पहाडको कोशेली सुन्तला



भैरहवा– यतिबेला रुपन्देहीका बजारस्थित फलफूल पसलमा सबैभन्दा बढी सुन्तला सजाइएको देखिन्छ । मंसिरको अन्तिम साता हुन लागेकाले सर्वसाधरणलाई दिउँसोको घाम प्यारो लाग्न थालेको छ । यस्तो बेला बदाम–सुन्तला खाएर समय कटाउने बढेका छन् । रुपन्देहीका बुटवल र तिलोत्तमामा रहेका तरकारी र फलफूल मण्डीमा अहिले सुत्तलाकै रास देखिन्छ । यहाँका स्थानीय हुन कि बाहिर बाट आउने पाहुना सबैले कोशेलीको रुपमा सुन्तला लैजाने गरेका छन् ।
स्थानीय बजारमा ५०–६० देखि एक सय ५० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री भइरहेको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सुन्तला उत्पादन हुने गरेका छन् । पहिले पाखोबारीमा आफै खान र आफन्तलाई कोशेली पुर्याउन खेती गरिन्थ्यो । पछिल्लो समय पहाडी जिल्लामा व्यावसायिक रुपमा सुन्तला उत्पादन भइरहेको छ । त्यसैले सुन्तलालाई पहाडको कोशेली भन्न थालिएको छ ।
पहिले फरक पेशामा रहेका व्यक्ति अवकाश जीवनमा सुन्तला खेतीमा रमाइरहेका छन् । त्यसैको उदाहरण हुन अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ पणेना सिम्लेका ७५ वर्षीय हुमानाथ पौडेल । उनी भारतीय सेनामा जागिरे थिए । ‘खान नपाएर आएका नेपाली’ सुन्नुपथ्र्याे । यही उनी भारतीय पल्टनको जागिर छाडेर गाउँ फर्के । बारीमा सुन्तला रोपे । सबै गाउँलेलाई सुन्तला खेती गर्न लगाए । आफै विरुवा उत्पादन गरेर गाउँलेसित अन्न, डोको, नाम्लो, दाउरा र श्रमसित साटेर सुन्तलाका विरुवा दिए ।
केही वर्ष पल्टनको जागिर गरेर २०२७ सालमा गाउँ फर्केर सुन्तला खेती गरेका उनको देनबाट सिंगो सिम्ले गाउँ व्यावसायिक सुन्तला खेतीबाट स्वरोजगार छ । उनले मलजल गरेर ठूला दाना फलाउँछन् । त्यही दाना किन्न तराइका शहरबाट ग्रहाक घरमै आउँछन् । केही व्यापारीलाई गाडीबाटै पठाइदिन्छन् । खेतबारीमा फल दिने १२ सय सुन्तलाका बोट छन् । त्यसबाट वर्षमा ५ लाख रुपैयाँ आम्दानी हुन्छ । ‘अन्नखेती छाडेको धेरै वर्ष भयो, हामीले फलाएको सुन्तला किन्न बुटवल, रुपन्देही, कपिलवस्तु, पाल्पा र सन्धिखर्कका व्यापारी घरमै आउँछन्,’ पौडेलले भने, ‘घरमा आएका पाहुनालाई स्वागत गर्दै सुन्लता चखाउँछौं । उनीहरु भन्छन्– आहा क्या मिठो सुन्लता ।’
भारतीयले उनलाई खान नपाएर आएका नेपाली नभनेको भए अहिले सिम्ले सुन्तलामय गाउँ हुन्थेन । उनले गाउँ फर्केर अभियान नै सञ्चालन गरेर सबैलाई सुन्तला खेतीमा आबद्ध गराए । ‘दाना निर्खिसकेपछि फल लाग्दासम्म बोटमा सिचाइ, गोबर र कम्पोष्ट मल राख्छौं, दाना ठूला तथा लटरम्मै फल्छ,’ उनले भने, ‘भारतीय सेनाको जागिर भन्दा आफ्नै श्रमको सुन्तलाको पेन्सनलाई आनन्द आएको छ ।’ उनी सहित डेढ सयको संख्यामा कृषकले बारीमा सुन्तला खेती गरेका छन् । कृषकले उत्पादन गरेको सुन्तला तराइका बजारमा पुग्छ ।
पहाडको स्वादिलो सुन्तला भन्दै दाना पहेंलो नहुँदै बिक्री भैसक्छन् । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा सुन्तला उद्यमतिर लागेर मनग्य आम्दानी गरेका छन् । पणेना, पोखराथोक सहित पाणिनिमा यस वर्ष ७ करोड रुपैयाँको सुन्तला उत्पदन भएको छ । जिल्लाको छत्रदेव र मालारानी गाउँपालिकाका गाउँमा समेत व्यावसायिक सुन्तला खेती फस्टाएको छ । स्थानीय तह र प्रदेश सरकारले गाउँमा शीतभण्डार (कोल्डस्टोर) निर्माण गरेका छन् । सिम्लेका शिवशक्ती कृषक समुहका पूर्वअध्यक्ष चिरञ्जीवि पौडेलले गाउँका डेढसय कृषकले व्यावसायीक सुन्तला खेतीबाट मनग्य आम्दानीसँगै स्वरोजगार भएको बताए ।
वैदेशिक रोजगारी छाडेर सुन्तला खेतीबाट वर्षमा ५ लाख आम्दानी गरेको उनले बताए । ‘सुन्तला कृषकको पेन्सन जस्तै छ,’ उनले भने, ‘सुन्तलाले गाउँ परिवर्तन भएको छ ।’ सुन्तलाबाट राम्रो आम्दानी भएकाले पढेलेखेका युवा कृषकको संख्या वृद्धि भएको छ । सुन्तला खेतीमा लहर चलेको छ, केही वर्ष भित्रैमा अर्घाखाँची सुन्तला उत्पादनमा अग्रस्थानमा पुग्ने सक्ने अनुमान छ ।
सुन्तलाका विरुवा रोपेको तीन वर्षबाट फल दिन शुरु गर्छ । उत्पादित सुन्तलालाई भण्डारण गरेर बेसिजनमा महंगोमा बिक्री गर्न मालारानी गाउँपालिकाले वडा ५ को बाँगीमा एक सय टन र वडा २ को डाँडाखर्क, वडा ३ को कुनाखर्क र वडा ६ को रतनमारेमा दस–दस टन क्षमताको कोल्डस्टोर बनेका छन् । पाणिनि गाउँपालिकाले पोखराथोकमा ३ सय टन क्षमताको कोल्ड स्टोर निर्मँण गरेका छन् । यहाँ केही कृषकले सुन्तला स्टोरमा राखेर अहिले बिक्री गरेका छन् । बोटमा ५० रुपैयाँमा बिक्री हुने सुन्तला स्टोरमा राखेर अहिले बिक्री गर्दा किलोको एक सय २० रुपैयाँ मूल्य परेको छ ।
‘सुन्तला खेती भएको ठाउँमा उत्पादनमा वृद्धि ल्याउन कृषकलाई आवश्यक सहयोग, विरुवा उत्पादनमा लगानी गरेका छौं,’ मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले भने, ‘युवालाई सुन्तलाबाटै गाउँमा स्वरोजगार बनाउने गरी लागेका छौं ।’ गुल्मीको धुर्काेट गाउँपालिका–२ पिपलधाराका ५२ वर्षीय केशव खनाल र शिक्षक विष्णुप्रसाद खनालबीच कस्ले बोटमा लटरम्मै ठूला दाना फलाउनेमा प्रतिष्प्रर्धा छ । विष्णुप्रसादको अहिले १२ सय ५० सुन्तलाका बोट छन् । ती मध्ये ६ सय बोटले उत्पादन दिन्छन् । एउटा बोटले ५० वर्षसम्म फल दिइरहन्छ । मलजल गरेको ठुलो एउटै बोटमा ५० हजार रुपैयाँसम्मका सुन्तला फल्छ । फल दिन थालेपछि हिउँदमा सिंचाई र गोबर, कम्पोष्ट मल राखिदिएपछि असिना आएन, रोग लागेन भने राम्रो फल दिने उनले बताए ।
वर्षेनि आम्दानी दिइरहने भएकाले पेन्सन जस्तै भएको उनले बताए । ‘पहिला मकै, कोदो, गहुँ, धान खेती गर्ने प्रतिष्प्रर्धा थियो,’ कृषक हरि थापाले भने, ‘अहिले खेतबारी मासेर सुन्तला रोप्ने तछाडमछाड छ । भविष्य सुन्तलाकै छ ।’ बोट हुर्काएपछि हिउँदमा सिंचाई र मल राखेपछि फल्ने बेलामा स्याहार गरे पुग्छ । तराइबाट घरमै व्यापारी आउँछन् । कृषि विकास बैंकमा जागिरे छाडेर सुन्तला खेतीमा लागेका उनी सबै खर्च कटाएर वर्षमा एक लाख रुपैयाँ बैंक बचत गर्छन् । बोटमा कस्ले कति ठुला दाना र लटरम्मै फलाउने भन्नैमै कृषकबीच होडबाजी हुन्छ । कसले धेरै फलाउने भनेर बोटमा कम्पोष्ट, गोबर मल, सिंचाई, रेखदेखमा सबै कृषकको ध्यान भएको उनले बताए ।
‘पहिला मकै, कोदो, गहुँ, धान खेती गर्ने प्रतिष्प्रर्धा थियो,’ कृषक हरि थापाले भने, ‘अहिले खेतबारी मासेर सुन्तला रोप्ने तछाडमछाड छ । भविष्य सुन्तलाकै छ ।’ धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले सुन्तला उत्पादनको केन्द्र बनाउन एक सय बोट लगाए वापत तीन वर्षसम्म ४० रुपैयाँका दरले कृषकलाई अनुदान उपलब्ध गराइएको बताए । ‘कस्तो माटोका फल्छ, के गरेर ठुला दाना फल्छन्, रोगबाट कसरी बचाउने भन्नेमै हाम्रो ध्यान छ,’ उनले भने ।
गुल्मीका १२ स्थानीय तहमध्ये धुर्काेटमा धेरै सुन्तला उत्पादन हुन्छन् । मदानेको भनभने, चन्द्रकोटको वडा ५ र ६, कालीगण्डकीको २ र ३, छत्रकोटको ३ र ४ गाउँपालिका उत्पादन हुन्छ । त्यस्तै रेसुंगा र मुसिकोट नगरपालिकाको केही गाउँमा पनि सुन्तला फल्छ । पाल्पाको मुझुङ, पालुङमैनादी, भुवनपोखरी लगायतका स्थानमा सुन्तला खेती उत्पादन हुन्छ । अमलावासका विष्णुप्रसाद कोइरालाले ४० वर्षदेखि गाउँमा सुन्तला खेती हुँदै आएको छ । ‘फुल फुल्ने बेला असिनाबाट जागियो र मलजल राम्रोसँग भयो भने सुन्तलाका दाना ठूला र लटरम्मै फल्दा किसानको मुहार उज्यालो हुन्छ,’ उनले भने, ‘वर्षेनि फल दिइरहन्छ । दाना बोटबाटै बिक्री हुन्छ, त्यसैले घरमै बसेर रेखदेख र स्याहार सुसार गरेपछि लटरम्मै फल्ने दानाबाट मनग्य आम्दानी हुन्छ ।’
रोककिरा, असिनाबाट बच्न सकेको वर्ष राम्रो आम्दानी हुन्छ । उनका अनुसार युवाहरु सुन्तला खेतीप्रति आकर्षित छन् । ‘वर्षेनी आम्दानी दिइरहेको भएकाले कृषकको पेन्सन जस्तै सुन्तला खेती भएको छ,’ उनले भने । अन्नखेती नहुने पाखोबारीमा सुन्तला खेतीले गाउँ स्वरोजगार उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार सुन्तला खेती गत आर्थिक वर्षसम्म जिल्लामा ८ सय ५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ । जिल्लामा ५ हजार ६ सय ६० मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान छ । यसबाट जिल्लामा १० करोड बढी नगद भित्रिने गरेको छ ।








प्रतिकृया दिनुहोस्