नौमुरेले कहिले पाउला निरन्तरता ?



अर्घाखाँची– अर्घाखाँची र प्युठानको सीमाक्षेत्र शितगंगा–६, मा निर्माणाधीन नौमुरे परियोजनाको कामले कहिले निरन्तरता पाउला ? मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै प्रश्न उठन थालेको छ । अहिले बजेट अभावमा आयोजनाको कार्यालयमा ताला लगाइएको छ । यसका कर्मचारी तलब खाने रकम नभएपछि काठमाडौं फर्किएका छन् । यहाँका बासिन्दा नयाँ बन्ने सरकारले परियोजनाका लागि बजेट व्यवस्था गर्ने र कर्मचारी फर्किने प्रतीक्षामा छन् । वर्षौदेखि चुनावी नारामात्र बनेकाले सर्वसाधरण निरास छन् ।
यस परियोजनाबाट दुईसय ८१ मेगावाट बिद्युत उत्पादन गर्न सकिने छ । यसको सरकारले लगानी गर्नेगरि यसको दुई वर्षअघि तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए । यसपटक संघ र प्रदेश निर्वाचन अवधिभर नौमुरे जलविद्युत परियोजना निर्माण चर्चामा रहेको थियो । दल र उम्मेदवारको आश्वासन अनुसार आयोजना पहिल्यैं सम्पन्न भइसक्नु पर्ने थियो । आवश्यक बजेट विनियोजन र निर्माण पक्रिया अगाडि नबढाउँदा आयोजना अलपत्र छ । सरकारले यसलाई गौरबको आयोजना घोषणा गरेको छ । आयोजनाबारे कुरा हुने काम नहुने भएको छ ।
यसको काम अगाडि बढाउन ३७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ‘हेलिकप्टरबाट गएर मैले उद्घाटन गरेको हुँ,’ भर्खरै एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रायमाझीले भने, ‘यसका सबै कानुनी पक्रिया पूरा भइसकेका छन् । त्यसबेला विनियोजित बजेट फ्रिज भयो, जसले गर्दा तलब खान नपाएपछि कार्यालयमा ताला लगाएर कर्मचारी फर्किए ।’ उनका अनुसार परियोजनाका लागि ३२ जना प्राविधिक दरबन्दी स्वीकृत भइसकेको छ । परियोजनासम्म पहुँच मार्ग निर्माण, बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई पूर्णता र मुआब्जाका काम गर्नुपर्ने उनले बताए । ‘चालु वर्षबाट ठेक्का लाग्छ होला,’ उनले भने ।
स्थानीयका अनुसार परियोजनाका बारेमा पञ्चायतकाल देखि चर्चा हुँदैं आएको हो । प्रत्येक चुनावका बेला यसलाई प्रमुख नारा बनाउने गरिएको छ । स्थानीय जनुबहादुर पुलामीले दुई वर्ष अघि कार्यालय उद्घाटन हुँदा परियोजनाको काम अघि बढ्ने विश्वास पलाएको बताए । ‘काम हुन्छ भन्ने धेरै आशा जागेको थियो,’ उनले भने, ‘अहिले काम ठप्प भयो, चुनाव जित्न देखावटी काम गरेको जस्तो लाग्न थालेको छ ।’ उनले भने जस्तै जिल्लाका उम्मेदवारले नौंमुरे जस्तै अपुरा आयोजना देखाएर भोट मागेका थिए ।
रायमाझी २०६४ सालयता लगातार चौथोपटक बिजयी भएका छन् । यसअघि उनी उर्जा र उपप्रधानमन्त्री समेत भए । जिल्लामा हुने हरेक कार्यक्रममा उनी नौमुरे परियोजनाबारे जोडतोडले कुरा उठाउँछन् । त्यसैपनि अहिलेसम्म पूर्वाधार निर्माणको काम सुरु भएको छैन् । उर्जामन्त्री भएको बेला अर्घाखाँचीको तामातालमा नौमुरे बहुउद्देश्यी जलविद्यतुको कार्यालय उद्घाटन गरेका थिए । ‘कार्यालय उद्घाटन गरेर काम शुरु गरेको थिएँ,’ उनले भने, ‘गठबन्धन सरकारले बजेट काटेपछि काम ठप्प भयो ।’
जिल्लामा केही वर्षअघि भारत सरकारले उपहार स्वरुप परियोजना निर्माण गरिदिने चर्चा चलेको थियो । यसको काम अगाडि बढाउन दबाब दिने उद्देश्यले जिल्लाबाट सर्वदलीय बैठक बसेर नेताहरु बारम्बर काठमाडौं गए । त्यसक्रममा उनीहरुले प्रधानमन्त्री, उर्जा मन्त्री लगायत दलका प्रमुख नेतालाई भेटेर सञ्चालन गर्न दबाब दिएका थिए । विद्युत विकास विभागका अनुसार २०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले नौमुरेबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो ।
पछि गरिएको अध्ययन अनुसार २ सय ८१ मेगावाट निकालिने जनाइएको छ । नौमुरेमा बाँध निर्माण गरेर २ सय १८, त्यसभन्दा जलाशय बनाएर तामातालमा ८ मेगावाट र कपिलवस्तुसम्म पानी लैजादै गर्दा भर्टिकल गरेर ५५ मेगावाट विद्युत निकाल्न सकिनेबारे अध्ययन गरिएको बिभागले जनाएको छ । २०७७ साल चैतमा तत्कालीन उर्जामन्त्री रायमाझीले साइट कार्यालय उद्घाटन गरेपछि कामको सुरुवात भएको नौमुरे बहुउेद्दश्यीय जलविद्युत आयोजना प्रमुख जयराम प्रजापतिले बताए ।
अहिलेसम्म वातावरणीय अध्ययन प्रतिवेदन, जग्गा अतिक्रमण लगायत र पहुँच मार्ग र पुल डिजाइनको काम पूरा भइसकेको उनले दाबी गरे । ‘बजेट थोरै आयो, सरकारले २४ करोड रुपैयाँ बजेट मात्रै दिएको छ,’ उनले भने, ‘सम्भाव्यता अध्ययन गर्ने, परामर्शदाता सम्बन्धी काम गर्ने हो । जग्गा खरिद भएको छैन, त्यसको लागि आवश्यक बजेट उपलब्ध छैन ।’ नौमुरेलाई बहुबर्षीय परियोजनाका रुपमा लैजानु पर्ने उनले बताए ।
‘सरकारले चालु बजेटमा समेटेको छैन,’ उनले भने, ‘आवश्यक बजेट सरकारबाट उपलब्ध नभएकाले काम ठप्प छ ।’ बेला बेलामा आएर परियोजनाका काम गर्ने गरेको उनले बताए । अहिले एक आयोजना प्रमुख, दुई इन्जिनियर र एक चालक मात्रै छन् । चुनावपछि थप कर्मचारी राख्नुपर्ने उनले बताए । विभागले काम सुरु भएको ७ वर्षभित्र निर्माण पूरा हुने जनाएका छ । त्यसकालागि एक खर्ब २८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
सरकारले वर्षेनि १८ अर्ब नियमित बजेट उपलब्ध गराए समयमै काम सकिने विभागले जनाएको छ । विभागका अनुसार नौमुरे सञ्चालनपछि विद्युतबाटै वार्षिक १३ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । पर्यटकीय क्षेत्र, माछापालन, सिचाइ लगायतबाट पनि स्थानीयले मनग्य आम्दानी लिन सक्छन् । नौमुरको पानी सिक्टा, फत्तेपुरसहित दाङका चार वटा सिंचाई आयोजनामा पानी पुगेपछि बल्ल कपिलवस्तुलाई सिंचाईको लागि पानी उपलब्ध गराउने योजना छ । यहाँबाट लगिएको पानीले कपिलवस्तुको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाई पुग्ने छ ।








प्रतिकृया दिनुहोस्