालपाउन सकेका छैनन् ।’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले महाभूकम्प, कोरोना महामारी लगायतको मार अहिले व्यावसायीमाथि परेको बताए । अहिले हौंसिएर लगानी गर्ने काम बैंकको कडाईले खुम्चिएको उनले बताए । ‘नयाँ लगानीको वातावरण छैन,’ उनले भने, ‘पुरानो व्याज तिर्न नसकेर व्यवसायी मानसिक तनावमा छन् ।’ व्याजमा सहुलियत माग गर्दै व्यवसायीले आन्दोलन गरे पनि नेपाल राष्ट्र बैंकको नीतिमा परिवर्तन नआएको उनले बताए ।








प्रतिकृया दिनुहोस्