November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

मध्यपहाडी मार्गबाट समृद्धि

भैरहवा– लुम्बिनी प्रदेश अन्तर्गत मध्यपहाडी मार्गका कारण रुकुम पूर्व र बाग्लुङ जोडिएपछि पहाडी क्षेत्रका बासिन्दाको यात्रा सहज बनेको छ । यस मार्गका कारण सर्वसाधारणको दैनिकी सजिलो भएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिएका बजार थप विस्तार भएका छन् भने गाउँ बजारमा परिणत भएका छन् । यसका कारण आर्थिक गतिविधि बढेका छन् ।

Advertisement

मध्यपहाडी मार्गले रुकुम पूर्व र रुकुम पश्चिमको १ सय ३० किलोमिटर ओगटेको छ । यो मार्ग दुवै जिल्लाको पश्चिमदेखि पूर्व सम्म छ । रुकुम पूर्व भूमे गाउँपालिकाबाट सुरु भएको मध्यपहाडी लोकमार्ग रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट छिमेकी जिल्ला जाजरकोट जोडिएको छ । मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट मात्रै जोड्दैन रुकुम पूर्व र पश्चिमका १६ बजारलाई पनि सिधै केन्द्रीय बजारसँग जोडेको छ ।

Advertisement

रुकुम पूर्वको भूमे गाउँपालिकाका पञ्चासे, लकुम, काँक्री, खावाङबगर, सिसाघारी, र सिस्ने गाउँपालिकाको रुकुमकोट बजारमध्यपहाडी लोकमार्गको दायाँवायाँ अवस्थित बजारहरु हुन् । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाको किटेनी, साँख, शितलपोखरी, सेरीगाउँ, पिपलनेटा, माछिमी, छिवाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चाइनाबगर, चौरजहारी नगरपालिकाको चौरजहारी बजार पनि मध्यपहाडी लोकमार्गसँगै जोडिएका बजारहरु हुन् । यी मध्य अधिकांश बजार मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि बनेका बजारहरु छन् ।

यसमध्य रुकुमको बजार अब सहरोन्मुख छ । यो बजार सहरोन्मुख हुनुमा मध्यपहाडी लोकमार्गकै मुख्य भूमिका छ । रुकुमकोटलाई साइडमा पारेर मध्यपहाडी लोकमार्ग अघि बढेको छ । रुकुमकोटलाई सहर बनाउन मध्यपहाडी लोकमार्गको मुख्य भूमिका रहेको बताउँछन् रुकुमकोट उद्योग वाणिज्य संघका सचिव केवेन्द्र गौतम । ‘रुकुमकोट यस अघि पनि सम्भावना बोकेका बजार त हो नै्,’ गौतम भन्छन्, ‘यी बजारसँग मध्यपहाडी लोकमार्ग जोडिएपछि यसले सहरको आकार ग्रहण गरिरहेको छ ।’ सडकसँग सहर, बजार र गाउँ जोडिनु भनेको त्यस ठाउँको विकासले गति पकड्नु भएको भनाई उनको छ ।

मध्यपहाडी लोकमार्ग बन्न थालेदेखि नै रुकुमकोटमा भौतिक संरचना बन्न थालेका थिए । हाल पनि रुकुमकोट तिब्र रुपमा भौतिक निर्माणका काम भैरहेका छन् । रुकुमकोटबाट मध्यपहाडी लोकमार्ग भएर पूर्व, पश्चिम हुँदै जता जान पनि सजिलो भएपछि रुकुमकोटमा आर्थिक गतिविधि बढेका छन् । बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएका छन् । सुरुमा रुकुमकोटलाई मध्यपहाडी लोकमार्गमा पर्ने उत्कृष्ठ दश सहरमा राखिएको थियो । पछि त्यसलाई हटाइयो । हटाए पनि रुकुमकोट सहर हुने क्रममा छ । यसमा मुख्य देन भनेकै मध्यपहाडी लोकमार्गको भएको बुझाई जिल्लाबासीको छ ।

मध्यपहाडी लोकमार्गसँगै बजार मात्रै छैनन्, जिल्लाका दुई स्थानीय तहका केन्द्र पनि यसैमा जोडिएका छन् । सिस्नेको ५ र ६ नम्वर वडा रुकुमकोट गाउँपालिकाको केन्द्र हो मध्यपहाडी लोकमार्गको तलमाथी केन्द्र कायम छ । भूमे गाउँपालिकाको केन्द्र पनि यो सँगै जोडिएको छ । सडकमुनि नै गाउँ कार्यपालिका छ । भूमेका अधिकांश जनता मध्यपहाडी भएरै सेवा लिन आउजाउ गर्छन् ।

गाउँ वा नगरपालिकाको केन्द्रसँग मध्यपहाडी लोकमार्ग जोडिनु समृद्धिको अर्को एउटा आयाम भएको बताउँछिन् सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल । ‘विकास निर्माणको साथै स्थानीयलाई आवतजावतमा असाध्यै सजिलो छ,’ अध्यक्ष बरालले भनिन्, ‘गाउँपालिकाको केन्द्रसँगै रहेको मध्यपहाडी लोकमार्गले सर्वसाधारणलाई आवतजावत सहजता त छ नै, गाउँघरमा उत्पादीत तरकारी बजार पुर्याउन तथा बजारीया सामान घरसम्म पुर्याउन पनि सजिलो भएको छ, ।’

गाउँपालिकाको विकासमा मध्यपहाडी लोकमार्गले ठूलो भूमिका निर्वाह गरिरहेको महशुस कार्यपालिकाले नै गरिरहेको अध्यक्ष बरालले बताइन् । जडिबुटी तथा अन्नपातको खरिदविक्री गर्ने लालबहादुर खत्रीले मध्यपहाडी लोकमार्गले जनजीवन सजिलो भएको बताए । मध्यपहाडी लोकमार्गमा गाडि चल्न थालेपछि आफू जस्ता व्यवसायीलाई सजिलो खत्रीले बताए । ‘मध्यपहाडी लोकमार्ग यस्तो मुटुमा छ, जहाँबाट सबैतिर पुगेर फेरि मध्यपहाडी भएरै सरसामग्री खरिद विक्री गर्न सजिलो भएको छ,’ उनले भने ‘जुनसुकै गाउँमा माल खरिद गरिए पनि मध्यहाडी मार्फत बजारमा पुर्याउन सजिलो छ, ।’

‘गाउँको उत्पादन बजार पुर्याउन मध्यपहाडी लोकमार्ग सहायक सिद्ध भएको खत्रीले बताए । मध्यपहाडी लोकमार्गले किसान र बजारलाई जोडेको भनाई उनको छ । ‘स्थानीय बजारदेखि सहरसम्म किसान जोडिएका छन्, यो सम्भव मध्यपहाडी लोकमार्गका कारण भएको हो, यस अघि किसानको पहुँच बजारसम्म थिएन भएपनि घुमाउरो, झन्झटिलो उत्तिकै मंहगो पनि थियो,’ खत्री भन्छन् । रुकुम पूर्वको को सिमी, भाङो, अल्लो, आलु, स्याउ, ओखर र त्यसको घाँजी मध्यपहाडी लोकमार्ग भएर बजार पुगिरहेको छ । बाहिरबाट आउने खाद्यन्न तथा अरु निर्माणका सामग्री पनि सजिलो सस्तोमा गाउँ पुगिरहेका छन् ।

स्थानीय उत्पादन खरिदका लागि व्यवसायीहरु आँगनमा पुग्ने गरेका छन् । ‘कतिपय ग्राहक पोखरा बाग्लुङ भएर घरमै उत्पादन खोज्न आउनुहुन्छ,’ सिस्ने गाउँपालिका–४, का शान्तबहादुर बुढा भन्छन्, ‘दुवैतिरबाट ग्राहक आउनाले हाम्रो मकै सिमी, घ्यू, ओखर सजिलै विक्रि हुन थालेको छ, यो सबै मध्यपहाडी लोकमार्गको देन हो ।’ मध्यपहाडी लोकमार्गको ट्रयाक खुलेदेखि नै सर्वसाधारणले सहज महशुस गरिसकेका थिए । अब भने यो पूर्ण स्तरोन्नती सहिको पक्कि सडक बनेको छ । रुकुम पूर्वमा पर्ने मध्यपहाडी लोकमार्गको ६४ किलोमिटर लम्बाइमध्य केही बाहेक सबै क्षेत्र कालो पत्रे भइसकेको छ ।

‘सडक विकासको मेरुदण्ड नै हो, मध्यपहाडी लोकमार्ग हाम्रो गाउँपालिका विकासमा त्यही सावित भयो,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले भने, ‘यो मार्गलाई मुख्य मार्ग मानेर हामीले सबै खाले विकासका कार्यहरु गरिरहेका छौं ।’ संघीय देखि प्रदेश राजधानी जोड्न तथा स्थानीय सडक जोड्नमा मध्यपहाडी लोकमार्ग महत्वपूर्ण भएको भनाई उनको छ । किसानका उत्पादन बजार पुर्याउनका लागि पनि मध्यपहाडी लोकमार्गले ठूलो सहयोग पुगिरहेको उनले बताए ।

स्थानीय सरकारबाट निर्माण भएका सहायक सडकबाट मध्यपहाडी लोकमार्गसम्म आइपुग्ने कृषि उपज मध्यपहाडी लोकमार्ग भएर बजार पुगिरहेको अध्यक्ष बुढाले बताए । समग्रमा आर्थिक विकासमा यसले टेवा पुर्याइरहेको उनको बुझाई छ । कृषि उपज बजार जाने तथा पर्यटकहरु आउन सजिलो माध्यम मध्यपहाडी भएकाले समग्रमा आर्थिक विकासको ढोका खुलेको रुपमा लिइएको उनले बताए । भूमे गाउँपालिको मध्यपहाडी लोकमार्गलाई आधार मानेर रिङ र लिङ्क रोड निर्माण गरेको छ । यसैबाट सर्वसाधारणले आवतजावत गर्ने र कृषि उपज बजार पठाउने तथा आवश्यक सामग्री ढुवान सहयोग पुगिरहेको छ । मध्यपहाडी लोकमार्गले जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकालाई पनि जोडेको छ ।

मध्यपहाडी भएर सहिद मार्ग पुथाउत्तरगंगा गाउँपालिका छिचोल्न अघि बढेको छ । ‘हामी गाउँपालिका छाडेपछि मध्यपहाडी भएर राजधानी पुग्ने हो, यसले हाम्रो आधार भनेको मध्यपहाडी लोक मार्ग भएको छ,’ पुथाउत्तरगंगा गाउँपालिका–१, का सत्य शिर्पालीले भने, ‘जिल्लाको अस्थायी सदरमुकाम पुग्न होस्, प्रदेश राजधानी पुग्न होस या संघीय राजधानी हामीलाई मध्यपहाडीले नै सजिला भएको छ ।’ मध्यपहाडीबाट सहिद मार्ग हुँदै निर्माण सामग्रीहरु पुथाउत्तरगंगा पुगिरहेका छन् ।

पुथाउत्तरगंगाको उत्पादन सोही सडक भएर बजार पुगिरहेकोप्रति स्थानीय दंग छन् । यस गाउँपालिकाका केही क्षेत्र अझै सडक सञ्जालमा जोडिएका छैनन् । तर जोडिएका जति छन् ति सबै मध्यपहाडी भएर ओहोरदोहोर गर्ने हुन् । जिल्लाका तीन वटै स्थानीय तहले मध्यपहाडी लोकमार्गले जोडेको छ । यही मार्गका कारण सर्वसाधारण समृद्धिको अभियानमा जुट्न सम्भव भएको छ । ‘सडक बनेपछि अरु विकास सजिलै हुने रहेछ,’ कोलका अमरसिङ पुनले भने, ‘सडक बनेपछि स्वःत गाउँ, ठाउँ जागेका छन् ।’